logo
२०८१ बैशाख ८ शनिवार



नेपालमा स्तर वृद्धि नभई भारतमा अध्ययन

शिक्षा |


नेपालमा स्तर वृद्धि नभई भारतमा अध्ययन


प्रकृति अधिकारी

काठमाडौँ, पुस ५ गते । कक्षा ११ मा भर्ना हुन माध्यमिक शिक्षा परीक्षा (एसईई)मा न्यूनतम ग्रेड प्राप्त गर्न नसक्ने नेपाली विद्यार्थी भारतमा गई माथिल्लो तहमा भर्ना हुने गरेको तथ्य फेला परेको छ ।
भारतमा कक्षा १२ पूरा गरेपछि पाठ्यक्रम विकास केन्द्रबाट समकक्षता निर्धारण गर्नुपर्ने नियम छ । विद्यार्थीले बुझाएको प्रमाणपत्रका आधारमा यस्तो तथ्य फेला परेको हो ।

अन्य विषय लिई कक्षा ११ मा भर्ना हुन एसईईमा न्यूनतम जीपीए १.६ प्राप्त गरेकै हुनुपर्छ भने विज्ञान विषय लिई कक्षा ११ मा भर्ना हुन अनिवार्य गणित, भौतिकशास्त्र, रसायनशास्त्र र जीव विज्ञानमा न्यूनतम सी प्लस हासिल गरेकै हुनुपर्छ तर न्यूनतम जीपीए वा ग्रेड प्राप्त नगर्ने कतिपय विद्यार्थीले ग्रेड वृद्धिको परीक्षामा सम्मिलित नभई भारतमा गई कक्षा ११ मा भर्ना हुने गरेका छन् ।

पाठ्यक्रम विकास केन्द्रको मान्यता, समकक्षता तथा मूल्याङ्कन शाखाका प्रमुख दामोदर आचार्यले नेपालमा भर्ना हुन नसक्नेहरू भारतमा गई पढ्ने गरेको र कक्षा १२ को प्रमाणपत्रको समकक्षता निर्धारण गर्न आउने गरेको बताउनुभयो । उनीहरूको प्रमाणपत्रबाट भारतमा गई भर्ना हुने चलाखी गर्न खोजेको प्रस्ट हुन्छ भन्दै आचार्यले आफूहरूले समकक्षता निर्धारण गर्न नसकिने भन्दै फर्काइदिने गरेको जनाउनुभयो । उहाँका अनुसार यस्ता प्रमाणपत्रधारी विद्यार्थी प्रायः बिहार विद्यालय परीक्षा समिति (विहार बोर्ड) र उत्तर प्रदेश माध्यमिक शिक्षा परिषद् (यूपी बोर्ड)का हुने गरेका छन् ।

विदेशी शैक्षिक प्रमाणपत्रको समकक्षता निर्धारण नगर्दासम्म विद्यार्थीले पूरा गरेको तहभन्दा माथिल्लो तहमा नेपालका शिक्षण संस्थामा भर्ना हुन वा त्यहाँबाट सञ्चालन हुने वार्षिक परीक्षामा सम्मिलित हुनुका साथै सरकारी सेवामा जागिर खान अयोग्य ठहरिन्छन् । सो शाखाले कक्षा १० र कक्षा १२ को समकक्षता निर्धारण गर्ने गरेको छ । कक्षा १२ को समकक्षता निर्धारण गर्दा नेपालबाटै एसईई पूरा गरे पनि त्यसको प्रमाणपत्र पेस गर्नुपर्ने हुन्छ ।

उहाँका अनुसार विहार र उत्तर प्रदेश बोर्डबाट प्रमाणपत्र प्राप्त गरेका कतिपयले अङ्ग्रेजी विषय अध्ययन नगरेकाले समकक्षता निर्धारण नहुने गरेको छ । “आवश्यक पूर्णाङ्क उल्लेख हुन्छ तर अङ्ग्रेजी विषयमा परीक्षा दिएका हुँदैनन् । नेपालमा अङ्ग्रेजी विषय अनिवार्य गरिएकोले सो विषयमा उत्तीर्ण नहुँदासम्म समकक्षता निर्धारण गरिदिन सकिँदैन”, उपसचिव आचार्यले भन्नुभयो, “ती बोर्डमा अङ्ग्रेजी विषय अनिवार्य नहुने रहेछ । विद्यार्थीले ऐच्छिक विषयका रूपमा अङ्ग्रेजी विषय लिन पाइने रहेछ । समकक्षता निर्धारण नभएपछि कतिपय विद्यार्थीले अर्काे वर्ष अङ्ग्रेजी विषयमा परीक्षा दिएर प्रमाणपत्र ल्याउने गरेका छन् । त्यसपछि मात्र उनीहरूको समकक्षता निर्धारण गरिदिन्छौँ । ” उहाँका अनुसार यस्ता विद्यार्थी सातामा प्रायः एक, दुई जनासम्म आउने गरेका छन् ।

विदेशी बोर्ड वा शैक्षिक संस्थाबाट विद्यालय तह पूरा गरेकाले समकक्षता निर्धारण नगरुन्जेल उच्च तहमा अध्ययनका लागि विदेश जानु परेमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नो अब्जेक्सन लेटर उपलब्ध गराउँदैन । नेपालबाट उच्च शिक्षा अध्ययनका लागि विदेशमा जान र विदेशी मुद्रा सटही सुविधा पाउन नो अब्जेक्सन लेटर अनिवार्य गरिएको छ । सो शाखामा समकक्षता निर्धारण गर्न हरेक साता एक सयदेखि १३५ जनासम्म विद्यार्थी जाने गरेका छन् भने प्रायः अधिकांश विद्यार्थी भारतीय बोर्डका प्रमाणपत्र लिएका हुने गरेका छन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?