logo
२०८१ बैशाख ७ शुक्रवार



धरहरा पुनर्निर्माणको काम भौतिकतर्फ ७० प्रतिशत सम्पन्न

पर्यटन |


धरहरा पुनर्निर्माणको काम भौतिकतर्फ ७० प्रतिशत सम्पन्न


काठमाडौं, कात्तिक २६ गते । धरहरा पुनर्निर्माणको काम भौतिकतर्फ ७० प्रतिशत सम्पन्न भैसकेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ । प्राधिकरणका सिईओ सुशील ज्ञवालीले धरहरा पुनर्निर्माणको काम लगभग ७० प्रतिशत सम्पन्न भैसकेको बताउनुभएको छ । २०७८ साल वैशाख ११ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले धरहराको उद्घाटन गरे पनि काम सक्न भने बाँकी नै थियो ।

उद्घाटनका बेलामा धरहरा पुनर्निर्माणको काम लगभग ५६ प्रतिशत सम्पन्न भैसकेको ज्ञवालीले बताउनुभयो । उद्घाटन गरेपश्चात कोभिड–१९ को दोस्रो लहर सुरु भएपछि भने काममा केही कठिनाई भएको ज्ञवालीको भनाइ छ । ‘कोभिडको दोस्रो लहर सुरु हुने वित्तिकै काममा बाधा पुग्याे , कामदार नै कोरोना संंक्रमित भएर काम द्रुतगतिमा हुनै सकेन,’ उहाँले भन्नुभयो ।

कोरोना संक्रमण कमि भएसँगै चाडपर्व सुरु भएकाले पनि काममा केही बाधा पुगेको ज्ञवालीले बताउनुभयो । तर,पनि काममा प्रगति भने भैराखेको उहाँको दावी छ । ‘केही सञ्चार माध्यममा धरहरा पुनर्निर्माणको काम नै भएको छैन भन्ने आएको छ । तर, त्यसो होईन काम भने भएको छ,’ ज्ञवाली भन्नुहुन्छ ।

धरहरा पुनर्निर्माणको काम यही मंसिर महिनाभित्र सक्ने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले लक्ष्य राखेको थियो । अझै टावरमुनीको तीन तले पार्किङ् भवन, सङ्ग्रहालयको काम, प्रशासनिक भवन र खिचापोखरीबाट टुँडिखेल जोड्ने सडक बन्न बाँकी नै रहेको ज्ञवालीले बताउनुभयो । यस्तै अब बीचमा पुल बनाउने काम,सुन्धारालाई सजाउने काम पनि बाँकी रहेको उहाँ बताउनुहुन्छ ।

आगामी वैशाख–जेठसम्ममा धरहरा पुनर्निर्माणको बाँकी काम सम्पन्न भैसक्ने ज्ञवालीको दावी छ । ‘सरकारले कोरोना संक्रमणको चपेटामा परेका आयोजनाको छ महिना अवधि थप्ने भनिसकेको छ, अबको बाँकी छ महिनामा सम्पूर्ण काम सकिन्छ,’ज्ञवालीको भनाइ छ । यही पुस् ९ गते विघटनको तयारीमा रहेको प्राधिकरणले धरहरा पुनर्निर्माणको जिम्मा शहरी विकास तथा भवन निर्माण विभागलाई दिने तयारी गरेको छ । धरहरा पुनर्निर्माणको जिम्मा रमण कन्स्ट्रक्सनले जिम्मा पाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?