logo
२०८० चैत्र १६ शुक्रवार



भारत भ्रमण सकारात्मक र महत्त्वपूर्ण

मुख्य समाचार |


भारत भ्रमण सकारात्मक र महत्त्वपूर्ण


काठमाडौँ, चैत २१ गते । प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण दुई देशबीच अल्झिएका थुप्रै विषयलाई समाधान गर्न राजनीतिक तथा कूटनीतिक तहमा सकारात्मक वातावरण तयार गर्न सार्थक बनेको प्रतिक्रिया विज्ञहरूले दिनुभएको छ । भारतका लागि नेपालका पूर्वराजदूत नीलाम्बर आचार्यले लामो अन्तरालपछि नेपालका प्रधानमन्त्रीको भारतको औपचारिक भ्रमण भएकाले यसको महìव भएको बताउँदै भन्नुभयो, “दुई देशबीच केही समस्या थिए, त्यसको पृष्ठभूमिमा भएको भ्रमणलाई सकारात्मक र महìवपूर्ण रूपमा हेरिनुपर्छ । यो सम्बन्धको सुरुवात हो ।”

विशेषगरी कालापानी, लिपुलेक र लिम्पियाधुरालाई समेटेर नेपालले नयाँ नक्सा जारी गरेपछि दुई देशबीचको सम्बन्धमा चिसोपन बढेको थियो । सुरुमा भारतले नेपाली भूमि समेटेर एकपक्षीय रूपमा नयाँ नक्सा जारी गरेको थियो । त्यसलगत्तै नेपालले पनि भारतबाट अतिक्रमण गरिएको नेपाली भूमिसहितको चुच्चे नक्सा जारी गरेको थियो ।

यस घटनापछि दुवै देशका नेतृत्वबीच संवादविहीन अवस्था सिर्जना भएको थियो । प्रधानमन्त्री देउवाको भ्रमणबाट दुवै देशको सम्बन्धमा देखिएको चिसोपन हट्नुका साथै सीमा समस्या समाधान गर्ने दिशामा आशाका किरण देखिएको विज्ञहरूले बताउनुभयो ।
भारतका लागि नेपालका अर्का पूर्वराजदूत प्रा.डा. लोकराज बरालले भारतीय विदेश सचिव हर्षबर्धन शृङ्गलाले सीमाका बारेमा राखेको धारणा सकारात्मक रहेको बताउँदै भन्नुभयो, “संयन्त्रमार्फत सीमा विवादलाई समाधान गर्ने कुरा सकारात्मक हो, यस विषयलाई राजनीतीकरण नगर्ने र संयमित रूपले समाधान गर्ने प्रतिबद्धता आउनु राम्रो कुरा हो ।”

प्रधानमन्त्री देउवाले शनिबार नयाँदिल्लीस्थित हैदराबाद हाउसमा सम्बोधन गर्दा नेपाल–भारतबीचको सम्बन्धलाई नयाँ उचाइ दिने विश्वास व्यक्त गर्नुभएको थियो भने भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पनि नेपाल–भारतबीचको जस्तो सम्बन्ध विश्वमा अन्यत्र कतै नभएको बताउनुभएको थियो । भारतका लागि नेपालका पूर्वराजदूत डा. भेषबहादुर थापाले द्विपक्षीय वार्तापछि छिमेकीका बीचमा समझदारी बढाउन मद्दत मिलेको बताउनुभयो ।

“सम्बन्ध सुधारका दृष्टिकोणले छिमेकी मुलुकको भ्रमण गरिन्छ र प्रधानमन्त्री देउवाको भ्रमण पनि त्यसैको सिलसिला हो,” उहाँले भन्नुभयो, “सम्पर्क बढाएर समझदारी कायम गरिन्छ र सहज परिस्थिति निर्माण गरेर मैत्रीपूर्ण सम्बन्ध स्थापित गरिन्छ । यो भ्रमणले यही काम गरेको छ ।” आगामी दिनमा थप भ्रमण गर्नुपर्छ र छलफल गरेर निकास निस्कन्छ भन्ने सन्देश दिएको उल्लेख गर्दै पूर्वराजदूत आचार्यले आगामी भ्रमणका लागि ढोका खुल्नु राम्रो हो भन्नुभयो । “भारतीय विदेश सचिवले बङ्गलादेशसँगको सीमा विवाद समाधान गरिएको सन्दर्भ प्रस्तुत गर्दै नेपालसँगको सीमा समस्या समाधान गर्न सकिने भनिदिनुभएको दृष्टिकोणलाई सकारात्मक रूपमा लिनुपर्छ,” आचार्यले भन्नुभयो ।

पूर्वराजदूत डा. बरालले बिजुली, रेलवेलगायत विषयमा भएका प्रतिबद्धता जायज र उपलब्धिमूलक रहेको टिप्पणी गर्दै अब कार्यान्वयन पक्षलाई हेर्नुपर्ने बताउनुभयो । कूटनीतिज्ञ डा. थापाले कतिपय विषयमा नेतृत्व तहलाई बोध गराउँदा सहज हुने र त्यसले समाधानको ढोका खोल्न सहज हुने भन्दै थप्नुभयो, “मुख्य कुरा दुई देशबीचको घनिष्ठताले पुनः निरन्तरता पाएको छ ।”

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?