logo
२०८१ बैशाख २६ बुधवार



नवराज र विद्यालाई मुवाँथाइ उपाधि

खेलकुद |


नवराज र विद्यालाई मुवाँथाइ उपाधि


काठमाडौँ, चैत २० गते । गोकर्णेश्वर मुवाँथाई क्लबका नवराज पराजुली र एपीएफ क्लबकी विद्या गुरुङ मुवाँथाई प्रोफेसनल फाइटतर्फ उपाधि जित्नुभएको छ । फर्पिङमा आइतबार भएको अल नेपाल राष्ट्रव्यापी मुवाँथाई प्रतियोगिताको फाइनलमा नवराज पुरुष ७५ केजी र विद्या ६० केजी महिलामा पहिलो हुनुभएको हो । नवराजले केन्द्रीय मुवाँथाई क्लबका रसिव जारीलाई हराउनुभयो । विद्याले चन्दा भुजेललाई पाखा लगाउनुभयो ।

प्रोफेसनलकै पुरुष ६३ केजीमा गोकर्णेश्वरका अब्राहम राईले काठमाडौँ नेसनल सुकेधाराका प्रवेग घिसिङ, ६० केजीमा गोकर्णेश्वरका कृतन श्रेष्ठले केन्द्रीयका दिनेश जिमी र ५८ केजीमा गोकर्णेश्वरका लाक्पा तामाङले काठमाडौं सुकेधाराका प्रताप घिसिङलाई हराउदै स्वर्ण जित्नुभयो । प्रतियोगिताको एमेच्योरतर्फ महिला ५१ केजीमा स्ट्रोङगेस्ट क्लब, पोखराकी सुरक्षा केसी र ५३ केजीमा जिमखाना मुवाँथाईकी प्राप्ती वतास पहिलो हुनुभयो ।

सेमि प्रोफाइटको पुरुष ५०–५३ केजीमा नेपाल आर्मीका कृष्ण पुनमगरले काठमाडौँ सुकेधाराका थोमन मोक्तान तथा ६९–७३ केजीमा आर्मीका पदमसिंह थापाले आर्मीकै प्रकाशकुमार बरुवाललाई हराउँदै स्वर्ण जित्नुभयो । एमेच्योरतर्फ पुरुष ५३–५५ केजीमा सगरमाथा क्लब, बेलवारीका अरिक राईले केन्द्रीयका योगेन्द्र खड्का, ५६–६० केजीमा बज्रवाराही क्लबका सुजन स्याङतानले काठमाडौँ सुकेधाराका सविर श्रेष्ठ, ६३–६५ केजीमा स्ट्रोङगेस्टका रोहित कायातले हिमालयन ब्लड दमकका युकेश धिमाल तथा ६७–७० केजीमा स्ट्रोङगेस्टका सन्दिपसिंह गुरुङले काठमाडौँ सुकेधाराका छिरिङ फुन्जो शेर्पालाई हराएर स्वर्ण जित्नुभयो ।

दुईदिने प्रतियोगिताको पुरुषमा १० र महिलामा ३ गरी १३ स्पर्धामा ४६ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । विजेतालाई दक्षिणकाली नगरपालिकाका मेयर मोहन बस्नेत, आयोजक नेपाल राष्ट्रिय मुवाँथाई संघका अध्यक्ष गणेशलाल कक्षपतिलगायतले पुरस्कार प्रदान गर्नुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?