logo
२०८१ बैशाख ८ शनिवार



सिमेन्ट उद्योगलाई चौध अर्ब स्वीकृत

अर्थ |


सिमेन्ट उद्योगलाई चौध अर्ब स्वीकृत


काठमाडौँ, चैत १८ गते । सरकारले कर्णाली प्रदेशमा स्थापना हुन लागेको पहिलो सिमेन्ट उद्योग सूर्यतारा सिमेन्ट उद्योगलाई १४ अर्ब लगानी गर्न स्वीकृति दिएको छ । प्रधानमन्त्री तथा लगानी बोर्डका अध्यक्ष शेरबहादुर देउवाको अध्यक्षतामा बिहीबार बसेको लगानी बोर्डको ५०औँ बैठकले योसहित रासायनिक मल कारखाना स्थापनाका लागि सम्भाव्यता अध्ययन गर्न एक जर्मनी कम्पनीलाई अनुमति दिने निर्णय पनि गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न उक्त बैठकले सूर्यतारा सिमेन्ट परियोजनाको निर्माण, सञ्चालन एवं व्यवस्थापनका लागि १४ अर्ब २७ करोड ५० लाख रुपियाँ बराबरको लगानी गर्न स्वीकृति दिएको बोर्डको कार्यालयले जनाएको छ । सोही बैठकले नवलपरासीको बर्दघाटमा रासायनिक मल कारखाना स्थापना गर्न समझदारी गरी विस्तृत सम्भाव्यता अध्ययनका लागि जर्मनी कम्पनी डीआईएजी इन्डस्ट्रिज जीएमबीएचलाई अनुमतिपत्र दिनेसमेत निर्णय गरेको छ । बैठकले तल्लो अरुण जलविद्युत् परियोजनाका लागि पेस भएकोे विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) स्वीकृत गरेको छ ।

बैठकले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल परियोजनाको विकास तथा लगानीको ढाँचा र अरुण ३ जलविद्युत् परियोजनाबाट प्राप्त हुने निःशुल्क ऊर्जा बिक्री तथा सोबाहेकको अतिरिक्त ऊर्जा खरिद गर्ने विषयमा विस्तृत अध्ययन गर्न राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेलको संयोजकत्वमा दुई छुट्टाछुट्टै अध्ययन समिति पनि गठन गरेको छ । लगानी बोर्ड बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले बढ्दो व्यापार घाटा, घट्दो विप्रेषण तथा कसिलो तरलताको समस्याबाट उन्मुक्ति पाउन गुणस्तरीय लगानी भिœयाउनु पर्नेमा जोड दिनुभएको थियो । उहाँले राष्ट्रको आर्थिक समृद्धिको जग निर्माण गर्न ज्ञान, सीप, पुँजी र प्रविधिको मुख्य भूमिका रहने भएकाले पुँजी र प्रविधि भित्र्याउन लगानी बोर्डको कार्यालयलाई विशेष पहल गर्न निर्देशन दिनुभयो । हालसम्म बोर्डले गरेका प्रयासको सराहना गर्दै लगानी बोर्डले गरेका निर्णय शीघ्रताका साथ कार्यान्वयन गर्न सबै मन्त्रालय÷निकायलाई निर्देशन दिनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?