logo
२०८१ बैशाख ७ शुक्रवार



नवौँ राष्ट्रिय खेलकुदको मिति तय

खेलकुद |


नवौँ राष्ट्रिय खेलकुदको मिति तय


काठमाडौँ, चैत ३० गते । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी जेठ २२ देखि २८ गतेसम्म गण्डकी प्रदेशमा हुने भएको छ । नेपाल सरकार मन्त्रीपरिषद्को बुधबार बसेको बैठकले नवौँ राष्ट्रिय खेलकुद गण्डकी प्रदेशको राजधानी पर्यटकीय नगरी पोखरामा आयोजना गर्ने निर्णय गरेको हो ।

युवा तथा खेलकुद मन्त्रालयको प्रस्तावमा मन्त्रीपरिषद् बैठकले राष्ट्रिय खेलकुदको मिति तय गरेको युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो । हरेक दुई दुई बर्षमा आयोजना हुने प्रावधान रहेको राष्ट्रिय खेलकुद प्रतियोगिताको आठौँ संस्करण यसअघि २०७५–०७६ सालमा नेपालगन्जमा भएको थियो ।

गत बर्षनै सम्पन्न हुनुपर्ने नवौँ संस्करण कोरोनाका कारण हुन सकेको थिएन । पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिले नवौँ राष्ट्रिय खेलकुदमा समावेश खेलहरु गण्डकी प्रदेशका ११ वटै जिल्लामा कम्तीमा एउटा खेल सञ्चालन गर्ने गरी राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा प्रस्ताव गरिसकेको छ ।

क्रिकेट सिरिज विजेतालाई जनही दुई लाख

मन्त्री परिषद्को बैठकले हालै काठमाडौँमा सम्पन्न त्रिदेशीय अन्तर्राष्ट्रिय टी–२० क्रिकेट सिरिज विजेता नेपाली टोलीका खेलाडी र प्रशिक्षकलाई नगद पुरस्कारबाट सम्मान गर्ने निर्णय गरेको छ । सरकारले नेपाल, पपुवा न्युगिनी (पीएनजी) र मलेसिया सम्मिलित त्रिदेशीय सिरिज जितेको नेपाली टोलीका खेलाडीलाई जनही दुई लाख, मुख्य प्रशिक्षकलाई एक लाख ५० हजार र सहायक प्रशिक्षकलाई एक लाख ५० हजार रुपियाँ पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । नेपालले समूह चरण देखि फाइनसम्म अपराजित रहँदै सिरिज जितेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?