काठमाडौं, चैत २२ गते । नेपाल खो खो सङ्घले छैटाैं देशव्यापी राष्ट्रिय पुरुष खो खो प्रतियोगिता यही चैत २४ देखि तीन दिनसम्म आयोजना गर्ने भएको छ ।
बिहीबार कीर्तिपुरस्थित कभर्डहलमा आयोजना हुने यस प्रतियोगितामा दुई विभागीय टोलीहरू नेपाली सेना, सशस्त्र प्रहरी बल र सात प्रदेश गरी नौवटा टोलीले प्रतिस्पर्धा गर्न लागेको प्रतियोगिता संयोजक तथा नेपाल खो खो सङ्घका उपाध्यक्ष प्रदीप महर्जनले जानकारी दिनुभयो ।
लिग कम नकआउट चरणमा खेलाइने यस प्रतियोगितामा आर्थिक अभावले महिला प्रतियोगिता सञ्चालन गर्न नसकेको संयोजक महर्जनले गोरखापत्रलाई बताउनुभयो ।
आर्थिक अभाव भएकाले १५ जना खेलाडी हुने यस प्रतियोगितामा १२ जना खेलाडीलाई मात्र समावेश गरिएको उहाँले बताउनुभयो ।
खेल उद्घाटन कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जनले गर्नहुनेछ ।