logo
२०८१ बैशाख ७ शुक्रवार



टीका भैरव सो क्योकुसिनलाई सर्वाधिक चार स्वर्ण

खेलकुद |


टीका भैरव सो क्योकुसिनलाई सर्वाधिक चार स्वर्ण


काठमाडौँ, चैत ३० गते । आयोजक टीका भैरव सो क्योकुसिन कराते डोजोले पाँचौँ टीका भैरव राष्ट्रब्यापी क्योकुसिन कराते प्रतियोगितामा बुधबार सर्वाधिक चार स्वर्ण जितेको छ । पुरुषमा पाँच र महिलामा १एक गरी ६ स्पर्धा समावेश प्रतियोगितामा टीका भैरवले चार स्वर्ण जितेको हो । स्वण साथै टीका भैरवले दुई रजत र कांस्य पदक पनि जित्यो । बाँकी स्वर्ण वज्रबाराही र केन्द्रीय डोजोले जितेको छ ।

गोदावरी नगरपालिकाको टीका भैरवमा भएको प्रतियोगिताको पुरुष ३० केजीमा टीका भैरवका अमृत नगरकोटी पहिलो हुनुभयो । फाइनलमा उहाँले आफ्नै डोजोका निरोज नगरकोटीलाई पराजित गर्नुभयो । ४० केजीमा टीका भैरवका निरन स्याङ्तानले फाइनलमा टीका भैरवकै विजय स्याङ्तानलाई हराउदै शीर्षस्थान कब्जा गर्नुभयो ।

५० केजीमा टीका भैरवका सुदीप मगरले बाजी मार्नुभयो । फाइनलमा उहाँले पाथीभराका सुलिन तामाङलाई पाखा लगाउनुभयो । ५५ केजीमा वज्रबाराहीका जयराम भुलनले पहिलो स्थान हात पार्नुभयो । उहाँले फाइनलमा आईकेकेएफका भनीष कार्कीको चुनौती समाप्त पार्नुभएको हो ।

खुलामा टीका भैरवका अजय तामाङ च्याम्पियन बन्नुभयो । अजयले फाइनलमा वज्रबाराहीका कविन दशारलाई पन्छाउनुभयो । महिला खुलामा केन्द्रीय डोजोकी सिवानी श्रेष्ठले स्वर्ण चुम्नुभयो । प्रतियोगितामा टीका भैरवका अर्जुन नगरकोटी उत्कृष्ट खेलाडी घोषित हुनुभयो । दुईदिने प्रतियोगितामा एक सय २० खेलाडीको सहभागिता रहेको थियो । विजेतालाई गोदावरी नगरपालिका मेयर गजेन्द्र महर्जन, आयोजक डोजोका अध्यक्ष प्रकाश खत्री, आयोजक डोजोका प्रमुख रामहरि खड्कागायतले पुरस्कृत गर्नुभयो ।

समापनका अवसरमा १३औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत उसुका कांस्य विजेता निकेश श्रेष्ठ, खेलाडीहरु राजेश खड्का, सुरेश तामाङ, सुजन नगरकोटी, सरोज खत्री, पवन तामाङ, राजकुमार श्रेष्ठ, कृष्णहरि थापा, सुविन श्रेष्ठ, हीराकाजी श्रेष्ठ, इन्द्र तामाङ र प्रेम तामाङलाई प्रशंसापत्रसहित सम्मान गरिएको थियो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?