logo
२०८० चैत्र १५ बिहीवार



बिजुली आपूर्तिमा सकस

अर्थ |


बिजुली आपूर्तिमा सकस


काठमाडौँ, चैत १० गते । भारतबाट विद्युत् आयातमा देखिएको समस्या समाधान गर्न सरकारले नै पहल गर्नुपर्ने देखिएको छ । भारतमै विद्युत् उत्पादन तथा आपूर्ति प्रभावित भएर महँगो पर्दा नेपालले खुला बजार प्रतिस्पर्धा र बिहारमार्फत नियमित दरमा आपूर्ति हुने विद्युत् प्राप्त गर्न नसक्दा मङ्गलबार रातिदेखि देशका औद्योगिक क्षेत्रमा विद्युत् आपूर्ति घटेको छ । समस्या शुक्रबारसम्म रहिरहन सक्ने आकलन नेपाल विद्युत् प्राधिकरणको छ ।
विद्युत् आयात अवरुद्ध भएसँगै नेपाल विद्युत् प्राधिकरणले धेरै खपत गर्ने औद्योगिक ग्राहकलाई दिन सकेको छैन । प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईका अनुसार भारतीय छ रुपियाँ १८ पैसामा बिहारबाट खरिद गर्ने विद्युत् पनि बिहारले रोक्दा आपूर्तिमा समस्या परेको हो ।

विद्युत् आपूर्ति व्यवस्था र बजारमा अस्वाभाविक अवस्था आएको भन्दै बिहार इलेक्ट्रिसिटी बोर्डमार्फत प्राधिकरणलाई विद्युत् आपूर्ति नहुने सूचना आएको थियो । करिब २० भारतीय रुपियाँ (भारु)मा खरिद गरेर सस्तोमा आपूर्ति गर्न नसक्ने भन्दै मङ्गलबार साँझ बिहारले बिजुली रोकेको थियो ।

मङ्गलबार प्राधिकरणले बुधबारका लागि इन्डियन इनर्जी एक्सचेन्ज (आईआईएक्स)मार्फत ९६ स्लटमा विद्युत् खरिदका लागि प्रतिस्पर्धा गरेको थियो । विद्युत्को प्रतिस्पर्धात्मक भारतीय बजार आईआईएक्समा आवश्यकताअनुसार १५ मिनेटका स्लटमा बोलकबोल गर्नुपर्ने हुन्छ तर नेपालका तर्फबाट प्रस्तावित महसुल कम भएपछि प्राधिकरणले बिजुली पाएन ।

अघिल्ला दिनहरूको औसत मूल्य पछ्याउँदै बुधबारका लागि नेपालले औसत करिब आठ भारतीय रुपियाँमा प्रस्ताव गरेको थियो । त्यसमा कम परिमाणका चार स्लटमा मात्र नेपालले बिजुली पायो । बिहीबारको बोल कबोलमा प्राधिकरणका तर्फबाट केही बढेर भारु १२ मा बिड गरेको थियो तर पनि थोरै परिमाणका छवटा स्लट मात्र किन्न सकेको छ । बिहीबारका लागि भारतीय बजारमा प्रतियुनिट औसत भारु १५.२७ कायम भएको छ । यसअनुसार उद्योगको विद्युत् आपूर्ति अवरोध अझै केही दिन कायम हुने देखिएको छ । यद्यपि दिउँसोको समयमा आंशिक आपूर्ति भइरहेको भनाइ प्राधिकरणको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार भारतको ऊर्जा सङ्कट केही दिनको वा महिनाको हुने हो निश्चित छैन । “केही दिनको मात्र समस्या भए त महँगोमै भए पनि किनेर आपूर्ति पर्याप्त गर्छौं । महिनाँै हुने अवस्थामा भने सरकारले पनि आवश्यक निर्णय लिनु्पर्ने हुन्छ,” उहाँले भन्नुभयो ।

प्राधिकरणले महँगोमै बिजुली किनेर भए पनि आपूर्ति गर्ने आँट लिन नसक्दा औद्योगिक क्षेत्रमा विद्युत् आपूर्ति प्रभावित भएको छ । “हामीले विभिन्न मापदण्डमा रहेर एजेन्टमार्फत बिडिङ गर्ने हो तर भारतीय बजारमा नै आपूर्ति समस्या हुँदा हामीले प्रस्ताव गरेको दरमा बिजुली पाउन समस्या परिरहेको छ,” भट्टराईले भन्नुभयो ।

युक्रेन र रुसबीचको युद्धका कारण भारतले पर्याप्त कोइला आयात गर्न नसक्दा र भएको आयात पनि महँगो परेकाले पर्याप्त विद्युत् उत्पादन भएको छैन । यसले गर्दा विद्युत् महँगो भएको हो ।प्राधिकरण भने महँगोमै भए पनि खरिद गर्न एक्लै आँट नगरेको देखिएको छ । २० भारतीय रुपियाँकै नजिक पुगेर बिड गर्ने हो भने बिजुली पाउने अवस्था रहन्छ ।

नेपाल आइपुग्दा हुने प्राविधिक चुहावट, ह्विलिङ चार्ज र कमिसनका कारण त्यसको मूल्य करिब ३८ रुपियाँ पर्न जान्छ । ३८ रुपियाँमा किनेर आठ रुपियाँ ५० पैसा (औद्योगिक ग्राहकको औसत बिक्री मूल्य)मा बेच्दा वित्तीय भार उच्च पर्ने हुन्छ ।अहिले नेपालमा दैनिक करिब ३० हजार मेगावाट/घण्टा बिजुली खपत हुन्छ । यसमध्ये भारतीय विद्युत्को हिस्सा १२ हजार मेगावाट/घण्टासम्म पुग्छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?