logo
२०८१ बैशाख ६ बिहीवार

   एमसीसी अन्तर्गतको सडक   



नयाँ प्रविधिको प्रयोग

अर्थ |


नयाँ प्रविधिको प्रयोग


काठमाडौंँ, फागुन १८ गते । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को अनुदान सहायतामा बन्ने सडक मर्मत आयोजना डिजाइनको काम आधा सकिएको एमसीए नेपालले जनाएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत प्रदेश ५ को धानखोलादेखि भालुवाङ हुँदै लमही र त्यसपछि लमहीदेखि दाङ र बाँकेको सिमाना शिवखोलासम्म आधुनिक पद्धतिमार्फत मर्मत गर्ने तयारीका काम जारी रहेको जनाइएको छ ।

करिब पाँच करोड २२ लाख अमेरिकी डलरको लगानीमा सञ्चालन गर्न लागिएको यो सडक मर्मत आयोजना डिजाइनको काम स्वीडिस परामर्शदाता कम्पनी स्वीको (एसडब्लुईसीओ)ले गरिरहेको छ । कम्पनीले छ महिनामा प्रतिवेदन बुझाउनेगरी तीन महिना पहिलेदेखि नै काम थालेको थियो । डिजाइन प्राप्त भएपछि वातावरणीय अध्ययनको काम र अन्तर्राष्ट्रिय बोलपत्रको तयारी थालिने एमसीए नेपालका आयोजना कार्यान्वयन एकाइका उपकार्यकारी निर्देशक महेश आचार्यले जानकारी दिनुभयो ।

आयोजनाका लागि जग्गा प्राप्ति तथा रुख कटानलगायतका समस्या नदेखिएकाले आयोजना कार्यान्वयन सहज र छिटो हुने अपेक्षा आचार्यको छ । राजमार्गको हालकै भोगाधिकार क्षेत्रभित्रै दुुई लेनमा आधुनिक सडक बनाउन लागिएको हो । मानव बस्तीका क्षेत्रमा फुटपाथलगायतका संरचना पनि यसमा बनाइनेछ ।

नयाँ प्रविधिमार्फत गुणस्तरीय सडक
एमसीए नेपालले ७७ किलोमिटर लामो सो सडक खण्डलाई दुई चरणमा विकास गर्न लागेको हो । धानखोलादेखि लमहीसम्मको खण्ड नमुना परियोजनाका रूपमा पहिलो चरणमा तयार हुनेछ । त्यसपछि लमही शिवखोलाखण्डको काम हुनेछ । आचार्यका अनुसार विश्वमै आधुनिक र बलियो मानिएका पेभमेन्ट रिसाइक्लिङ र सुपेरियर पर्फर्मिङ आस्फाल्ट पेभमेन्ट विधि (सुपरपेभ) यो काममा प्रयोग हुनेछ । पेभमेन्ट रिसाइक्लिङले सडकलाई तल्लो तहदेखि नै उत्खनन गर्ने र सिमेन्टसहितको मिश्रणले मजबुत बनाउनेछ । यसका लागि फुल डेफ्थ रिक्लेमेसनका विशेष उपकरण प्रयोग गरिनेछ ।

त्यसपछि सुपरपेभ प्रविधिमार्पmत अन्तर्राष्ट्रिय स्तरको कालोपत्रे गर्न लागिएको छ । आचार्यका अनुसार यी कामका लागि त्यस्ता उपकरण नेपालमा प्रयोग भएको छैन । आचार्यले भन्नुभयो, “हामीले अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गर्दा यी सबै कुरा र मापदण्ड खुलाउनेछाैं र छनोट हुने निर्माण कम्पनीले यी उपकरण ल्याउनेछन् । ” नयाँ प्रविधिले सवारीको चाप बढी भएका, काम गर्न कठिन एवं निर्माणकार्यका लागि लामो समय लाग्नेजस्ता साँघुरा सडकमा काम गर्दा आइपर्ने केही समस्यालाई सम्बोधन गर्ने जनाइएको छ ।

सीप तथा प्रविधि हस्तान्तरण
सडक मर्मतको यो आधुनिक विधि नेपाली जनशक्तिले पनि जान्न र सिक्न पाउनेगरी काम भइरहेको आचार्य बताउनुहुन्छ । सडक विभाग र सडक बोर्ड नेपालसँगको सहकार्यमा सबै काम हुने र त्यसका लागि त्यहाँका प्राविधिक तथा अन्य जनशक्तिलाई तालिम तथा प्रशिक्षण दिइसकेको जानकारी दिनुभयो । निर्माणमा सम्भव भएसम्म स्वदेशी जनशक्ति नै खपत गर्ने रणनीति रहेको एमसीए नेपालले बताउँदै आएको छ । “यो आयोजनाको उद्देश्य सडक मर्मतमात्र होइन, सडक विभाग तथा सडक बोर्ड नेपालको निर्माण क्षमता अभिवृद्धिका लागि प्राविधिक सहयोग उपलब्ध गराउने पनि हो,” उहाँले भन्नुभयो, “सडक निर्माणको गुणस्तर परीक्षणका लागि अत्याधुनिक उपकरणजडित प्रयोगशाला बनाएर त्यसको सञ्चालन विधि पनि प्राविधिकलाई सिकाइ सकिएको छ । ”

सडकको बलियोपन र भारवहन क्षमता परीक्षणका लागि फलिङ वेट डिफेक्टोमिटर पनि भिœयाइसकेको उहाँले जानकारी दिनुभयो । आयोजनाअन्तर्गत उपलब्ध गराइने प्राविधिक सहयोगले सडक मर्मतसम्भारसम्बन्धी योजना तर्जुमा, मूल्याङ्कन तथा नियमित एवं आवधिक मर्मतसम्भार कार्य कार्यान्वयनसम्बन्धी सडक विभाग तथा सडक बोर्ड नेपालको क्षमता अभिवृद्धि गर्ने एमसीए नेपालले उल्लेख गरेको छ ।

मिलान कोष (म्याचिङ फन्ड)
सडक मर्मत आयोजनाअन्तर्गत एमसीएले एक मिलान कोषसमेत स्थापना गर्ने भएको छ । मुलुकभरको सडक मर्मतकार्यलाई अझै तीव्र र आधुनिक बनाउने उद्देश्यले यस्तो कोष व्यवस्था गरिएको हो । सरकारले आवधिक सडक मर्मत–सम्भार कार्यमा हाल खर्च गरिरहेको औसत वार्षिक बजेट थप रकम खर्च गरेमा सो रकमको दोब्बरका हिसाबले साढे चार करोड अमेरिकी डलरसम्म रकम उपलब्ध गराउने योजना छ । मिलान कोषको रकम पनि परियोजना अवधिभित्रै सदुपयोग हुनुपर्ने प्रावधान राखिएको छ । सडक मर्मत–सम्भारमा सरकारलाई थप खर्च गराउन प्रोत्साहित गराउनका लागि यो कोष उपयोग गरिने एमसीए नेपालले उल्लेख गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?