logo
२०८० चैत्र १६ शुक्रवार



आगो निभाउन भरपर्दाे विकल्प बन्दै हेलिकाेप्टर

खुला |


आगो निभाउन भरपर्दाे विकल्प बन्दै हेलिकाेप्टर


काठमाडौं, फागुन २५ गते । पहिले पहिले आगोलाग्दा दमकल वा मानिसले मात्र निभाउनुको विकल्प थिएन । जंगलमा आगो लाग्दा दमकल पुग्न बाटो हुँदैन । सहरमा पनि साँघुरा गल्लीका कारण कतिपय ठाउँमा दमकल पुग्न सक्दैनन् । तर, अहिले आगो निभाउन हेलिकोप्‍टरको प्रयोग हुन थालेको छ ।

आइतबार दमौलीको सहरी क्षेत्रमा आगो लाग्यो । पाँच वटा दमकल र सुरक्षाकर्मी स्थानीय परिचालित हुँदा पनि आगो निभेन । काठमाडौंबाट गएको सिम्रिक एयरको हेलिकोप्‍टरले आगो निभायो । यस्तै पछिल्लो समय सोलुखुम्बुको खुम्बु पासाङल्हमु गाउँपालिकाको लुक्कास्थित जंगलमा लागेको आगो हेलिकोप्‍टरको सहयोगमा निभाइएको थियो ।

लुक्लाको जंगलको आगो भीरमा प्रवेश गरेका कारण हेलिकोप्‍टरलाई आगो निभाउन केही समस्या परे पनि सिपालु क्याप्‍टेन सजिलै आगो निभाउन सफल हुनुभएको थियो । हेलिकोप्‍टरबाट आगो निभाउन त्यति सजिलो छैन । यसका लागि तालिम प्राप्त पाइलटको आवश्यकता पर्छ ।

अहिले नेपालमा आगो निभाउन आवश्यक तालिम प्राप्त जनशक्ति र उपकरणसहित सिम्रिक एयरका दुई वटा मात्र हेलिकोप्‍टर रहेको सो एयरका मार्केटिङ्ग प्रमुख योगेश सापकोटाले बताउनुभयो । यो टोलीले ताप्लेजुङ्गको पाथिभारा, काठमाडौँको शिवपुरी वन, बालाजुको बिस्कुट फ्याक्ट्री, सोलुखुम्बु, दमौली, र लुक्लाका दुई स्थान गरेर सात ठाउँमा अग्नि नियन्त्रणको काम गरिसकेको छ ।

तनहुँमा भएकाे आगलागी नियन्त्रण हुँदै । तस्बिर : अमरराज नहर्की 

सहज छैन हेलिकोप्‍टरबाट आगो नियन्त्रण
सिम्रिक एयरका क्याप्टेन सुरेन्द्र पौडेलका अनुसार क्याप्टेन हुँदैमा फायर फाइटिङ्गका लागि सजिलो हुँदैन । यसका लागि आगो नियन्त्रण तालिम आवश्यक पर्छ । पौडेलले सन् २०१२ मै हेलिकोप्‍टरबाट आगो नियन्त्रण गर्ने तालिम लिनुभएको थियो । तालिम लिए पनि नेपालमा यसको खासै औचित्य नरहेको उहाँको भनाइ छ । उहाँ भन्नुहुन्छ, ‘आगो त जहाँ पनि लाग्छ, संसार भर तर विदेशी र हाम्रोमा आगलागी नियन्त्रणमा सरकारले गर्ने ‘डिल’ धेरै फरक छ ।’ विदेशमा फायर फाइटिङ्ग र जंगलकोसमेत बीमा गरिएको हुन्छ । नेपालमा त्यो व्यवस्था छैन । आँखा अगाडि लागेको आगो पनि कसले निभाउने अन्यौल छ ।

उहाँको अनुभवमा नेपालमा योजना अनुसारको सहर छैन । भौगोलिक अवस्था त्यस्तै छ । बाटो छैन । त्यही अनुसार आफूले तालिम लिएको हो । क्याप्टेन पौडेलका अनुसार एक पटक तालिम लिएपछि ‘रिफ्रेसिङ्ग’ तालिम गर्नुपर्ने हुन्छ । 'विस्तारै दक्षता बढ्दै जान्छ । यो काम त्यति सहज छैन', उहाँ भन्नुहुन्छ,‘खतरा त्यति बेला हुन्छ, जब तालिम, दक्षता पुगेको हुँदैन ।’ उहाँ पूर्व सैनिक हुनुहुन्छ २० वर्षदेखि पाइलटको काम गर्दै आउनु भएको छ । आफूले सेफ्टी अपनाएर काम गरेकाले त्यस्तो खतरा नहुनेमा उहाँ ढुक्क हुनुहुन्छ ।

आगो नियन्‍त्रण गर्दा अन्यको तुलनामा सैयौँ गुणा बढी जोखिन हुने सिम्रिक एयरकै मार्केटिङ्ग प्रमुख सापकोटाको भनाइ छ । 'हेलिकोप्टरले आगो निभाउँदा आगो लागेको भागको सिधामाथि गएर पानी हाल्नुपर्ने हुन्छ । त्यस्तो अवस्थामा तातोले हेलिकोप्टर नै पड्कने सम्भावना हुन्छ', उहाँ भन्‍नुहुन्छ, 'अहिले कतिपय अवस्थामा सर्वसाधरणले सिधैँ एयरलाइन्सलाई फोन गर्ने गरेका छन् । मानिसले भनेको भरमा जाने कुरा हुँदैन । तर पनि उद्धारको कार्य गर्न कुनै पनि नियम कानुनले रोक्दै । पहिलो कुरा मानवता हो । ज्यान बचाउनु ठूलो कुरा हो ।' उहाँका अनुसार उड्नुभन्दा पहिला नागारिक उड्डयन प्राधिकरणसँग अनुमति लिनुपर्ने हुन्छ । तर, स्वयम् सेवकको रुपमा गएर आगो निभाए कसैले नरोक्ने पनि उहाँको भनाइ छ ।

शिबपुरीकाे जङ्गलमा लागेकाे आगो नियन्त्रण गरिदै । तस्बिर : गाेरखापत्र

पानी कै समस्या
‘हेलिकोप्‍टर फायर ब्रिगेडले पानी बोकेर हिँड्दैन,’ आगो लागेको छेउछाउ कहाँ पानी छ त्यो हेर्छौँ,’ प्रमुख सापकोटाले भन्नुभयो । हेलिकोप्टरले आगो निभाउँदा सबैभन्दा राम्रो खोलाको पानी हुन्छ । त्यो भएन भने पोखरी, स्वीमिङ्ग पुल, ताल वा अन्य ठाउँको पानी पनि प्रयोग हुन्छ । हेलिकोप्टरमा बकेटको क्षमता एक हजार लिटरको छ । त्यसमा पानी भरेर आगो निभाउने गरिएको छ । त्यसरी गर्दा जतिजति हाइट बढ्दै जान्छ, त्यतित्यति हेलिकोप्टरको पानी बोक्ने भार क्षमता घट्दै जाने हुन्छ ।

दमौलीमा भएको आगलागी नियन्त्रण गर्नका लागि हेलिकप्टरले प्रत्येक ट्रिपमा हजार लिटर पानी बोकेको थियो । काठमाडौँमा लागेको आगो निभाउँदा आठ सय लिटर र लुक्लामा भएको लागलागी नियन्त्रण गर्न सात सय लिटर पानी बोकेको थियो । यसरी एयरले आगो निभाउने काम गर्दै आएको छ ।

आगो नियन्त्रण गर्ने हेलिकोप्‍टरमा क्याप्टेन सिद्धार्थजंग गुरुङ र क्याप्टेन सुरेन्द्र पौडेल खट्‍नुहुन्‍छ । उहाँहरुसँग अग्नि नियन्त्रक टोली छ । गृह मन्त्रालयले पत्र लेखेर सिम्रिक एयरको सहयोग मागेपछि काठमाडौंबाट हेलिकोप्टर दमौली गएको थियो ।

यस्तै, अर्को आगो लागेको जंगल लुक्लाको तेञ्जिङ हिलारी विमानस्थलबाट नजिकै रहेको थियो । आगो भीरमा पुगेकाले नियन्त्रणका लागि हेलिकोप्टर मात्रै विकल्प थियो । आगलागी धेरै हुनु नै क्षति बढी हुने मुख्य कारण रहेकाले सावधानीका उपाय अवलम्बन गर्नु नै सबैभन्दा राम्रो उपाय रहेको डिभिजन वन कार्यालय हात्तिसारका सूचना अधिकारी शिवराम थापाले बताउनुभयो ।

उहाँका अनुसार परम्परागत रहनसहनले पनि आगलागी धेरै हुन्छ । विपत् तथा जोखिम न्यूनीकरण गर्ने गरी लगानी गर्ने चलन अझै नेपालमा छैन । सावधानी अपनाउने हो भने मात्र पनि आगलागी र यसबाट हुने क्षति घटाउन सकिने हुन्छ । आगलागी हुनुभन्दा हुन नदिनु अर्थात् पूर्वतयारीमा लगानी अभाव रहेको उहाँको भनाइ छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?