logo
२०८० चैत्र १६ शुक्रवार

  अन्तर्राष्ट्रिय महिला दिवस विशेष  



पुरुषभन्दा कम छैनन् महिला पनि: एसएसपी दुर्गा सिंह

राष्ट्रिय |
समाज |


पुरुषभन्दा कम छैनन् महिला पनि: एसएसपी दुर्गा सिंह



काठमाडौं, फागुन २४ गते । सबैजना साथ भएर नारी प्रतिको पूर्वाग्रह तोड्ने र समानताको आवाज बलियो बनाउनकाे लागि आज नारी दिवस मनाइँदैछ । नेपालमा गणतन्त्र स्थापनापछि लागू भएको समानुपातिक समावेशी व्यवस्थाले प्रहरीमा महिला सहभागिता बढेको छ।

नेपाल प्रहरीकी (एसएसपी) दुर्गा सिंहले समानताको अधिकार घरबाटै सुरु हुने गाेरखापत्र अनलाइनसँगकाे कुराकानीमा बताउनुभयाे । उहाँले महिला कुनै पनि काम गर्न कम नरहेकाले समान अवसर दिनुपर्ने बताउनुहुन्छ । करिब २७ वर्षदेखि नेपाल प्रहरीमा रहेर सेवा गर्ने सौभाग्य पाउनुभएकी सिंहले प्रहरीको माथिल्लो पदमा पुग्ने महिलाको इतिहास बनाउन सफल हुनुभएको छ ।

नारी दिवसका अवसरमा उहाँले छोराछोरीमा भेदभाव गर्न नहुने बताउनुभयो । छोराछोरीमा भेदभाव हुँदा उनीहरूकाे विकास वृद्धिमा समस्या हुनुका साथै हिनताबोध हुने हुन्छ । ‘छोराछोरीबीचको खाडल पुर्ने काम आमाबुबाको हो, मानवअधिकार सबैका लागि समान छ ।,’ उहाँले भन्नुभयो ।

आठ हजारभनदा बढी महिला कर्मचारी
प्रहरीमा जनपद र प्राविधिक गरी जवानदेखि प्रहरी महानिरीक्षकसम्मको पदमा महिला पुगेका छन् । नेपाल प्रहरीको तथ्याङ्कअनुसार प्रहरी सङ्गठनमा ७५ हजार ४६३ जम्मा प्रहरीको जनसङ्ख्या छ । जसमध्ये ११ प्रतिशतभन्दा बढी महिला कर्मचारी अर्थात् आठ हजार ३३४ जना छन् । यो जनपद र प्राविधिक दुवैतर्फको सङ्ख्या हो ।

तथ्याङ्कअनुसार प्रहरीमा महिलाको स्थान प्रहरी अतिरिक्त महानिरीक्षक एक, प्रहरी नायव महानिरीक्षक एक, प्रहरी वरिष्ठ उपरीक्षक सात, प्रहरी उपरीक्षक आठ, प्रहरी नायव उपरीक्षक २८, प्रहरी निरीक्षक ११६, प्रहरी नायव निरीक्षक ३०३, प्रहरी सहायक निरीक्षक ५००, प्रहरी हवालदार ११ सय ७५, प्रहरी जवान ५६ सय ३०, प्रहरी कार्यलय सहयोगी ४८१, प्रप्रनि ४, प्रप्रसनि ३, प्रप्रज ७७ गरी जम्मा आठ हजार ३३४ जना रहेका छन् ।
पुरुषभन्दा कम छैनन् महिला

संसारमा पुरुषभन्दा कम छैनन्, महिला । जसको उदाहरण हो, एसएसपी दुर्गा सिंह । उहाँलाई सानैदेखि घरमा पढ्ने माहोल थियो । पढाई सकिन साथ उहाँ इन्सपेक्टर बन्ने अवसर प्राप्त भयो । विभिन्न बाधा अवरोध पार गर्दै सिंहले एसएसपीसम्मको यात्रा पूरा गर्न सफल हुनुभयो ।

सफल हुनका लागि परिवारको साथ, सहयोगको आवश्यक पर्छ । आफू यहाँसम्म आइपुग्न दुई छोरी, श्रीमान र सासुको ठूलो हात रहेको उहाँ बताउनुहुन्छ । उहाँका अनुसार पेशा जुनसुकै भए पनि महिला त्यसको रोल मोडेल हो । ‘कुनै पेशा खराब हुँदैन, क्यरियर कम फष्ट,’ एसएसपी सिंहले भन्नुभयो । अवसर पाए महिलाले जे पनि गर्न सक्ने सिंह बताउनुहुन्छ । ‘जुन पेशामा पनि सफलता पाउनका लागि संघर्ष त गर्नैपर्छ ।,’ उहाँले भन्नुभयो, ‘समय खराब हुँदैमा अत्तिनु भने हुँदैन । समय अनुसार संघर्ष गर्नुपर्छ तर, हार मान्नु हुँदैन । नेपाली समाजमा अझै पनि महिला र पुरुषबीच गहिरो खाडल रहेको उहाँको भनाइ छ ।

उहाँका अनुसार महिला स्वतन्त्रताका लागि घरपरिवार विद्यालय र सरकारले सहयोग गर्नुपर्छ । सबैको साथ र सहयोगमा महिला स्वतन्त्र सम्भव छ । यसको लागि आमाबुबाले छोराछोरी दुबैमाथि विश्वास गर्नुपर्ने हुन्छ । सन्तान एउटै हो । छोरीको जीवनको निर्णय गर्ने अधिकार छोरीलाई नै दिनुपर्छ। अनि मात्रै महिला स्वतन्त्र भएको अनुभूति हुन्छ ।

पहिले ट्राफिक महिलाले कुटाइ खानुपथ्र्यो, अब पर्दैन
महिलाहरु जतिबेला आफ्नो खुट्टामा उभिएर खाना सक्ने हुन्छन् त्यति बेला मात्रै महिला दिवस मनाएको सार्थकता हुने ट्राफिक प्रहरी प्रभाग एयर पोर्टकी प्रमुख (सई) रीता श्रेष्ठले बताउनुभयो ।

उहाँका अनुसार महिला पुरुषभन्दा पछि पर्नुहुँदैन । हिम्मत हारेर होइन आँट लिएर काम गरे धेरै कुरा गर्न सकिन्छ । टीममा काम गरौँ । ‘हामी महिला दिवसका दिन सबै ट्राफिक महिलाहरु पिकनिक जाँदैछौँ,’ उहाँ खुशी हुँदै भन्नुभयो, ‘पहिलेको तुलनामा अहिले ट्राफिक महिलाहरु धेरै स्वतन्त्र छन् ।’ महिला दिवसमा सबै ट्राफिक महिलालाई बिदा दिइएको छ । यो अवसरमा उहाँहरु पिकनिक जाँदै हुनुहुन्छ ।

आज महिला ट्राफिकको सट्टामा पुरुषहरु ड्यूटीमा आउने पनि उहाँले जानकारी दिनुभयो । ट्राफिक महिला पहिलेको अवस्थामा अहिले स्वतन्त्र छन् । यो सुविधा दिइएको अवसरमा सबै स्टाफहरु मिलेर पिकनिक जान पाउनु गोल्डेन चान्स रहेको प्रमुख श्रेष्ठले बताउनुभयो ।

उहाँ प्रहरी सेवामा लागेको २७ वर्ष पुरा हुँदैछ । पहिले र अहिले धेरै फरक देखेको भन्दै उहाँले भन्नुभयो, ‘पहिलेको तुलनामा अहिले धेरै स्वतन्त्र छ, अहिले हैरानी हुने खालको तालिम पनि हटाइएको छ, पहिले गर्नै पर्ने बाध्यता थियो ।’ खुट्टालाई भुईमा बजार्दा दिमागमा असर पर्छ भनिन्छ । त्यो पनि तालिमबाट हटाइएको उहाँले बताउनुभयो ।

उहाँका अनुसार अहिले ड्यूटीको समय पनि छोटो छ । गुनासो सुन्ने अधिकारी राखिएको छ । पहिले त्यस्तो थिएन । गुनासो राख्नै पाइँदैन थियो । कुटाइ खाइन्थ्यो । अहिले खानु पर्दैन । मौखिक गालि भने अझै पाइने छ । ‘पहिले लट्ठी नै खानुपथ्र्याे, राइफलको बट्ले हान्दिन्थे,लट्ठीको साशान थियो अहिले त्यो हटेको छ,’ उहाँले भन्नुभयो,‘ तर पनि हामी पुरुष जस्तै काम गर्न सक्छौँ, नयाँ–नयाँ काम गर्छाैँ, गरि नै रहेका छौँ ।’

नयाँ पिँढीका दिदीबाहिनीहरुलाई उहाँले सम्झउनुभयो । ‘अहिले नेटको जावाना छ, टिकटक बनाउनमा धेरै जसो महिलाहरु समय खेर फालिरहेको देखिन्छ, त्यस्तो नगर्नु होला, पढ्ने, सिप सिक्ने, योग्यता क्षमता बढाउने, आफ््नो योजनाअनुसार काम गर्दा क्यारियर बन्छ ।’ उहाँले भन्नुभयो,‘ हामीले जागिर जोइन गर्दा थोरै तलव थियो, दुःख धेरै थियो, अहिले सबै दुख भुल्ने मौका मिलेको छ ।’ सानो जागिर खाना पनि गाहे रहेकाले विभिन्न चरणहरु पार गर्नुपर्ने हुन्छ । उहाँले आफू जागिर खाएर ठिकै गरेको महसुश गर्नुभयो ।

मानिसहरु विदेश जान खोज्ने हुन्छ । तर यो जागिर खाएर पनि विदेश जान सकिने उहाँले सुझाव दिनुभयो । प्रहरीमै जागिर खाएर पनि यूएन जस्ता मिशनमा जान सकिने प्रमुख श्रेष्ठको भनाइ छ । घरमा दुई छोरा र श्रीमान हुनुहुन्छ । श्रीमानको सपोट नभए यो काम गर्न सकिदैन थियो भन्नुहुन्छ उहाँ । महिला दिवसमा पाएको बिदालाई सदुपयोग गरी ट्राफिक महिलाहरु पिकनिक कार्याक्रमको आयोजना गरेकोमा आफू एकदम खुशी रहेको उहाँले सुनाउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?