logo
२०८१ बैशाख १४ शुक्रवार

उच्चस्तरीय निरीक्षण, अन्तिम चरणमा पुगेकाे निष्कर्ष

फिचर |
पढ्नै पर्ने |
फोटो फिचर |


2020-11-12-26431
तस्बिर साैजन्यः प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाको फेसबुकबाट


गोरखापत्र अनलाइन
काठमाडौं, कात्तिक २७ गते । बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको कार्यान्वयनको अन्तिम चरणमा पुगेको बताइएको छ । बुधबार प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार डा. राजन भट्टराई, प्रेस सल्लाहकार सूर्य थापा, सम्बन्धित क्षेत्रबाट प्रतिनधिसभाका सांसद शेरबहादुर तामाङ, विकास पूर्वाधार विज्ञ ई. गजेन्द्र थपलिया, जिल्ला समन्वय समितिका प्रमुख विष्णुगोपाल तामाङ, खानेपानी मन्त्रालयका सचिव माधव बेल्वासे, आयोजना प्रमुख तिरेश खत्रीसहितको टोलीले यस आयोजनाको कार्य प्रगतिको स्थितिको स्थलगत र समग्र निरीक्षण पछि सो निश्कर्ष निकालेको हो ।
सो भ्रमण पछि प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले निरीक्षण टोलीलाई केही समयअघि इटालियन ठेकेदार कम्पनी भागेपछि आयोजनालाई श्रम र सामान आपूर्ति गरी हालसम्म भुक्तानी पाउन नसकेका पीडितहरू भुक्तानी गर्न बाँकी रकम भुक्तानीको समस्या सम्बोधन गरेर अघि बढ्दा मेलम्ची खानेपानी आयोजनाको सफल कार्यान्वयन अन्तिम चरणमा पुगेको स्पष्ट भएको बताउनु भएको छ ।

सुरुङ शुरु पुनः परीक्षण गरिने

राससका अनुसार मेलम्ची खानेपानी आयोजनाको सुरुङ परीक्षण आगामी महिनाभित्रमा गरिने भएको छ । गत असार महिनामा भएको परीक्षणका क्रममा दुर्घटना भएपछि सुरुङमा रहेका त्रुटि सच्याएर पुनः परीक्षण गर्न लागिएको छ ।

सुरुङमा रहेको त्रुटि सच्याउने काम सकिन लागेकाले पुनः सुरुङमा पानी पठाएर परीक्षण गर्ने योजना बनाइएको खानेपानी मन्त्रालयका प्रवक्ता रितेशकुमार शाक्यले बताउनुभयो । उहाँका अनुसार त्रुटि सच्याउने काम मङ्सिरको दोस्रो सातासम्म सकिने भारतीय कम्पनीले बताएको छ । केही महिना यता सुरुङमा पुनरावलोकनको काम भइरहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “सम्भावित सबै ठाउँमा पुनरावलोकन भइरहेको छ ।”

मङ्सिरसम्ममा त्रुटि सच्याए पनि काठमाडौँमै पानी झार्न भने माघ मसान्तसम्म लाग्ने देखिएको छ । सुरुङमा पानी पठाउन थालिएको दुई महिनासम्म परीक्षण गर्न समय लाग्ने प्रवक्ता शाक्यले जानकारी दिनुभयो । मन्त्रालयले बनाएको कार्यविधिअनुसार थोरै परिमाणमा गरेर पानी पठाइनेछ । सुरुङमा पानी भरिएपछि पनि केही दिन ‘होल्ड’ गरेर राखिने उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “पानी भित्र भरिएर केही दिन राख्दा बल्ल कतै समस्या छ छैन थाहा हुन्छ, समस्या छैन भन्ने भएपछि मात्रै पानी झारिनेछ ।”

सुरुङको अवस्था ठीक भएर सुन्दरीजलमा रहेको प्रशोधन केन्द्रमा आएपछि भने उपत्यकामा वितरण शुरु हुने उहाँले जानकारी दिनुभयो । सुन्दरीजलमा दुई पानी प्रशोधन केन्द्र रहेका छन् । यहाँबाट पानी प्रशोधन भए पनि उपत्यकाका विभिन्न स्थानमा रहेका ट्याङ्कीमार्फत पाइपमा पानी पुग्छ । उपत्यकामा खानेपानी वितरणका लागि आवश्यक संरचना बनिसकेकाले पानी आउनासाथ तत्काल वितरण थालिने उहाँले जानकारी दिनुभयो । अहिले वाग्मतीको पानीमार्फत परीक्षण भइसकेको छ । उहाँले भन्नुभयो, “पानी झरेपछि पुरानो संरचनाबाट पानी पठाउने र नयाँ विच्छाइएका पाइपको परीक्षण एउटै समयमा हुनेछ ।”

यसअघि सिन्धुपाल्चोक, हेलम्बु गाउँपालिका–१ स्थित आयोजनास्थलमा असार २१ मा पानी पथान्तरण गरिएकामा ३० असारमा दुर्घटना भएको थियो । सुरुङ परीक्षणका लागि पानी भर्न थालिएकामा एक सातामा पानी बाहिर निस्केको हो । दुर्घटनाका बारेमा बुझ्का लागि खानेपानी मन्त्रालयका सहसचिव रमाकान्त दवाडीको संयोजकत्वमा भएको दुर्घटनासम्बन्धी अध्ययन गर्न गठित समितिले गेट भित्रबाट हुनुपर्नेमा बाहिरबाट राखिएकाले दुर्घटना भएको निष्कर्ष निकालेको थियो । समितिकै सुझावका आधारमा गेटको फ्रेम नयाँ राखिएको छ ।

सो दुर्घनाका कारण कन्सलट्यान्ट दोर्जे पेम्बा र इञ्जिनीयर शेखर खनाल घाइते भएका थिए । दुर्घटनाका कारण इञ्जिनीयर सतीश गोहित र सवारीचालक राधाकृष्ण थापामगर बेपत्ता भएका थिए । तीमध्ये इञ्जिनीयर गोहित घटनाको भोलिपल्ट मृत फेला परेका थिए भने चालक थापामगर अझै बेपत्ता छन् ।

सो दुर्घटनाको जिम्मेवारी परामर्शदाता कम्पनी र गेट निर्माण गर्ने कम्पनी दुवैको भएकाले उनीहरुले जिम्मेवारी लिएका थिए । इटास कम्पनी परामर्शदाताका रुपमा रहेको थियो भने भारतीय कम्पनी पीआईएलले गेट निर्माण गरेको हो । आयोजनामा यस पहिले काम गरेको इटालियन कम्पनी सीएमसीले नै गेट निर्माण गर्न सो कम्पनीलाई लगाएको थियो । नेपाल सरकारसँग सीएमसीको ठेक्का रद्द भए पनि सोही कम्पनीले गेट निर्माणको बाँकी काम सम्पन्न गरेको थियो ।

आयोजनाको बाँकी काम सम्पन्न गर्नै गरी जिम्मेवारी लिएको चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोले अहिले ‘हेडबक्स’ निर्माण गरिरहेको छ । ‘हेडबक्स’ सकिन अझै छ महिना लाग्ने हुँदा अस्थायी बाँधबाट पानी पथान्तरण गरिनेछ । मेलम्चीको सुरुङमा दुर्घटना भएपछि पनि अरू निर्माणका काम रोकिएको थिएन । बन्दाबन्दीको अवधिमा पनि निर्माणस्थलमा काम भइरहेको थियो ।

आयोजनाअन्तर्गत सुरुङ, हेडबक्स र दुई पानी प्रशोधन केन्द्र निर्माण भएको हो । दैनिक १७ करोड लिटर पानी प्रशोधन गर्ने गरी सुन्दरीजलमा दुई वटा ट्याङ्की निर्माण भइसकेको छ । यहाँको प्रशोधन केन्द्र दुवैको क्षमता साढे आठ करोड लिटर रहेको छ । तीमध्ये एउटाको निर्माण जापानी अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका) र अर्को एशियन विकास बैंक (एडीबी) को आर्थिक सहयोगमा निर्माण भएकोे थियो ।

बन्दाबन्दीका कारण घर फर्किएका कतिपय कामदार आउन नसकेको र निर्माण सामग्री ल्याउन कठिनाइका कारण सामान्य अवस्था जसरी काम हुन सकेको थिएन । निर्माण कम्पनीले उपलब्ध जनशक्ति र सामग्रीबाट निर्माण गरिरहेको थियो । स्थानीयवासी र स्थानीय तहले आयोजनाका कारण कोभिड–१९ को जोखिम भएको भन्दै बन्द गर्न भनिरहँदा पनि आयोजना सुचारु थियो । लामो समयसम्म पनि सम्पन्न नभएको राष्ट्रिय गौरवका आयोजनामा यो आयोजना पर्छ । काठमाडौँ उपत्यकामा रहेको खानेपानीको समस्या समाधान गर्न मेलम्चीको पानी काठमाडौँ ल्याउन संस्थागत पहल शुरु भएको दुई दशक भयो ।

विसं २०५६ मा मेलम्ची खानेपानी विकास समितिको गठन भएको थियो । आयोजना निर्माणका लागि एशियाली विकास बैंकले सन् २००१ मा सम्झौता भएको थियो । पछिल्लोपटक काम गरेको इटालियन कम्पनीले गतिका साथ काम अघि बढाए पनि आर्थिकरुपमा टाट पल्टेर कम्पनी फिर्ता भयो । केही महिनाको अन्योलपछि चिनियाँ निर्माण कम्पनीसँग बाँकी निर्माणको काम सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको थियो । खानेपानी मन्त्रालयले पटकपटक काठमाडौँ उपत्यकामा मेलम्चीको पानी झारिने लक्ष्य राख्दै आएको थियो । पछिल्लो पटक असार मसान्तसम्ममा पानी झार्ने लक्ष्य राखिए पनि दुर्घटनाले त्यो समय धकेलिएको छ ।