काठमाडौं, फागुन १ गते । हास्यव्यङ्ग्यको क्षेत्रमा 'चट्याङ मास्टर' को नामले चर्चित कृष्ण मुरारी गौतमले ज्येष्ठ नागरिकका हक हितका लागि बहुआयामिक अभियान सुरु गर्नुभएको एक दशक नाघ्यो । जीवनको उत्तरार्धमा पुगेकाहरूलाई सुरक्षित, सम्मानित र सक्रिय जीवन जिउने अवसर र उपायको खोजीमा उहाँले राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा पुर्याउनुभएको योगदानको कदर गर्दै संयुक्त रास्ट्रसङ्घीय शिक्षा, विज्ञान तथा संस्कृति कार्यालय (युनेस्को) बाट सन् २०२० को अन्तरास्ट्रिय शिक्षा पुरस्कारबाट उहाँ सम्मानित हुनुभएको थियो ।
एजिङ नेपालले सञ्चालन गरेको 'जेष्ठ नागरिक आधारभूत शिक्षा कार्यक्रम' विश्वभरिका अनेकौं प्रतिस्पर्धीमध्य सर्वोत्कृष्ट ठहरिएको थियो । युनेस्को किङ्गसेजोङ्ग शिक्षा पुरस्कार हरेक वर्ष विश्वभरिका अनेक प्रतिस्पर्धीमध्य दुइ व्यक्ति वा संस्थालाइ फ्रान्सको पेरिसस्थित युनेस्को मुख्य कार्यालयद्वारा दिने गरिन्छ ।
एजिङ नेपाल नामक गैर सरकारी सस्थाका संस्थापक अध्यक्ष कृष्ण मुरारी गौतम अनुसार एजिङ नेपालले ज्येष्ठ नागरिकको हक, अधिकार र सेवा सुविधामा पहुँच पुर्याउने उद्देश्य राखेको छ ।
बुढ्यौली समस्या होइन वरदान हो तर बुढ्यौली प्रति रहेको सामाजिक तथा सरकारी दृष्टिकोण वा अवधारणा चाँही समस्या हो भन्छन चट्याङ्ग मास्टर । उहाँका अनुसार एक्काइसौं शताब्दिलाई बुढाबुढीको शताब्दी पनि भनिन्छ किनभने यो शताब्दीको उत्तरार्धमा विश्वमा ज्येष्ठ नागरिकको जनसंख्या अत्यधिक हुन् गई यसले समाज र राष्ट्रको आधारभूत संरचना तथा संचालनमा आमूल परिवर्तनहरु ल्याउने छ । यो आउँदो समस्या पनि हो र अवसर पनि । त्यस्तो परिवर्तनसँगै आउने समस्या समाधान गर्न हरेक राष्ट्र आफ्नो भरमग्दुर प्रयत्न गर्दैछन् भने जनसंख्या संरचनामा त्यस्तो परिवर्तनबाट प्राप्त हुने नयाँ अवसरको अत्यधिक लाभ उठाउन पनि तयारीहरु गरिदैछन् ।
आफूले गरेको कामले नेपाललाई विश्वमा चिनाउन पाएकोमा अत्यन्त खुसी छन्, चट्याङ मास्टर । संयुक्त राष्ट्रसंघले न्यूयोर्कस्थित आफ्नो मुख्य कार्यालयमा आयोजित विश्व जेष्ठ नागरिक दिवस १ अक्टुबर २०१९ समारोहमा सम्वोधन गर्न चट्याङ मास्टरलाई मुख्य वक्ताको रुपमा आमन्त्रित गरेको थियो । नेपालका हरेक वडामा एउटा ज्येष्ठ नागरिक मिलन चौतारी स्थापना गर्ने अभियानमा पनि उहाँ उत्तिकै सक्रिय छन् ।
चट्याङ मास्टर हास्यव्यंग्य साहित्यमा लामोसमय बिताएका व्यक्ति हुन । उहाँका ६ वटा 'चट्याङ गीता' नामक हास्यव्यंग प्रधान पुस्तकहरु प्रकाशित छन् । एक दर्जन भन्दा बढी भजन तथा राष्ट्र गीतका रचयता गौतमले आफ्नो जन्मस्थल भक्तपुरको गीति अल्बम पनि निकाल्नुभएको छ ।
हास्यव्यंग्य क्षेत्रलाई प्रवद्र्धन गर्ने उद्देश्यले २०५५ सालमा चट्याङ मास्टर लगायत केही साहित्यकार मिलेर 'सिस्नुपानी नेपाल' स्थापना गर्नुभएको थियो । अहिले 'सिस्नुपानी' ले देउसी भैलोको माध्यमबाट राजनीतिज्ञलाई चोटिलो व्यंग्य प्रहार गर्नेगर्छ भने हास्यव्यंग साहित्यको प्रचार र प्रसारमा अहम भूमिका निर्वाह गर्दै आएको छ ।
अहिले चट्याङ मास्टर बुढ्यौली साहित्यको स्थापना तथा प्रवर्धनमा लाग्नुभएको छ ।
बाल साहित्य, युवा साहित्य, नारी साहित्य जस्तै पाका व्यक्तिका मनोभाव केन्द्रीत रचनालाई बुढ्यौली साहित्य भन्ने गरिन्छ जो जुनसुकै उमेरका व्यक्तिको रचना हुनसक्छ । जेष्ठ नागरिकको विषयमा साहित्य लेख्नेलाई सम्मान पनि गर्छन । धेरै साहित्यकारले जेष्ठ नागरिकको बारेमा नलेखेकोमा गौतम गुनासो पनि गर्नुहुन्छ । अहिले 'एजिङ नेपाल' मार्फत शिक्षा लिएका जेष्ठ नागरिकले पनि आफ्नो बारेमा साहित्य लेखे भने आफू सन्तुष्ट हुने उहाँको भनाई छ ।
चट्याङ मास्टर भन्हुन्छ, 'हामीले वृद्धवृद्धाको चासोको विषय बाहेक अरु केही पनि काम गर्दैनौं र उनीहरुको चासोका कुनै पनि विषयमा काम गर्न हामी पछि पर्दैनौं ।'