logo
२०८१ जेष्ठ ५ शनिवार



पर्यटकका लागि स्वयम्भूमा कला प्रस्तुति

पर्यटन |


पर्यटकका लागि स्वयम्भूमा कला प्रस्तुति


शिवा तामाङ

काठमाडौँ, माघ २१ गते । विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूमा पुग्ने पर्यटकहरूलाई नेपालीपन झल्किने नृत्य र वाद्यवादनमार्फत न्यानो स्वागत गर्न थालिएको छ । ‘भ्रमण वर्ष–२०२०’ भव्यरूपमा मनाउन नेपाली मौलिक नृत्य, वाद्यवादन संस्कृतिको प्रस्तुति थप गरिएको हो ।
मङ्की टेम्पलका रूपमा विश्वभर चर्चित स्वयम्भू क्षेत्रमा पुग्ने पर्यटकले त्यहाँको ऐतिहासिक र पुरातात्विक विहार, चैत्य, मन्दिर लगायतका संरचना हेरेर मख्ख पर्ने गर्दछन् । स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिका उपाध्यक्ष ज्ञानु लामाले तीबाहेक थप आकर्षणका लागि नयाँ व्यवस्था गरिएको बताउनुभयो ।
नेपाल भ्रमण वर्षको अवसरमा स्वयम्भू पुग्ने पर्यटकका लागि हरेक अङ्गे्रजी महिनाको पहिलो दिन सांस्कृतिक कार्यक्रमसहित स्वागत गरिरहेको हो । उहाँले जनवरी १ तारिखका दिन त्यहाँ पुग्ने पर्यटकलाई खादा ओढाएर स्वागत गर्दै नेपाली मौलिक नृत्य, भैरव, लाखे नृत्यलगायतको प्रस्तुति गरिएको जानकारी दिनुभयो । यो दिन स्वयम्भूभर दीपावली गरेर खुसीयाली मनाइएको थियो ।
उपाध्यक्ष लामाले स्थानीय कलाकारसँगको सहकार्यमा नेपाली मौलिक नृत्य र कलाको प्रस्तुतिलाई वर्षभर नै निरन्तरता दिने जानकारी दिनुभयो । स्वयम्भू पुग्ने पर्यटक र अन्य सर्वसाधारणका लागि सात ठाउँमा शौचालयको व्यवस्था गरिएको छ अन्य दुई स्थानमा पनि शौचालय थपिने क्रममा छन् ।
काठमाडौँ महानगरपालिकाको वडा १५ स्थित ऐतिहासिक सम्पदा स्वयम्भूको व्यवस्थापनका लागि वि.सं. २०५३ मा स्वयम्भू वरिपरिका क्षेत्रका २४ वटा स्थानीय सङ्घ संस्थाको प्रतिनिधित्व रहने गरी स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिको दर्ता भएको थियो । त्यसअघि तदर्थ समितिबाट स्वयम्भूको व्यवस्थापन लगायतका कार्यक्रम गर्दै आएको महासमितिका महासचिव महेन्द्ररत्न बज्राचार्यले जानकारी दिनुभयो ।
स्वयम्भूमा आउने पर्यटकका लागि प्रवेश शुल्क निर्धारण पनि महासमितिको गठन गरेपछि नै तत्कालीन पुरातत्व विभाग प्रमुख खड्गमान श्रेष्ठको सल्लाहबमोजिम नै सुरु भएको महासचिव बज्राचार्यले जानकारी दिनुभयो । स्वयम्भूको व्यवस्थापनमा खटिएका ९५ जना कर्मचारीलाई तलबलगायत त्यहाँको खर्च त्यही शुल्कबाट व्यवस्थापन भइरहेको उहाँले जानकारी दिनुभयो ।
प्रवेश सहज बनाउन पदमार्ग प्रयोग गर्दै भगवान् पाउबाट स्वयम्भू उक्लिने पर्यटकलाई पूर्वी काउन्टरबाट र बसबाट स्वयम्भू जाने पर्यटकका लागि बसपार्क काउन्टर बनाएर प्रवेश शुल्क उठाइने गरिएको छ ।
स्वयम्भू प्रवेश गर्ने दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) राष्ट्रका पर्यटकले प्रति पर्यटक ५० रुपियाँ र अन्य राष्ट्रका पर्यटकले दुई सय रुपियाँ शुल्क तिर्नुपर्छ । चिनियाँ र भारतीय पर्यटकको बढी भीडभाड रहने स्वयम्भूमा पर्यटकीय सिजनमा हरेक दिन छदेखि सात सय जनासम्म पर्यटक पुग्ने गरेका छन् । अन्य समयमा दुईदेखि तीन सयसम्म पर्यटक जाने गरेका छन् ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?