logo
२०८१ बैशाख ७ शुक्रवार

  काेराेनाकाे मारमा पुष्प व्यबसाय  



कोरोनाले बजार सुक्यो तर नर्सरीमा फूल फुलिरहे

अर्थ |
समाज |


कोरोनाले बजार सुक्यो तर नर्सरीमा फूल फुलिरहे


काठमाडौँ, असोज १६ गते । काठमाडौँ उपत्यकाभित्र रहेको ललितपुर जिल्लाको गोदावरी नगरपालिकाको टौखेलमा एउटा सिलवाल बस्ती छ । जहाँ बस्नु हुन्छ, पुष्प व्यवसायी शर्मिला सिलवाल । शर्मिलाले बुबाले गर्दै आउनुभएको व्यवसाय पुष्प व्यवसायलाई निरन्तरता दिनुभएको छ । उहाँको दिनचर्या विहान उठेदेखि नसुतेसम्म आफ्नो व्यवसायमा रमाउँदै बित्ने गरेको छ । उहाँका अनुसार हाम्रो घरमा हामी गृहणी हुन्छौँ नै । त्यही गृहिणीको लागि एउटा राम्रो व्यवसाय हो फूलको व्यवसाय । जसको लागि हरेक बिहानदेखि साँझ नसुत्दासम्म आफ्नो मन, खुसीले काम गर्न सकिन्छ ।

न हाकिमको शब्द, न आर्थिक चिन्ता, न बिचौलीयाको डर । गोदावरी नगरपालिकाको टौखेलमा रहेको छ उहाँको “सिलवाल नर्सरी” । बच्चा अबस्थादेनि नै बुबाले गरेको व्यवसायमा रमाउँदै सिकेको काम त्यसैमा रमाउने बानी छ उहाँको । उहाँ भन्नुहुन्छ,“ बुबा पुष्प व्यवसाय गर्ने भनेर शुरु गर्नु भएको होइन तर फूलप्रतिको बुबाको लगाब र आकर्षणले हाम्रो घर नै फूलको बगैचा बन्यो ।” विस्तारै त्यही नर्सरीमा परिणत भयो । अहिले छ रोपनीमा पूरै “गार्डेन” छ ।
वि.सं.२०५८ सालमा बुबा विष्णु सिलवालको निधनपछि नर्सरीलाई घरपरिवारले मिलेर निरन्तरता दिइएको थियो । पछि परिवारका एक जना सदस्य शर्मिला सिलवालले व्यवसायलाई नै आफ्नो पेशा बनाउनुभयो । आज पुनः बुबाले गरेको व्यवसाय जस्ताको त्यस्तै बनाउनु भएको छ । शर्मिला भन्नुहुन्छ,“ बुबाले गरेको काममा मैले केही परिवर्तन गरेकी छु, बुबाको बेला हजारौँ थरीका जंगली विरुवा थियो, मेरो पालामा फूलको बोट बढी छ । सायद, मलाई फूल बढी मन पर्ने भएर होला ।” तर मौसमी फूलको खेती कच्चा व्यापार रहेको उहाँको अनुभव छ ।

कोरोनाले वर्षको तीन पटक हुने मौसमी फूललाई धेरै क्षति गरेको छ । उहाँले भन्नुभयो,“ कोरोनाले गर्नु गरेको छ, गरि रहेको छ, कोरोनाको समयमा मात्र मैले दुई सिजनमा छलाख बराबरको फूल विक्री नभएपछि फाल्नु पर्यो ।” अहिले ग्रहाकको माग अनुसार मात्रै फूलको उत्पादन थालेको शार्मिलाले बताउनुभयो । उहाँले भन्नुभयो, “ दुई लटको फूल विक्री नभएर फाल्नु पर्यो, लकडाउनमा पनि गार्डेनको काम गर्नै पर्यो, गरेन भने बोटहरु मर्छ ।” यसलाई सरकारले सम्बोधन गर्न सकेको छैन उहाँले गुनासो गर्नुभयो ।
काठमाडौं उपत्यकाका फूल व्यवसायीहरुको संगठन फ्लोरीकल्चर एसोसिएसन मार्फत् आफूहरुले सरकारको ध्यानकर्षण गर्ने काम गरे पनि त्यसको सुनुवाई नभएको उहाँले बताउनुभयो । कोरोना फैलिरहेकै समयमा सुरक्षा सावधानी अपनाएर बजार खुले पनि पुष्प व्यवसाय गर्नेहरु भने लकडाउनमा पनि काम गर्नु परेको तर आयस्रोत भने बन्द हुन पुगेको उहाँको अनुभव छ ।

उहाँले भन्नुभयो, “ अहिले सिलवाल गार्डेनमा चार वटा परिवार आश्रित छन्, कोरोनाले व्यवसाय घट्यो, चार जना दैनिक खट्ने कामदार छन्, काम गराएपछि खर्च दिनै पर्यो, आर्थिक भार परेको छ ।” हरेक दिन कोरोनाका बिरामी बढ्दै गएपछि नियन्त्रण गर्न कठिन हुने हुनाले देश, विदेश सबैतिर लकडाउन भएको सम्झादै उहाँले, “ कोरोनाले हरेक क्षेत्र प्रभावित भएको भयो, बाहिराबाट ल्याउने बिउ लयाउन सकिएन, नेपालमा क्राफ्टिङ्ग नहुने विरुवा पनि आउन सकेन, नेपालमै उत्पादन भएको पनि बिक्री भएन ।” कोरोनालाई विचार गरेर गर्दै बजारमा सयपत्री फूलको मागमा कमी र स्वदेशी उत्पादन राम्रो रहेकाले यस वर्षको तिहारमा भने पुग्ने गरी फूलको विरुवा तयारी अवस्थामा रहेको बताउनुभयो ।

“ गोदावरी फलफूलको लागि उपयुक्त ठाउँ हो, यहाँको हावापानी फूलको लागि राम्रो छ ।” तर यसपाली असिना पानीले मुन्ताला, गुलाफ जस्ता धेरै पानी नचाहिने विरुवालाई नराम्ररी क्षति गरेको छ,” उहाँले भन्नुभयो । सात हजार विरुवा भने भर्खर उमारेको बताउनुभयो, “ सात हजार यसपत्रीको विरुवा फुलिसकेका छन भने त्यति नै तिहारका लागि तयार छ भने सात हजार विरुवा भर्खर उमारेका छौँ ।” कोरोना हुनुभन्दा पहिलेका वर्षहरुमा राम्रो व्यापार हुने गरेको भन्दै उहाँले भन्नुभयो,“ यो व्यवसायमा आर्थिक पाटो राम्रो छ, धेरै लगानी गर्न नपर्ने, घर, आँगन, बारी जुनसुकै ठाउँको सदुपयोग गर्न सकिने, समयको सदुपयोग गर्न सकिने हुनाले सबैभन्दा राम्रो यो व्यवसाय गृहणीहरुको लागि हो ।” घरबाहिर जानु नपर्ने भएकाले यो व्यवसायलाई सरकारले लक्षित वर्ग गृहणीलाई राखेर नेपालको आम्दानीको स्रोत बनाउन सक्ने उहाँको अनुभव छ ।
तिहारको समयमा सयपत्री फूल राम्रो खपत हुँदै आएको छ । यस वर्ष भने बजारमा कोरोेनाले पुरानो ग्राहकको मागलार्ई आँकलन गरेर त्यहीअनुसार तयारी गरिएको उहाँले बताउनुभयो । मागअनुरुप उत्पादन भएकाले दशैँ तिहारमा फूलको अभाव नहुने बताउनुभयो । मुख्य गरी तिहारमा प्रयोग हुने सयपत्री, मखमली र गोदावरी फूल नै रहेकाले विश्वभरी फैलिएको कोरोना भाइरसका कारण यसअघि फूलले बजार नपाए पनि तिहारमा भने स्वदेशी फूलले ठाउँ पाउने उहाँको दाबी छ ।
अन्य समयमा सजावटका लागि केही फूल र क्राफ्टिङ्ग गर्न नमिल्ने फूल तथा सो पिसहरु भारत, जपानलगायत देशबाट आयात हुने गरे पनि यस वर्ष पानीले फूललाई नराम्ररी सताएको भन्दै पात्रो हेरेर व्यावसायिक रुपमा फूल लगाएकाले दशैँ तिहारको लागि उत्पादन राम्रो छ उहाँले भन्नुभयो । राम्रो खालको सयपत्री फूलको विउ नै नेपालमा बनाउन नसकिएको र त्यो पनि बाहिरी देशबाट ल्याउनुपर्ने बाध्यता रहेकाले त्यसका लागि सरकारले लगानी गर्न आवश्यक रहेको बताउनुभयो ।
“विउ बाहिरीबाट ल्याए पनि नेपालमा यसपत्रीको उत्पादन राम्रो हुन्छ, ” उहाँले भन्नुभयो, “ त्यसको बोट, फूल राम्रो हुन्छ तर बिउ बन्दैन त्यो प्रविधि नेपालमा छैन, बनाउने तरिका उनीहरुले सित्तैमा सिकाउँदैन, त्यही सानो सिप हामीले महँगोमा किन्नुपर्छ ।” व्यावसायिकरुपमा नेपालमा चार सय पचास प्रजातिका फूल उत्पादन हुँदै आएको छ । यस व्यवसायबाट ४१ हजारभन्दा बढी व्यक्ति नेपालमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा लाभान्वित छन् ।
नेपालमा लगभग एक सय ५७ हेक्टर क्षेत्रफलमा सात सय व्यवसायीले फूलखेती गर्दै आएका छन् । फूलको मागमा आएको वृद्धिसँगै विशेष गरी काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की, चितवनलगायत ४१ जिल्लामा छ सय ७५ पुष्पखेती तथा नर्सरी छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?