logo
२०८० चैत्र १६ शुक्रवार



मूल्याङ्कनमा अधिकारको दुरुपयोग

शिक्षा |
राष्ट्रिय |


मूल्याङ्कनमा अधिकारको दुरुपयोग


प्रकृति अधिकारी

कोहलपुर (बाँके), भदौ ९ गते । गत २०७६ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)का विद्यार्थीको मूल्याङ्कन गर्न प्रदान गरिएको अधिकारको विद्यालयले दुरुपयोग गरेको पाइएको छ । विगत तीन वर्षको नतिजा तुलना गर्दा शिक्षकले अधिकार दुरुपयोग गरेको पुष्टि हुन्छ ।
कोरोना भाइरस (कोभिड–१९) का कारण परीक्षा नभएपछि सम्बन्धित विद्यालयका शिक्षकले नै अङ्क प्रदान गरी शिक्षा विकास तथा समन्वय एकाइमा पठाउने, त्यसलाई एकाइले राष्ट्रिय परीक्षा बोर्डमा पठाउने र बोर्डले प्रमाणीकरण गरी प्रमाणपत्र जारी गर्ने व्यवस्था गरिए अनुरूप विद्यालयले विद्यार्थीको ल्याकतभन्दा बढी अङ्क दिएको पाइएको हो । बोर्डले विद्यालयले नै पठाएको अङ्कलाई अक्षराङ्कनमा परिवर्तन गरेको हो ।
२०७६ सालको एसईईमा स्तरीकृत अङ्क (जीपीए) ३.६ देखि ४.० प्राप्त गर्ने विद्यार्थी ७८ हजार १०९ रहेको पाइएको छ । जब कि जीपीए ३.६ देखि ४.० प्राप्त गर्ने २०७४ सालमा १८ हजार ३७ जना र २०७५ सालमा १७ हजार ५८० जना थिए । गत वर्षको नतिजा अस्वाभाविक भएको विश्लेषण गरिएको छ । परीक्षा नियन्त्रण कार्यालयका अनुसार २०७४ सालमा करिब चार लाख ५३ हजार, २०७५ सालमा करिब चार लाख ५९ हजार र २०७६ सालमा करिब चार लाख ८२ हजार विद्यार्थी थिए । २०७६ सालको एसईईमा जीपीए ४.० ल्याउने नौ हजार ३०९ रहे । जब कि २०७४ सालमा ७४ जना र २०७५ सालमा १०६ जना थिए । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले सत्यापन गर्ने अधिकार दिइएन । जे विद्यालयले पठाए, त्यसैका आधारमा प्रमाणीकरण गरियो भन्नुभयो ।
कक्षा–१० का विद्यार्थीको अन्तिम नतिजाका आधारमा विद्यालयले मूल्याङ्कन गरेको हो । कतिपय विद्यालयले अन्तिम परीक्षा लिएका थिएनन् र एसईई परीक्षामा सम्मिलित भएका भए प्राप्त गर्न सक्ने अनुमानित प्राप्ताङ्क दिएर पठाएका थिए भने कतिपय विद्यार्थी तथा अभिभावकको दबाबमा बढी अङ्क दिएका थिए । कतिपय विद्यालयले यसलाई सुवर्ण अवसरका रूपमा लिँदै जथाभावी अङ्क दिएका थिए ।
पनिका सूत्रबाट प्राप्त नतिजा अनुसार २०७६ सालमा विद्यालयले सबैभन्दा बढी जीपीए २.४ देखि २.८ का बीचमा विद्यार्थीको मूल्याङ्कन गरेका छन् ।
कोभिड–१९ को असरले छ महिना बितिसकेको छ । त्यो बेला नै रोकिएको कक्षा–१२ को परीक्षा अहिले पनि सञ्चालन हुनसक्ने अवस्था छैन । त्यसैले त्यो बेला सरकारले एसईईको नतिजा तयार गर्ने जुन विधि अपनाएको थियो सो असल नियत र विश्वमा भएको अभ्यास अनुरूप नै थियो तर शिक्षकको गलत नियतका कारण नतिजा अस्वाभाविक देखिएको हो ।
बोर्डका अध्यक्ष डा. पौडेलले आफूहरूले परीक्षा सञ्चालन नगरेकाले विगतको भन्दा अहिलेको नतिजाबीच तुलना नगरेको प्रस्ट गर्दै यसमा भएका समस्याबारे पनि आफूहरूले विश्लेषण नगर्ने बताउनुभयो ।
नेपाल शिक्षक महासङ्घका महासचिव लक्ष्मीकिशोर सुवेदीले यस मामिलामा विद्यार्थी सरासर निर्दाेष भएको बताउँदै कहीँ कसैले गलत गरेको हुनसक्छ तर तोकिएको विधि र प्रक्रियाबाट नतिजा विश्वसनीय छ भन्ने मान्यतामा हामी छौँ भन्नुभयो । शिक्षाविद् प्रा.डा. मनप्रसाद वाग्लेले आगामी दिनमा पनि एसईईको मूल्याङ्कन विधि अहिलेकै अनुसार हुनुपर्ने तर्क गर्दै पहिलो वर्ष भएकाले शिक्षक अन्योलमा परेका हुन सक्छन् । यस वर्षको एसईईको नतिजामा दोष दिनुभन्दा नतिजा राष्ट्रिय परीक्षा बोर्डसम्म नलगी विद्यालयल(ाई नै जिम्मेवार बनाउनुपर्छ । त्यस्तो हुन सके शिक्षक उत्तरदायी हुन्छन् र जथाभावी हुन पाउँदैन भन्नुभयो ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?