logo
२०८१ बैशाख २१ शुक्रवार



रानीमहल आँगनमा बिच भलिबलको रौनक

खेलकुद |


रानीमहल आँगनमा  बिच भलिबलको रौनक


गोविन्द रेग्मी
काठमाडौँ, चैत २५ गते । पाल्पाको ऐतिहासिक धरोहर रानीमहल आन्तरिक र बाह्य पर्यटकका लागि उत्कृष्ट गन्तब्य हो । १३६ वर्ष पहिले पाल्पाका राजा खड्क शमसेरले आफ्नो रानी तेजकुमारीको सम्झनामा बनाएको यो दरवार अवलोकन गर्न बर्षेनी हजारौँ पर्यटक आउने गर्छन् । नेपालको ताजमहल अर्थात् रानीमहल प्रेमको प्रतिक भएकाले पनि प्रेमिल जोडीहरु त्यहाँ पुग्ने गरेका छन् ।

कोभिड-१९ का कारण पछिल्लो दुई बर्ष रानीमहलको अवलोकन र कालीगन्डकीको र्याफ्टिङ ठप्प जस्तै भयो । अहिले कोरोना संक्रमण दर कम भएसँगै रानीमलमा आन्तरिक पर्यटकको चहल पहल बढेको छ । गर्मी मौसममा कालीगन्डकीको जिसो पानीमा र्याफ्टिङ गर्दै रामीमहलको अवलोकन गर्ने पर्यटकको भिड लाग्न थालेको छ ।

यही मौकामा सञ्जय स्मृति मेमोरियल फाउन्डेसनले रानीमहलको काखमा पहिलो पटक राष्ट्रिय महिला बिच भलिबल प्रतियोगिता आयोजना गरेर यस क्षेत्रलाई थप चर्चित बनाउने कामको समेत थालनी गरेको छ । ‘रानीमहललाई खेलकुद पर्यटकको नयाँ गन्तब्यको रुपमा विकास गर्न र यहाँ बिच भलिबल खेलको सम्भावनालाई मध्यनजर गरेर स्वर्गीय श्रीमान सञ्जयको स्मृतिमा प्रतयोगिता सुरुवात गरेकी हुँ,’ भलिबल प्रेमी एवं नेपाल भलिबल संघकी उपाध्यक्ष निरोज मास्केले भन्नुभयो ।

रानीमहल किनार बीच भलिबल, र्याफ्टिङ र अल्ट्रा रेसको लागि उत्कृष्ट गन्तब्य भएकोले सरकार खेलकुदसँगै यस क्षेत्रको संरक्षण र विकास गर्न लागि परेको युवा तथा खेलकुद सचिव डा. दामोदर रेग्मीले बताउनुभयो ।

‘रानीमहल अहिले कालीगन्डकी नदीको कटानका कारण उच्च जोखिममा परेको छ । नदीको बहावलाई कम गरी ड्याम लगाएर महलको संरक्षण गर्न सरकारको तर्फबाट प्रयास गरिरहेका छौँ,’ सचिव रेग्मीले भन्नुभयो । रानीमहल क्षेत्रलाई खेलकुद हव बनाउन स्थानीय व्यक्तिको समन्वय, सहयोग र अग्रसरता थप महत्वपूर्ण हुने पूर्व गभर्नर एवं पाल्पाकै स्थानीय बासिन्दा डा.जिरन्जीवी नेपालले बताउनुभयो ।

पुलिस र लुम्बिनी फाइनलमा

बिच भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब र लुम्बिनी प्रदेश फाइनलमा पुगेका छन् । शुक्रबार भएको सेमिफाइनलमा पुलिसले गण्डकी प्रदेशलाई २–० को सोझो सेटमा हराएको छ । पुलिसले गण्डकीमाथि २१–१९, २१–९ को जित निकालेको हो ।

अर्को खेलमा लुम्बिनीले सुदूरपश्चिमलाई २१–१७, २१–१४ को सेटमा स्तब्ध बनायो । तेस्रो स्थानका लागि गण्डकी र सुदुरपश्चिमबीच प्रतिस्पर्धा हुनेछ । चैत २४ गतेदेखि सञ्चालित तीनदिने बिच भलिबल प्रतियोगितामा सात प्रदेश, विभागीय टोलीको नेपाल पुलिस र एपीएफ क्लबगरी नौ टोलीबीच प्रतिस्पर्धा भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?