logo
२०८१ बैशाख १२ बुधवार



औद्योगिक राष्ट्रहरूको समूह (जी ७) को बैठक स्थगित

अर्थ |
अन्तर्राष्ट्रिय |


औद्योगिक राष्ट्रहरूको समूह (जी ७) को बैठक स्थगित


वासिङ्टन, जेठ १८ गते । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वका प्रमुख औद्योगिक राष्ट्रहरूको समूह (जी ७)को शिखर सम्मेलन कम्तीमा आगामी सेप्टेम्बरसम्मका लागि स्थगित गर्नुभएको छ ।
जुनको अन्त्यतिर हुने गरी यसअघि तय भएको शिखर सम्मेलन कोरोनाभाइरसको सङ्क्रमण विश्वभरि फैलिएका कारण स्थगित गरिएको हो ।
सम्मेलनमा उहाँले भारत, रसिया, दक्षिण कोरिया र अस्ट्रेलियालाई निमन्त्रणा गर्ने पनि जानकारी दिनुभयो । अहिले जी७ को संरचना नै “पुरानो र असान्दर्भिक” भइसकेको पनि राष्ट्रपति ट्रम्पले बताउनुभएको छ ।
अमेरिकी सञ्चारमाध्यम सिएनएनका अनुसार राष्ट्रपति ट्रम्पले भन्नुभएको छ, “मैले जी ७ को बैठक कम्तीमा सेप्टेम्बरसम्मका लागि पछाडि सारेको छु, किनभने अहिले संसारमा जे सङ्कट उत्पन्न भइरहेको छ, त्यसको सम्बोधनका लागि अहिलेको जी७ समूहले सक्दैन ।” विश्वका प्रमुख औद्योगिक राष्ट्रहरू संयुक्तराज्य अमेरिका, जापान, बेलायत, फ्रान्स, जर्मनी, इटाली र क्यानाडा जी७ मा सदस्य राष्ट्र हुन् । यो शिखर सम्मेलन यही जुन १० देखि १२ तारिखसम्म अमेरिकाको वासिङ्टन डिसीमा हुने तय भएको थियो ।

जी७ को अध्यक्षता सातै वटा मुलुकले आलोपालो गर्ने प्रचलन छ । अमेरिकी राष्ट्रपतिको कार्यालयका प्रवक्ता अलिस्सा फराहले अमेरिकाका परम्परागत मित्रराष्ट्रसहित कोरोनाभाइरसबाट प्रभावित राष्ट्रहरूलाई राष्ट्रपति ट्रम्पले समेट्न चाहनुभएको बताउँदै बैठकमा चीनको भविष्यका बारेमा पनि छलफल हुने जानकारी दिनुभयो ।

जर्मन चान्सलर एन्जेला मर्केलको कार्यालयले जर्मनीमा कोरोनाभाइरसको प्रसार नरोकिएसम्म चान्सलर मर्केल जी७ को बैठकमा उपस्थित हुन नसक्ने जनाएलगत्तै ट्रम्पले बैठक स्थगित गरेको घोषणा गर्नुभएको थियो ।
राष्ट्रपति ट्रम्पले जी७ को संरचनामा फेरबदल गरी रसिया, भारत, दक्षिण कोरिया र अस्ट्रेलियालाई सामेल गर्ने प्रस्ताव गर्नुभएको छ । तर क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले रसियालाई जी७ मा पुनः प्रवेश गराउने विषयमा आपत्ति जनाउनुभएको छ । रसियालाई सन् २०१४ मा जी७ को सदस्यबाट हटाइएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?