अमरराज नहकी
तनहुँ, कात्तिक ३० गते । भारतबाट विद्युत आयात घटाउन नेपाल सरकारले प्राथमिकता दिई तनहुँ जलविद्युत आयोजनाको निर्माणकार्य अघि बढाइरहेको छ ।
आयोजना प्रमुख अच्युत घिमिरेले सुख्खा याममा अभाव हुने समयमा यस आयोजनाले विद्युत भरथेकको काम गर्ने हुँदा यस आयोजनको ठुलो महत्व रहेको बताउनुहुन्छ । ‘सुख्खा मौसममा भारतबाट आयात गर्ने मागलाई घटाउँछ कुलेखानी जलाशाययुक्त पछि यो आयोजना सुख्यायाम हुने अभावलाई लक्षित गरी निर्माण सुरु गरिएको हो ।’ घिमिरेले भन्नुभयो ।
करीब २० प्रतिशत काम पूरा
सो आयोजनाले हाल सम्म १८ देखि २० प्रतिशत काम पुरा भएको आयोजना प्रमुख अच्युत घिमिरेले जानकारी दिनुभयो । वि.सं. २०६२ सालमा पहिचान भएको र बर्षैभरि नै १४० मेगावाट विद्यूत उत्पादन हुने नेपालकै दोस्रो जलाशययुक्त आयोजना हो । आयोजनाको ड्यामदेखि विद्युत गृहसम्मको लम्बाइ करिब १८ किलोमिटर र जलाशय क्षेत्र ७२६ वर्ग किलोमिटर छ । आयोजनाको सिनो हाइड्रोले दोस्रो प्याकेज अन्तर्गतको विद्युतगृह निर्माणको काम गरिरहेको छ । विद्यृतगृह निर्माणका लागि १ सय ८८ मिटर केवल टनेलको काम हालै मात्रै पूरा भएको आयोजनाका उपनिर्देशक तुलसीप्रसाद सापकोटाले जानकारी दिनुभयो ।
‘पावर हाउसभित्रै गाडी जाने टनेल निर्माण पूरा भएको छ दमौलीदेखि भरतपुरसम्म २२० केभीको डबल सर्किट प्रसारण लाइन निर्माण तत्काल सुुरु गर्दैछौं ।’ उपनिर्देशक सापकोटाले भन्नुभयो । सिनोले आयोजनाको प्याकेज दुई अन्तर्गतको सुरुङ, विद्युतगृह निर्माण र हाइड्रो तथा इलेक्ट्रो मेकानिकल उपकरण आपूर्ति जडानको ठेक्का पाएको छ । सिनो हाइड्रोले अहिले आयोजनास्थलमा कार्यालय भवन, श्रमिक आवास गृहलगायत संरचना निर्माण, आयोजनाको प्रवेशमार्ग र अन्य संरचनाको सर्वेक्षण, डिजाइन र निर्माण गरिरहेको छ भने केही कार्य सम्पन्न पनि भइसकेको छ ।
आयोजनाको प्रसारण लाइन निर्माणको काम पनि तीव्रगतिमा भइरहेको छ । आयोजनाबाट उत्पादित विद्यूतत २२० केभीको डवल सर्किट बाट ३९ किलोमिटर लामो प्रसारण लाइन निर्माण गरेर भरतपुरस्थित राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ । उक्त कामको ठेक्का भारतीय कम्पनी केइसीले पाएको छ । उपनिर्देशक सापकोटाका अनुसार प्रशारण लाइनका लागि चालु आर्थिक वर्षमा ३० वटा टावर निर्माण गरिनेछ । प्रसारण लाइनका लागि कूल ९४ वटा टावर निर्माण गरिने भएको छ । प्रशारण लाइन निर्माणको काम सन् २०२२ मार्चसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ । प्रशारण लाईनको लागि २५ वटा सामुदायिक वनका एक लाख ८१ हजार रुख काट्नु पर्ने आयोजनाले जनाएको छ ।
आयोजनाका अनुसार पहिलो प्याकेज अन्तर्गतका कामका लागि तीन वटा कम्पनीको बोलपत्र परेको र ती बोलपत्र उपर मूल्याङ्कनको काम भइरहेको आयोजनाले जनाएको छ । पहिलो प्याकेज अन्तर्गतका कामका लागि लार्सन एण्ड टर्बो इन्डिया, चाइना गेजुवा कम्पनी र सोङ्दा भियतनाम÷कालिका जेभीले बोलपत्र पेश गरेका थिए । पहिलो प्याकेज अन्र्तगत १४० मिटर अग्लो कङ्क्रिट बाँध, नदी फर्काउने दुईवटा सुरुङ, अस्थायी बाँध लगायतका संरचना निर्माण गरिनेछ । आयोजनाका लागि १४० मिटर बाँध, एक हजार एक सय ६२ मिटर र ७४ मिटरको मुख्य सुरुङ, ८९ मिटर लम्बाई, २२ मिटर चौडाई र ४४ मिटर उचाई भएको भूमिगत विद्यृतगृह निर्माण गरिनेछ । खुद उचाई १२१ मिटर रहने बताईएको छ । जलाशयको कुल भण्डारण क्षमता २९५.१ मिलियन घनमिटर रहनेछ ।
आयोजनाको बाँध स्थल दमौली नजिकैको दुले पहरामा १४० मिटर अग्लो बाँध निर्माण हुनेछ भने काँहुडाँडाभित्र ११ सय ६२ मिटर लामो सुरुङमार्गबाट निर्माण गरी सेती नदीको पानीलाई भूमिगत विधुत गृहमा पु¥याएर विद्युत उत्पादन गरिने आयोजनाले जनाएको छ । जापान अन्तराष्ट्रिय सहयोग नियोगकोको १८४ मिलियन यू.एस.डलर अर्थात १८ अर्ब नेपाली रुपैयाँ, एशियाली विकास बैंक र युरोपियन इन्भेष्टमेन्ट बैंकको १५० मिलियन डलर अर्थात १५ अर्ब नेपाली रुपैंया र बाँकी नेपाल सरकारको गरी कूल ५५ अर्ब रुपैयाको लागतमा सो आयोजना निर्माण सम्पन्न हुने आयोजनाका सहायक निर्देशक भोलानाथ शर्माले जानकारी दिनुभयो ।
क्षति न्यून
यसैवीच, जाइका अध्ययन टोलीले प्राविधिक तथा आर्थिक दृष्टिले अत्यन्तै उपयुक्त साथै प्राकृतिक ,सामाजिक, आर्थिक र साँस्कृतिक वातावरणमा कम प्रभाव पार्ने योजनाका रुपमा तनहुँ जलविधुत आयोजनालाई लिएको छ । यो आयोजनाको जलाशय क्षेत्रमा जमिन र घना जङ्गल भएकाले वातावरणीय प्रभाव तुलनात्मक रुपमा न्यून क्षति हुने बताइएको छ । आयोजना निर्माणका क्रममा जलाशय क्षेत्र, बाँध र विधुत गृह क्षेत्र, भौतिक संरचनाका क्षेत्र र तल्लो तटीय क्षेत्रमा केही प्रभावहरु पर्ने भए तापनि अन्य जलविधुत आयोजनाका तुलनामा यसको प्रभाव कम रहेको आयोजनाले जनाएको छ ।
तथापी आयोजनाको जलाशय क्षेत्रले व्यास नगरपालिका का साथै अन्य स्थानीय तहहरु रिसिङ, म्याग्दे, र भिमादमा पर्ने ६ सय ३३ हेक्टर भूमि डुवानमा पर्नेछ । जसमध्ये १ सय ५१ हेक्टर खेतीयोग्य भूमि , २ हेक्टर जमिन घर बसोबास भएको क्षेत्र, र बाँकी जमिन जंगल र पर्ती क्षेत्रहरु छन् ।
त्यसैगरि तनहुँ जलविधुत आयोजनाका कारण ७ वटा झोलुङ्गे पुल, ग्रामीण बाटोहरु, सिँचाई कुलो, मोटरेवल पुल, कजवे, र विधुत वितरण लाइनहरु पनि प्रभावित हुनेछन् । त्यस्तै आयोजना निर्माणका क्रममा ७५८ जग्गाधनी घरपरिवारबाट जग्गा अधिग्रहण गर्नुपर्ने हुन्छ जसवाट चार हजार २५७ जना व्यक्तिहरु प्रत्यक्ष प्रभावित हुनेछन् । त्यस क्रममा ८६ घरपरिवारलाई अन्यन्त्र ठाउँमा स्थानान्तरण गर्नुपर्ने आयोजनाको विस्तृत अध्ययनमा उल्लेख छ ।
तिहारमा पनि काम सूचारु
नेपालीहरुको दोस्रो ठुलो चाड तिहारमा पनि तनहुँ जलविद्युत आयोजनाको काम निरन्तर भइरहेको छ । यसअघि आयोजनाले दशैंमा पनि कामलाई गति दिएको थियो । दशैंमा चिनिया मजुदुरले मात्रै काम गरेपनि तिहारमा धेरै नेपालीले विदा लिएका छैनन् ।
तिहारको बिदाको समयमा नेपाली र विदेशी दुवै कामदारबाट काम भरहेको आयोजना प्रमुख अच्युत घिमिरेले गोरखापत्रलाई जानकारी दिनुभयो । सिनो हाइड्रोले ठेक्का पाएर काम भइरहेको विद्युतगृह निर्माणका लागि हाल चिनियाँ मजदूरले काम गरिरहेको उहाँले जानकारी दिनुभयो ।
प्रमुख घिमिरेका अनुसार तिहारअघि १५० जना नेपाली कामदार रहेकोमा ५० जना तिहार बिदामा घर गए पनि १०० जनाले काम गरिरहेका छन् । चिनियाँ मजदूरहरु ४० जनाले काम गरिरहेका छन् । टान्सफिसन लाइनको टावर फाउण्डेशनको काममा १५ जनाले काम गरिरहेका छन् । जसमा १० जना भारतीय प्राविधिक रहेको परियोजनाले जनाएको छ ।