logo
२०८१ मंसिर ९ आईतवार



अटेर गर्दै कतिपय विद्यालय, चैतमै भर्ना अभियान थाले

शिक्षा |
पढ्नै पर्ने |


अटेर गर्दै कतिपय विद्यालय, चैतमै भर्ना अभियान थाले


काठमाडौं,चैत्र ७ गते । उपत्याकाका कतिपय विद्यालयहरुले चैत्र महिनामै भर्ना अभियान सुरु गरेका छन् । शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयले चैत्र महिनाभर पठनपाठन सञ्चालन गरेर वैशाखमा परीक्षा सञ्चालन र प्रकाशनपछि मात्र भर्ना अभियान चलाउन आग्रह गरे पनि कतिपय विद्यालयले चैत्रमै भर्ना अभियान थालेका छन् ।
उपत्यकाका निजी विद्यालयले सरकारको निर्णय बेवास्ता गर्दै भर्ना प्रक्रिया सञ्चालन गरेका छन् । कतिपय विद्यालयले आफ्नो वेभसाइटबाटै फारम भरेर भर्ना हुन सकिने जनाएका छन् भने कतिपयले भौतिक उपस्थितिमै भर्ना हुन सकिने जनाएका छन् ।
 कुनै विद्यालयले वैशाखअघि भर्ना अभियान सञ्चालन गरे कारबाही गरिने शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले बताउनुभएको छ । मन्त्रालयमा पनि यसबारेमा गुनासो आएकाले चैत्र महिनाभर पढाइ सञ्चालन गर्न सूचना नै जारी गरेकाले यो काम गैरकानुनी भएको उहाँको भनाइ छ । यस सम्बन्धमा स्थाानीय सरकारलाई निगरानी गरी कारबाही गरिएको शर्माको भनाइ छ ।
यस्तै नेपाल अभिभावक महासङ्घका अध्यक्ष सुप्रभात भण्डारीले निजी विद्यालयमा सरकारको उपस्थिति नदेखिएको बताउनुभयो । ‘कि त सबै विद्यालयलाई भर्नाका लागि खुला गरिदिनुप¥यो, कि सबैलाई रोक्न सक्नुपर्ने हो, सरकारको उपस्थिति देखिएन,’ उहाँले भन्नुभयो । सक्नेले जे गरे पनि हुन्छ भन्ने प्रवृत्ति देखिएको उहाँले बताउनुभयो ।
सरकारको नीति नियमलाई निजी विद्यालयहरुले मान्ने प्रवृत्ति पहिल्यैदेखि नरहेको उहाँको दावी छ । तर निजी विद्यालयलाई सरकारले नियमन गर्न नसकिरहेको उहाँको भनाइ छ । यस्तै निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन)का अध्यक्ष टीकाराम पुरीले चैत्र महिनामै विद्यार्थि भर्ना अभियान सुरु गर्नु गलत भएको बताउनुभएको छ ।
यसबारेमा पहिले थाहा नभएको बताउँदै यदि निजी विद्यालयले त्यसो गरेको भए त्यो गलत हुने र सरकारले जारी गरे अनुसारको सूचना निजी विद्यालयले पनि अनिवार्य पालना गर्नुपर्ने उहाँको भनाइ छ । ‘यसबारेमा पहिले थाहा थिएन, यदि कुनै विद्यालयले अहिले भर्ना अभियान सञ्चालन गरेको भए त्यो राम्रो कुरा भएन । सरकारले जारी गरेको वैशाखदेखि भर्ना अभियान सञ्चालन गर्नुपर्छ,’पुरीले भन्नुभयो ।
वैशाखको अन्तिममा स्थानीय तहको चुनाव भएको र कतिपय विद्यालय मतदान केन्द्रसमेत रहेकाले त्यसअघि परीक्षा, नतिजा र भर्ना, पुस्तक वितरण गरी चुनावपछि पठनपाठन सुरु गर्न सक्ने सरकारले निर्णय गरी निर्णय गरेको हो । कक्षा १ को भर्ना प्रक्रिया पनि वैशाखमै सुरु गर्नुपर्ने उनको भनाइ छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?