logo
२०८१ बैशाख २१ शुक्रवार



राष्ट्रिय महिला बिच भलिबल : क्वार्टरफाइनल समिकरण पूरा

खेलकुद |


राष्ट्रिय महिला बिच भलिबल : क्वार्टरफाइनल समिकरण पूरा


काठमाडौँ, चैत २४ गते । सञ्जय स्मृति राष्ट्रिय महिला बिच भलिबल प्रतियोगिताको पहिलो दिन क्वार्टरफाइनल समिकरण पूरा भएको छ । पाल्पाको रानीमहल स्थित कालीगन्डकी किनारमा बिहीबार भएको समूह ‘सी’ को लुम्बिनी प्रदेशलाई सोझो सेटमा पराजित गर्दै पुलिस क्लब क्वार्टरफाइनलमा पुगेको छ । पुलिसले लुम्बिनीलाई २१–९, २१–११ ले हरायो ।

पुलिससँग लुम्बिनीले पराजय भए पनि समूह ‘सी’ को उपविजेताको रुपमा क्वार्टरफाइनल प्रवेश गरेको छ । समूह ‘ए’ को एपिएफले प्रदेश १ लाई २१–१, १६–२१, १५–५ ले हरायो । तीन टोलली रहेको समूह ‘ए’ को अर्को खेलमा एपीएफले मधेस प्रदेशमाथि २१–५, २१–० को सोझो सेटमा जित निकाल्दै क्वार्टरफाइनलमा स्थान बनायो ।

समूह ‘ए’ बाट प्रदेश १ उपविजेताको रुपमा क्वार्टरफाइनल स्थान बनायो । दुई हार बेहोरेको मधेस प्रतियोगिताबाट बाहिरिसकेको छ । समूह ‘डी’ को गण्डकी प्रदेशले बागमती प्रदेशलाई २१–६, २१–१४ को सोझो सेटमा हराउँदै क्वार्टरफाइनलमा पुग्यो । हारेपनि बागमतीले उपविजेताको रुपमा क्वार्टरफाइनल स्थान बनायो । समूह ‘बी’ बाट सुदूपश्चिम र कर्णाली प्रदेशले क्वार्टरफाइनलमा स्थान बनाए ।

सञ्जय स्मृति फाउन्डसनले आयोजना गरेको प्रतियोगितामा सात प्रदेश तथा विभागीय टोलीको एपीएफ र पुलिससहित नौ टोलीको सहभागिता रहेको छ । सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ । शुक्रबार क्वार्टरफाइनल खेल हुनेछन् ।

प्रतियोगिताको विजेतालाई एक लाख, उपविजेतालाई ५० हजार र तेस्रो हुनेलाई ३० हजार रुपियाँ पुरस्कार प्रदान गरिने प्रतियोगिताको संयोजक एवं फाउन्डेसनकी अध्यक्ष निरोज मास्केले जानकारी दिनुभयो । प्रतियोगिताको युवा तथा खेलकुद मन्त्रालयका सचिव डा. दामोदर रेग्मीले उद्घाटन गर्नुभयो । प्रतियोगिताका दौरानमा बुटवलदेखि रानीमहलसम्म "राईड टु रानीमहल" मोटेसाइकल र्याली समेत आयोजना भएको थियो ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?