logo
२०७९ असार २० सोमवार



बेग्लै छ माइतीघरको चिच्याहट

खुला |


बेग्लै छ माइतीघरको चिच्याहट


काठमाडौँ, फागुन ७ गते । ‘जिन्दावाद !... मुर्दावाद !’ सिंहदरबारलाई आफ्ना माग र मुद्दा सुनाउन यसरी चिच्याउने स्थलमा परिणत भएको छ काठमाडौँको माइतीघर मण्डला । तर सिंहदरबार सुन्छ वा सुन्दैन ? थाहा नभए पनि नसा चुँडिने गरी चिच्याउन आन्दोलनकारी चुक्दैनन् ।

माइतीघरकै सडक हुँदै बन्द गाडीमा मन्त्री गुड्छन्, मन्त्रालयका सचिव गुड्छन्, जिम्मेवार पदाधिकारी गुड्छन् । तिनले कति सुन्छन् आन्दोलनकारीलाई वास्ता हुँदैन । साधारण बटुवाले चाहिँ ती आवाज मजाले सुन्छन् । अनि फुर्सद हुनेहरू उभिएर रमिता हेर्छन् । भाषण सुन्छन् । चासो नहुने चाहिँ दिनदिनैको नाराबाजी यस्तै हो भनेर बाटो लाग्छन् ।

आन्दोलन गर्न विद्यार्थीदेखि प्रमुख राजनीतिक दलका शीर्ष नेतासम्म त्यहाँ पुग्छन् । यसै भएर माइतीघर वरपरको व्यवसाय बढेको पनि छ । कुनै व्यवसायी वाक्क दिक्क मान्छन्, कोही दिनदिनै भए जीविकोपार्जन गर्न काइदै हुन्छ भन्ने ठान्छन् । आन्दोलनको समय कार्यालय समयकै आसपास हुन्छ । प्रायः बिहान ११ देखि अपराह्न ४ बजेसम्म त्यो स्थल खाली नै हुँदैन ।

२०५८ पुसमा काठमाडौँमा सम्पन्न दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)को ११औँ शिखर सम्मेलनताका माइतीघरको घुमाउनेमा रहेका घरहरू विस्थापन गरी अहिलेको मण्डला बनाइएको हो । त्यसपछिका दिनमा त्यसै मण्डलामा उभिएर आन्दोलन हुन थालेका हुन् । अचेल त्यहाँ प्रतिबन्ध लगाइएपछि मण्डलाको दक्षिणतर्फको सर्भिस लेनमा आन्दोलनका विभिन्न कार्यक्रम गरिन्छन् ।

कसको माइतीघर ?
माइतीघर कसको होला ? कसैको होइन । यसको नामकरणको बेग्लै तथ्य छ । माइतीघर सिनेमा बन्दा हाल सेन्ट जेभियर्स कलेज रहेको स्थान नजिक फिल्म प्रोडक्सन कार्यालय स्थापना गरिएको थियो । सो कार्यालयमा झुन्ड्याइएको बोर्डमा ठूलो अक्षरले माइतीघर लेखिएको थियो । माइतीघर नामबाट पुकारिन थालियो र अन्ततः स्थानको नाम नै माइतीघर रहन पुग्यो ।

थापाथली हाइटका स्थानीय बासिन्दा नेपालका पहिलो गभर्नर हिमालय शमशेर जबराले काठमाडौँ विमानस्थल बनेपछि हालको माइतीघर हुँदै विमानस्थलसम्मको बाटो खोलिएको स्मरण गर्दै भन्नुभयो, “हाल माइतीघर मण्डला भएको ठाउँमा वीरशमशेरका सन्तानको बगैँचा थियो । त्योभन्दा बाहिर बाटो थियो । विमानस्थल बनेपछि सडक विस्तार गर्दा त्यो बगैँचा भत्काइयो र चौबाटो बन्यो ।”

पालो नपाए कुटाकुट
सर्भिस लेनसँग जोडिएको वैभव जानकी भोजनालयकी सञ्चालिका जानुका तिमिल्सिना आफूले रेस्टुरेन्ट सञ्चालन गरेकाले आन्दोलनका कारण ‘डिस्टर्ब’ भयो भन्न नपाइएको बताउनुहुन्छ । “आन्दोलनमा आएकाले चिया खाजा मगाउँछन् । खाएर पैसा नतिर्दासम्म हेरेर बसिरहन पनि भएन । हुलमुलमा पैसा नै नतिरी भाग्छन् । त्यसैले व्यापार निकै राम्रो हुन्छ भन्न मिल्दैन,” उहाँले भन्नुभयो, “रेस्टुरेन्टमा एउटा शौचालय छ । पैसा तिरेर पानी किनेका हुन्छौँ, त्यही उनीहरूलाई दिनुपर्ने हुन्छ । शौचालय नदिन पनि भएन । दिउँ भने फोहोर गरिदिन्छन्, पालो पाइएन भनेर आफू आफूबीच त्यहीँ कुटाकुट गर्छन् ।”

त्यसो त माइतीघरमा आन्दोलन नभएका दिनमा पनि राजनीतिक घटनाक्रमका आधारमा सुरक्षाकर्मी खटाइने गरिएको छ । कुनैकुनै दिन त चार, पाँचवटा संस्थाका कार्यक्रम एकैपटक जुध्छन् । पालैपालो कार्यक्रम गरेर आफ्नो बाटोतर्फ लाग्छन् । तर त्यसपछि हुन्छ अर्कै कारोबार । आन्दोलन सकिएपछि आन्दोलन स्थलको दक्षिणतर्फको अर्काे साँघुरो तर एकान्त सडकमा सहभागीलाई पालैपालो लगेर रकम बाँड्ने गरेका दृश्य आफूले निकैपटक देखेको वरपरका व्यवसाय सञ्चालन गर्नेहरू सुनाउँछन् ।

आन्दोलन स्थलको दक्षिणतर्फका घरधनी तारा श्रेष्ठले शनिबार पाहुना आउने र शान्त वातावरणमा बस्न पाए हुन्थ्यो भन्ने सोचिन्छ तर दिउँसो त्यसरी बस्नै नपाउने गरेको गुनासो गर्दै भन्नुभयो, “कहिलेकाहीँ सन्चो हुँदैन । एकान्तमा बस्न पाए हुन्थ्यो भन्ने लाग्छ । तर ध्वनि प्रदूषणले निकै झर्काे लाग्छ ।” आन्दोलनकारीले आफूले यति सहभागी ल्याएको भनी कुराकानी गर्ने गरेको सुनिन्छ भन्दै उहाँले मानिस गन्ती गरेको आफूले देख्ने गरेको सुनाउनुभयो ।

वैभव जानकी भोजनालयकी सञ्चालिका जानुकाले हालैको घटना स्मरण गर्नुभयो, “एक जना बूढी आमालाई ‘यो उमेरमा जिन्दावाद ! मुर्दावाद ! गर्न किन आउनुभएको ?’ भन्दा ‘हिजो पाँच सय दिएका थिए, आज सात सय रुपियाँ दिन्छु भन्थे । खै कता गए उनीहरू ? खोजिरहेकी छु’ भन्नुहुन्थ्यो ।”

सँगैको क्लास नेपाल नामक संस्थाका कार्यक्रम अधिकृत दुर्गा भट्टले कहिलेकाहीँ पालोमा बस्नुपर्ने हुँदा एउटा समूहका आन्दोलनकारीले अर्काेको माग बडो ध्यान दिएर सुन्ने गरेको देखेको बताउनुभयो । उहाँले थप्नुभयो, “अहिलेसम्म त आन्दोलन शान्त नै रहने गरेको देखिन्छ । भागाभाग वा ढुङ्गामुढा हुँदैन । तिनका माग कति सुनुवाइ हुन्छ भन्ने त थाहा भएन तर खाजा पसलेहरूलाई राम्रै आम्दानी भएको देख्छौँ ।”

आन्दोलन स्थलसँग जोडिएको मण्डला प्रिन्टर्सका कर्मचारी अभिषेक निरौलाले आन्दोलनका बखत चुरोटको धुवाँको प्रदूषण बढी नै भोग्नुपरेको गुनासो गर्दै भन्नुभयो, “काममा असर पर्छ । दिमागलाई काममा ध्यानमग्न गर्न पाइँदैन । कहिलेकाहीँ एकदमै रिस उठ्छ । आन्दोलनका कारण ग्राहक आँदैनन्, असर पर्छ ।”

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?