logo
२०८१ बैशाख २३ आईतवार



चुलिँदै चुनौती

विदेशी विनिमय सञ्चितिले वस्तु तथा सेवा आयातका लागि साढे छ महिनासम्म मात्र थेग्न सक्छ

अर्थ |


चुलिँदै चुनौती


काठमाडौँ, माघ २८ गते । मुलुकको आर्थिक/वित्तीय अवस्थाको चुनौती चुलिँदै गएको देखिएको छ । नेपाल राष्ट्र बैङ्कले बुधबार सार्वजनिक गरेको चालू आर्थिक वर्ष (२०७८/७९)को अर्धवार्षिक आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी प्रतिवेदनले अर्थतन्त्रको अवस्था चुनौतीपूर्ण देखाएको हो ।

प्रतिवेदनले पछिल्लो छ महिनामा विदेशी मुद्रा सञ्चितिको अवस्था हाललाई चुनौतीपूर्ण रहे पनि अब सुधार गर्न नसके सङ्कटपूर्ण हुने देखाएको छ । चालू आर्थिक वर्षको छ महिनाको अवधिमा विदेशी विनिमय सञ्चिति नौ अर्ब ८९ करोड अमेरिकी डलरमा सीमित भएको छ । यो भनेको नेपालले वस्तु तथा सेवा आयातका लागि साढे छ महिनासम्म मात्र थेग्न सक्छ । अन्तर्राष्ट्रिय मुद्रा कोषको मापदण्डअनुसार नेपालजस्तो मुलुकले कम्तीमा पनि छ महिनाको वस्तु तथा सेवा आयात धान्ने अवस्था हुनुपर्ने औँल्याएको छ । योभन्दा कमलाई सङ्कटपूर्ण मानिन्छ ।

चुलिँदो वस्तु तथा सेवा आयातले विदेशी विनिमय सञ्चितिमा चाप पारेको राष्ट्र बैङ्कको प्रतिवेदनले औँल्याएको छ । अघिल्लो आर्थिक वर्षको पहिलो छ महिनामा निर्यात आयात अनुपात ९.२ प्रतिशत रहेकामा अहिले ११.९ प्रतिशत पुगेको छ ।

समीक्षा अवधिमा कुल वस्तु आयात ५१.१ प्रतिशतले वृद्धि भई नौ खर्ब ९९ अर्ब ३४ करोड रुपियाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ४.८ प्रतिशतले घटेको थियो । यसै अवधिमा कुल वस्तु निर्यात ९५.५ प्रतिशतले वृद्धि भई एक खर्ब १८ अर्ब ८५ करोड रुपियाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ६.१ प्रतिशतले वृद्धि भएको थियो । प्रतिवेदनले भारतबाट मात्रै एक खर्ब १० अर्ब ९१ करोड रुपियाँ बराबरको आयात विदेशी मुद्रा भुक्तानी गरेरै भएको देखाएको छ ।

विदेशी मुद्रा सञ्चिति बढाउन मुख्य योगदान दिने विप्रेषण भित्रिने क्रम अमेरिकी डलरमा ६.२ प्रतिशतले खस्केको छ जब कि गत आर्थिक वर्षमा विप्रेषण ६.७ प्रतिशतले बढेको थियो । पछिल्लो छ महिनामा चार खर्ब ४६ अर्ब ४५ करोड रुपियाँ कायम भएको छ ।

नेपाल राष्ट्र बैङ्कका पूर्वगभर्नर डा. चिरञ्जीवी नेपालका अनुसार अर्थतन्त्रमा खतराको घण्टी बजेको छ । “भुक्तानी सन्तुलन न्यूनतम सीमामा पुग्नु भनेको खतराको घण्टी बजेको भनेर सबै सरोकारवालाले बुझ्नु जरुरी छ । आयातलाई तुरुन्तै नियन्त्रणमा राख्नुुपर्छ, पहिलो ध्यान विदेशी मुद्रा सञ्चिति जोगाउनेमा हुनुपर्छ,” उहाँले भन्नुभयो ।

अहिले कुल वस्तु व्यापार घाटा ४६.६ प्रतिशतले वृद्धि भई आठ खर्ब ८० अर्ब ४९ करोड रुपियाँ पुगेको छ । जब कि अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो घाटा ५.८ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा चालू खाता तीन खर्ब ५४ अर्ब सात करोड रुपियाँले घाटामा देखिएको छ । अघिल्लो वर्षको सोही अवधिमा चालू खाता ५१ अर्ब ६८ करोड रुपियाँले घाटामा रहेको थियो । राष्ट्र बैङ्कका प्रवक्ता डा. गुणाकर भट्टका अनुसार अवस्था चिन्ताजनक नभए पनि चुनौतीपूर्ण भने छ । “बाह्य क्षेत्र व्यवस्थापनमा अझै चनाखो बन्नुपर्छ । उच्च आयात रोक्ने र रेमिट्यान्स घट्नुको कारण खोजेर समाधान खोज्नुपर्छ ।

वस्तु आयातमा थप कडाइ
यसैबीच नेपाल राष्ट्र बैङ्कको विदेशी विनिमय व्यवस्थापन विभागले बुधबार ‘तोकिएका वस्तुहरू अनिवार्य रूपमा मार्जिन राखी प्रतीतपत्रमार्फत मात्र आयात गर्न सकिने व्यवस्था गरिएकोसम्बन्धी सूचना जारी गर्दै थप २७ वटा वस्तु आयातमा कडाइ गरेको छ । थप गरिएको आयातको कडाइमा २३ वटा वस्तु आयातमा शतप्रतिशत मार्जिन र चारवटामा ५० प्रतिशत मार्जिनको व्यवस्था गरेको हो ।

यससँगै अब विदेशबाट ४१ वस्तुमा शतप्रतिशत र छवटा वस्तुमा ५० प्रतिशत मार्जिन राख्नुपर्ने भएको छ । यसअघि नै राष्ट्र बैङ्कले १८ वटा वस्तु आयातमा शतप्रतिशत र दुईवटामा ५० प्रतिशत मार्जिन राख्नुपर्ने व्यवस्था गरिसकेको छ । देशको शोधानान्तर घाटा र घट्दो विदेशी मुद्रा सञ्चितिमा सुधार नभएपछि थप कडाइ गरिएको नेपाल राष्ट्र बैङ्कका प्रवक्ता डा. गुणाकर भट्टले जानकारी दिनुभयो । थप गरिएका वस्तुमा गेडागुडी, पिठो, पिना, कपडा, धातु, ड्राइफ्रुटलगायत छन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?