logo
२०८१ बैशाख २१ शुक्रवार



पुलिसलाई राष्ट्रिय महिला बिच भलिबल उपाधि

खेलकुद |


पुलिसलाई राष्ट्रिय महिला बिच भलिबल उपाधि


काठमाडौँ, चैत २६ गते । सञ्जय स्मृति राष्ट्रिय महिला बिच भलिबल प्रतियोगिताको उपाधि विभागी टोली नेपाल पुलिस क्लबले जितेको छ । पाल्पाको पर्यटकीय धरोहर रानीमहल किनारमा शनिबार भएको फाइनल खेलमा पुलिसले लुम्बिनी प्रदेशलाई २–० को सोझो सेटमा हरायो ।

कमला पुन र मनिषा चौधरी सम्मिलित पुलिसको जोडीले लुम्बिनीका भावना डाँगी र सरस्वती कट्टेलको जोडीलाई २१–८, २१–१७ ले हरायो । उपाधिसँगै पुलिसले एक लाख रुपियाँ पुरस्कार पायो । उपविजेता लुम्बिनीले ५० हजार रुपियाँ प्राप्त गर्यो । च्याम्पियन टोलीका दुवै खेलाडीले बास्तविक सुनको पदक समेत पाउनुभयो । पुलिसकी कमला पुन प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी चुनिनुभयो । उहाँले २० हजार रुपियाँ पुरस्कार पनि पाउनुभयो ।

यसअघि तेस्रो स्थानका लागि भएको प्रतिस्पर्धामा सुदूरपश्चिम प्रदेशले गण्डकीलाई २–० को सोझो सेटमा हरायो । भागरथी जोशी र बविता बोहरा सम्मिलित जोडीले पवित्रा बिसी र रेवीना घर्तीमगरको जोडीलाई २१–१२, २१–१७ ले स्तब्ध बनायो । तेस्रो भएको सुदूरपश्चिमले ३० हजार तथा चौथो भएको गण्डकीले २० हजार रुपियाँ पुरस्कार पायो ।

प्रतियोगिताको दौरानमा आयोजक सञ्जय स्मृति फाउन्डेसनले राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाही र कोपिला उप्रेतीलाई जनही १५ हजार रुपियाँ सहित सम्मान पत्रबाट सम्मानित गरेको थियो । सोही अवसरमा प्रतियोगिताका सद्भावनादूत नायक धिरेन शाक्यलाई पनि सम्मान गरेको थियो ।

पाल्पाको रानीमहल स्थित कालीगन्डकी किनारलाई खेलकुदको माध्यमबाट पनि प्रचारप्रसार गर्नका लागि पहिलो पटक बीच भलिबल प्रतियोगिता आयोजना गरिएको हो । तीनदिने प्रतियोगितामा सात प्रदेश र विभागीय टोलीको नेपाल पुलिस र एपीएफ क्लबले भाग लिएका थिए ।

विजेतालाई पूर्व गभर्नर डा. चिरन्जीवी नेपाल, सञ्जय फाउन्डेसनकी अध्यक्ष निरोज मास्के, नायक धिरेन शाक्य लगायतले पुरस्कार प्रदान गर्नुभयो । प्रतियोगितालाई आगामी बर्षपनि निरन्तरता दिने अध्यक्ष मास्केले बताउनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?