logo
२०८१ बैशाख १५ शनिवार



चीनमै रोकियो एक लाख मेट्रिक टनभन्दा बढी मल

अर्थ |


चीनमै रोकियो एक लाख मेट्रिक टनभन्दा बढी मल


सुरेशकुमार यादव

काठमाडौँ, माघ २८ गते । चीनले नेपाललाई पठाउनुपर्ने एक लाख मेट्रिक टनभन्दा बढी रासायनिक मल समयमा आएको छैन । खरिद गरिएको उक्त मल तोकिएको समयमा नआउँदा कृषि सामग्री कम्पनी भने अप्ठ्यारोमा परेको छ ।

कम्पनीका कार्यवाहक प्रमुख राजेन्द्रबहादुर कार्कीले चीनबाट आउनुपर्ने रासायनिक मल समयमा आइदिएको भए मलको हाहाकार नहुने बताउनुभयो । पटक–पटकको प्रयासका बाबजुद पनि पाँच/छ महिनादेखि चीनबाट एक लाख १३ हजार ५३५ मेट्रिक टन मल आउन सकेको छैन ।

प्रमुख कार्कीले आफूहरूले पहल गरे पनि चीनकै कारण सो मल रोकिएको बताउनुभयो । चीनले पुरानो उत्पादन नदिने, नयाँमात्र दिने नीति लिएका कारण नेपाललाई दिने भनिएको मल रोकिएको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, “हामीलाई दिने मल पुरानो उत्पादन थियो, पछि नयाँ दिने भनेर रोक्यो अहिले नयाँ आइसके पनि मल पठाइरहेको छैन । ” कोरोना तथा मूल्यवृद्धिको पनि बहाना बनाइरहेको उहाँले बताउनुभयो ।
प्रमुख कार्कीले ९८० मेट्रिक टन युरिया, ८० मेट्रिक टन डीएपीमात्र मौज्दात रहेको जानकारी दिनुभयो । अहिले तत्कालै कहीँबाट आउने उपाय नभएको पनि उहाँले बताउनुभयो ।

“यस्तै अवस्था रह्यो भने धानखेतीको समयमा फेरि मलको हाहाकार हुने निश्चित छ । कलकत्ता बन्दरगाहबाट २० हजार मेट्रिक टन मल नेपालका लागि पठाइसकेको छ । त्यो मल नेपाल आउन कम्तीमा पनि १५ दिन लाग्छ,” कम्पनीका सूचना अधिकारी अशोककुमार खड्काले भन्नुभयो । त्यसबाहेक अरू कतैबाट मल आउने अवस्था नरहेको र चीनमा रोकिएको मल पठाइदिएको भए नेपाललाई धेरै राहत हुने खड्काले बताउनुभयो ।

चीनले मल दिन्छु भनी ठेकेदार कम्पनीलाई भन्यो । त्यसै आधारमा ठेकेदार कम्पनीले मलका लागि आफ्नो जहाज पनि पठायो तर त्यहाँ ३० दिनसम्म जहाज पर्खेर बसे पनि चीनले मल नपठाएको गुनासो प्रमुख कार्कीको छ । “चीनबाट मल ल्याउन पाँचवटा कम्पनीले ठेक्का पाएका छन् । अब त ढुवानीकर्ता कम्पनीको ढुवानी गर्ने म्याद पनि सकिन लागेको छ, मल ल्याउन अझै पनि कृषि मन्त्रालयले पराराष्ट्र मन्त्रालयमार्फत पहल गरिरहेको छ । तर, सकारात्मक प्रतिक्रिया आएको छैन,” उहाँले भन्नुभयो ।

यस विषयमा आफूले प्रधानमन्त्रीलाई समेत जानकारी गराएको उहाँले बताउनुभयो । नेपालले जीटुजी (सरकारबाट सरकार) मार्फत भारतसँग मल खरिद गर्ने प्रक्रिया सुरु गरे पनि हालसम्म सम्झौतापत्रमा हस्ताक्षर भएको छैन । पुसको अन्तिम साता हुने भनिएको प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममा सम्झौतापत्रमा हस्ताक्षर गर्ने तयारी थियो । तर, भ्रमण स्थगित भएपछि सम्झौतापत्रमा हस्ताक्षर गर्ने प्रक्रिया पनि अलपत्र परेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?