logo
२०८० चैत्र १५ बिहीवार



धमाधम राजीनामा दिँदै शिक्षक

शिक्षा |


धमाधम राजीनामा दिँदै शिक्षक


प्रकृति अधिकारी

काठमाडौँ, पुस १ गते । सक्रिय राजनीतिमा लागेका सामुदायिक विद्यालयका शिक्षकहरूले धमाधम राजीनामा दिन थालेका छन् । निर्वाचन आयोग तथा सर्वोच्च र पाटन उच्च अदालतको आदेश, शिक्षा निकायको निर्देशन एवं सर्वसाधारणबाट समेत विरोधका कारण सक्रिय राजनीति नै छनोट गर्ने शिक्षकहरूमा नैतिक दबाब बढेको हो । फलतः पछिल्लो दुई सातामा साढे तीन सयभन्दा बढी शिक्षकले राजीनामा दिएका छन् । धेरैजसो शिक्षकको राजीनामा राजनीतिमै लाग्नका लागि रहेको पाइएको छ ।

राष्ट्रिय किताबखाना(शिक्षक)का महानिर्देशक रामराज खकुरेलले राजीनामा सनाखतका क्रममा कतिपय शिक्षकले केही समयपछि स्थानीय तहको निर्वाचन हुने भएकाले त्यसमा उम्मेदवारी दिन अहिलेदेखि नै तयारी गर्न राजीनामा दिएको पनि बताएको जनाउनुभयो । “राजनीतिक दलको महाधिवेशन प्रतिनिधि बनेका वा विभिन्न पदमा उम्मेदवारी दिएका कतिपय शिक्षकले सेवाबाट राजीनामा दिएर इमानदारी देखाए । उनीहरूले सक्रिय राजनीति नै रोजेका छन् । ”

बितेको दुई सातामा निवृत्तिभरणका लागि ३६७ जना, उपदानका लागि २५ जना र प्राविधिक ग्रेड कायम गर्न ७७ जना गरी ५०७ जना शिक्षकले आवेदन दिएका छन् । राजीनामा गर्न चाहने शिक्षकको भीड ह्वात्तै बढेपछि किताबखानामा कामको चाप बढेको छ । कर्मचारी न्यून हुँदा ‘आजको काम आजै’ भन्दै आएको किताबखानाले काम सक्न तीन दिनसम्म लगाउनुपर्ने अवस्था उत्पन्न भएको छ ।

विभिन्न पालिकाले सेवा अवधि सकिन लागेका शिक्षकलाई आकर्षण दिएको छ । सेवा छोड्न चाहने शिक्षकलाई पालिकाले कम्तीमा एक लाखदेखि बढीमा पाँच लाख रुपियाँसम्म दिने गरेका छन् । पुतलीबजार, मण्डन देउपुर, सूर्यविनायक, व्यास, पनौतीलगायतका नगरपालिकाले यस्तो आकर्षण दिएका छन् ।

धेरै पालिकाले अङ्ग्रेजी माध्यमबाट पठनपाठन थालेका छन् । अङ्ग्रेजी माध्यमबाट पढाउनुपर्ने भएकाले कतिपय शिक्षकले सेवाबाट अवकाश लिन चाहेका छन् । केन्द्रीय सरकारले दरबन्दी मिलान नगर्दासम्म तलब भत्ता उपलब्ध नगराउन स्थानीय सरकारलाई निर्देशन दिएको छ र दरबन्दी मिलान हुँदा आफू अपायक विद्यालयमा सर्नुपर्ने डरले पनि कतिपय शिक्षकले राजीनामा दिएका छन् ।

“२०४८ सालमा स्वतः स्थायी भएका शिक्षकको सेवा अवधि ३० वर्ष पुगेकाले पेन्सनबापत तलबको करिब ६५ प्रतिशत रकम प्राप्त हुन्छ । त्यति रकम घरमै बसेर आउने भएपछि किन दुःख गर्नु भनेर पनि राजीनामा दिएका छन्”, शिक्षक किताबखानाका महानिर्देशक खकुरेलले भन्नुभयो ।

उहाँले पछिल्लो सातायता दैनिक सरदर ६० जनाको आवेदन पर्ने गरेको बताउँदै गुनासो गर्नुभयो, “दरबन्दीअनुसारका कर्मचारी छैनन् । भएका कर्मचारीले बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म काम गर्दा पनि नभ्याउने अवस्था भयो । हामीहरूको जनशक्ति अभावले सेवाग्राही मर्कामा परे । ” कार्यालयमा उपसचिव तीन, अधिकृत चार र प्राविधिक सहायक पाँच जना छन् । देशभरि एक लाख सात हजार ८६० स्थायी शिक्षक छन् ।

राष्ट्रिय किताबखाना (निजामती)का महानिर्देशक नेत्रप्रसाद सुवेदीले सेवा अवधि ६० पुग्ने हल्लाले पनि कतिपय कर्मचारीले राजीनामा दिइरहेको बताउनुभयो । देशभरिका ८८ हजार निजामती कर्मचारीका लागि ६६ जना कर्मचारी सो किताबखानामा कार्यरत छन् भने दैनिक १५ देखि ३० जना निवृत्तिभरणका लागि किताबखानामा जाने गरेका छन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?