सुकृत नेपाल
‘पहिले जस्तो समय अब रहेन । बेहुलीलाई डोलीमा अथवा बोकेर ल्यायो भने लाज हुन्छ भन्छन् अहिले । त्यसैले छोराको बिहेमा कारलाई सजाएर दुलही लिन गइयो’, काठमाडौँ, दक्षिणढोका निवासी प्रमोद अर्यालको भनाइ हो यो । सबै कुरा परिवर्तन भएकाले दुलहीलाई डोलीमा ल्याउने चलन पनि हराउँदै गएको उहाँको बुझाइ छ । हुन पनि हो, सधैँ सबै कुरा एउटै रहँदैन । यो त समयअनुसार चल्ने कुरा न हो । ‘अब डोली कहाँबाट पाउनु’, अर्यालले थप्नुभयो ।
तर पहिले पहिले बिहे भन्नसाथ ‘डोली चढ्ने’ भनेर बुझिन्थ्यो । कलात्मक रूपमा निर्माण गरिएको डोली चढेर बिहे गर्नुको रौनक नै छुट्टै हुन्थ्यो । बेहुलाबेहुलीको सवारी डोली बिस्तारै हराउँदै गयो । अहिले डोलीको ठाउँ कार, बस, जिप र बग्गीले लिएको छ ।
त्यसो त बेहुलाबेहुलीको सवारीका लागि डोलीपछि घोडाको चलन चल्यो । बग्गी अहिले मात्र सर्वसाधारणले चढ्न पाएका हुन् । त्यो पनि सहरबजारतिर मात्रै चलाउन मिल्छ । बेहुलाबेहुलीका सवारी मात्र होइन अन्य कुरा पनि धेरै फेरिएका छन् । बाह्य संस्कृतिको प्रभाव भनौँ वा फेरिएको जीवनशैलीका कारण बिहे संस्कारको धेरै शैली यसैगरी फेरिँदै छन् ।
कुनैबेला गाउँमा हुने बिहेमा दुलहीलाई डोली चढाएर मात्रै भिœयाइन्थ्यो । तर अहिले यो चलन देख्न मुस्किलै पर्छ । पछिल्लो पुस्ताले त डोली कस्तो हुन्छ भन्ने चाल पनि पाएको छैन । चाल पाउनु पनि कसरी डोली बोकेर हिँड्दै गरेका जन्ती सहरबजारमा देखिँदैन । दूरदराजमा उनीहरू पुग्दैनन् । डोलीसँगै पुराना सांस्कृतिक पहिचान र परम्परा पनि लोप हुँदै गएका छन् । गाउँघरतिर डोली प्रयोग हुन छोडेपछि डोलेकोे आम्दानी पनि सुकेको छ । हिजोआज धेरैतिर सडक पुगेपछि गाडी चल्न थालेकाले सबैले गाडी नै प्रयोग गर्न थालेका हुन् ।
तराईको थारु समुदायको डोलीमा भने रङ्गीचङ्गी कपडाको मोहोरी, खिल्वार, छौना, मचिया, पर्गेहनी, लाखक चुनरिया, वहन्वार, घारा, लोटा, घण्टी, पघा र स्याँठाको प्रयोग हुने गरेको छ । यस्तै दुलहीको घरमा जन्ती लिएर जाँदा विशेष प्रकारले बनाइएको चँडोलको प्रयोग हुने गर्छ । तर पछिल्लो समय डोली र चँडोलको प्रयोग यहाँ पनि विरलै मात्र देख्न पाइन्छ । बरु विवाहमा दुलहा–दुलहीका लागि हेलिकप्टर पनि प्रयोग हुन थालेको छ ।
पछिल्लो समय सहरी क्षेत्रमा बग्गीको प्रचलन बढ्दो छ । छोटो दूरीका लागि बेहुलाबेहुलीको सवारी बग्गी हुन पुगेको छ । विवाहलाई भव्य बनाउनका लागि यो एउटा राम्रो विकल्प बनेको छ । विगतमा राजपरिवारको विशेष सवारी साधनको रूपमा बग्गी प्रयोग हुन्थ्यो । राजपरिवारका सदस्यहरूले कतै आउजाउ गर्नका लागि घोडाले तान्ने आकर्षक बग्गीको प्रयोग गर्थे । समयक्रमसँगै सम्भ्रान्त वर्गले आफ्ना विशेष समारोहहरूमा बग्गी चढ्न थाले । अहिले भने विवाहका लागि यसको प्रयोग व्यापक बन्दैछ । विवाहलाई विशेष बनाउन एवं राजसी ठाँटको बनाउन बग्गी प्रयोग गर्न थालिएको छ । अहिले सर्वसाधारणले पनि निश्चित समयका लागि यसलाई भाडामा लिएर चढ्न पाउँदा हरेकको बिहे समारोह भव्य बन्न पुगेको छ । यस्तै एक महिनाअघि धनुषाको कमला नगरपालिकामा किशोर किशोरीको विवाह ठूलो तामझामका साथ गरिएको थियो । हुन त विवाह त्यति चर्चाको विषय बन्दैन तर यो विवाह चर्चाको विषय बन्नुको कारण भने दुलाहालाई हेलिकप्टर चार्टर्ड गरेर ल्याउनु थियो । यसका लागि धनुषाको कमला नगरपालिका–४, बल्हा सघारास्थित भर्खरै धान काटिएको खेतमा आर ६६ टर्बाइन हेलिकोप्टर अवतरण गरिएको थियो ।
संस्कृतिविद् सत्यमोहन जोशी भन्नुहुन्छ, ‘नेपाल सांस्कृतिक विविधता भएको देश हुनाले यहाँ हरेक जातजातिका मानिस बस्छन् । डोली मात्र होइन अन्य कुरामा पनि परिवर्तन आएको छ ।’ हाम्रो पालामा चिना देखाएर केटी माग्ने चलन रहेको भन्दै उहाँले अहिले जस्तो मायाप्रेम बस्ने बित्तिकै विवाह गरिहाल्ने चलन त्यो बेला थिएन भन्नुभयो ।
अहिले विवाहको संस्कार यस्तो हुनुको कारण रीतिरिवाज परिवर्तनशील हुनु हो– भन्नुहुन्छ साहित्यकार तेजेश्वर बाबु ग्वंगः । उहाँका अनुसार यो परिवर्तनशील नियमको गाथा नै हो । अहिलेका युवा जमातले पहिलेका कुराको चाल पनि पाउँदैनन् र त्यसको हेक्का पनि राख्दैनन् र यो प्रकृतिक नियम पनि हो । फेरि परिवर्तन हुनु राम्रो पनि हो । अफ्नो विवाह मागी र प्रेम दुवै भएको पनि उहाँले स्मरण गर्नुभयो । अहिले यस्तो हुनुलाई हामीले पुस्तान्तरण भएको पनि भन्न सक्छौँ ।
केही महिनाअघि हायात रिजेन्सीमा आयोजित रिसेप्सन पार्टीमा उदीप श्रेष्ठले नायिका आँचल शर्मालाई हेलिकप्टर चार्टर गरेर ल्याएको कुरा पनि धेरै चर्चाको विषय बनेको थियो । हेलिकप्टरबाट आँचलको हात समाउँदै जब उदीप झरे, सबै एकछिन चकित नै भएका थिए ।
मानव जीवनलाई आदर्श रूपमा सञ्चालन गर्न विवाहको चलन सुरु भएको हो । विवाह जे जसरी गरे पनि हामीले हाम्रो संस्कार बिर्सनु हुँदैन । तर अहिले विवाह गर्ने भनेको पनि फेसन जस्तो भएको छ । काठमाडौँमा पनि छोटो दूरीका लागि हेलिकप्टर चार्टर नै गरेर रिसेप्सन पार्टीमा जाने चलन बढ्दै छ । दूरदराजतिर अहिले पनि डोली प्रयोग हुने गरेको कहीँ कहीँ त देखिन्छ ।
यस्ता मौलिक चलन चल्तीलाई आउने पुस्ताले पनि अनुशरण गर्ने बनाउन सके यसको संरक्षण हुन्थ्यो भन्नेमा पुरानो पुस्ता एक मत छ तर बढ्दो आधुनिकता र देखासिकीले आफ्नो चलन हराउने र आधुनिकताका नाममा भड्किला संस्कृति भित्रिने चिन्ता संस्कृतिविद्हरूले व्यक्त गरेका छन् ।