logo
२०८१ बैशाख २३ आईतवार

   हेटौँडा–भरतपुर–बर्दघाट प्रसारण लाइन   



साना सकसले ठूलो क्षति

अर्थ |


साना सकसले ठूलो क्षति


गोपालचन्द्र सुवेदी

काठमाडौँ, पुस ७ गते । पूर्व तथा पश्चिम नेपालको विद्युत् आपूर्ति क्षमता विस्तार गर्ने लक्ष्यसाथ निर्माण थालिएको हेटौँडा–भरतपुर–बर्दघाट प्रसारण लाइनको काम अन्तिम चरणमा पुगेर स्थगित भएको छ । सामुदायिक वनमा रूख कटानको अनुमति नपाउनु र अदालतले समयमै फैसला नदिनुले २२० केभी डबल सर्किट प्रसारणलाइन सम्पन्न गर्न नसकिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

भरतपुर–हेटौँडा र भरतपुर–वर्दघाट दुई खण्डमा २२० केभी डबल सर्किट प्रसारणलाइन बनाएर भैरहवादेखि विराटनगरसम्मका औद्योगिक क्षेत्रमा दिगो र पर्याप्त बिजुली पु-याउने लक्ष्य राखिएको हो । सो प्रसारण लाइनको ९९ प्रतिशत काम सकिएको छ । भरतपुर–वर्दघाट प्रसारणलाइनको दुम्कीबासमा दुुईवटा पोल गाड्न नपाउँदा काम अवरुद्ध रहँदै आएको छ । ७४ किलोमिटर लामो यो प्रसारणलाइन बनाउन दुम्कीबासमा स्थानीयले अवरोध गरेर टावर राख्न दिएका छैनन् । दुई सय ४६ वटा टावरमध्ये दुुई टावर र त्यसमाथि तार जडान गर्न बाँकी छ । भारतीय कम्पनी केईसी इन्डियाले यो खण्डको निर्माण गरिरहेको छ ।

स्थानीयले सर्वोच्च अदालतमा मुद्दा दायर गरेपछि गत वैशाखमा अन्तरिम आदेशमार्फत सो काम रोकिएको हो । अन्तरिम आदेशपछि सर्वोच्च अदालतले यो मुद्दाको पेसी नै तोकेको छैन । “अदालतको आदेशले गर्दा दुम्कीबासमा पोल गाड्नै पाइएन,” प्रसारणलाइन आयोजनाका संयोजक श्याम यादवले भन्नुभयो, “दुई सातामा सकिने काम महिनौँ रोकिँदा पूर्व–पश्चिम विद्युत् प्रवाहको घाँटी नै अठ्ठिएजस्तै भएको छ । ”

चितवनको भरतपुर सबस्टेसनमा मस्र्याङ्दी र कालीगण्डकी करिडोरको बिजुली ल्याइन्छ । अहिले सो सबस्टेसनमा करिब १८० मेगावाट (जडित क्षमता) बिजुली आइपुग्छ । तर, यो प्रसारणलाइन नबनेकाले बुटवल–भैरहवा क्षेत्रमा रहेका उद्योगलाई प्राधिकरणले पर्याप्त बिजुली दिन सकेको छैन । अहिले सो क्षेत्रमा पुरानो १३२ केभी प्रसारणलाइनबाट अधिकतम ८० मेगावाटमात्र विद्युत् आपूर्ति गर्न सकिएको छ ।

प्रसारणलाइन कमजोर भएकै कारण भैरहवातर्पm गुणस्तरीय र पर्याप्त विद्युत् पु-याउन सकिएको छैन । यसकै कारण गत वर्षायाममा उद्योगले एकातिर बिजुली नपाउने तर अर्कातिर प्राधिकरणले पाँच सय मेगावाटसम्म विद्युत् खेर फाल्न परेको थियो । हेटाँैडा–भरतपुर–बर्दघाट प्रसारणलाइनमार्पmत पाँच सय मेगावाटसम्म नियमित विद्युत् प्रवाह गर्न सकिन्छ ।

यो प्रसारणलाइन निर्माणको काम समयमै सम्पन्न गर्न प्राधिकरणले निरन्तर प्रयास गरिरहेको नेपाल विद्युत् प्राधिकरण प्रसारण निर्देशनालयका प्रमुुख तथा उपकार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले बताउनुभयो । “यो प्रसारणलाइन तुरुन्त सम्पन्न गर्नु मुलुककै विद्युत् प्रणाली स्थिरता र दिगोपनका लागि जरुरी छ,” श्रेष्ठले भन्नुभयो, “तर, उठेका समस्या समाधान हाम्रो हातमा नभएकाले हामी अफैँ समस्यामा छौँ । ”

रूखका कारण काम प्रभावित
उता, भरतपुरबाट हेटौँडा २२० केभी प्रसारणलाइन पनि रूख कटान आदेश नपाएर रोकिएको छ । चितवन र मकवानपुरका छ सामुदायिक वनमा गर्नुपर्ने रूख कटानको अनुमति नपाउँदा सो खण्ड पनि अवरुद्ध छ । कटान अनुमतिको फाइल वन मन्त्रालय तथा विभागमै अड्किँदा सो खण्डमा १७ वटा पोल गाड्ने तथा तार टाँग्ने कार्य अवरुद्ध हुन पुगेको संयोजक यादवले जानकारी दिनुभयो ।

आयोजनाले मकवानपुरको डाङ्डुङे, लेवट र चत्रदेवी सामुदायिक वन र चितवनका जयश्वरी ब्रह्मस्थान, शिखर हरियाली र नवजागृति सामुदायिक वनमा पर्ने सात हजार १४० रूख कटान अनुमतिका लागि एक वर्षपहिले नै वन विभागमा आवदेन दिएको थियो ।

तर, अझै अनुमति नपाएको उहाँले जानकारी गराउनुभयो । यो खण्ड पनि चालु आवभित्रै सम्पन्न गर्ने अपेक्षा प्राधिकरणको छ । हेटौँडा–भरतपुर–वर्दघाट प्रसारणलाइनलाई हेटौँडा–ढल्केबर–इनरुवा चार सय केभी प्रसारणलाइनमा जोडेर पूर्व–पश्चिम विद्युत् प्रवाहलाई भरपर्दो र गुणस्तरीय बनाउने सरकारको योजना हो । सोअनुरूप पूर्वी नेपाल तथा हेटौँडा–ढल्केबर–इनरुवा चार सय केभी प्रसारणलाइनसँग पनि आबद्ध गर्न लागिएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?