logo
२०८२ असार ४ बुधवार

एकीकरण पदयात्रामा यसरी निस्कियो नेपाली सेना (तस्बिरसहित)

फिचर |
पढ्नै पर्ने |
फोटो फिचर |


2021-01-05-29661


नरेन्द्र ढकाल
गोरखा, पुस २१ गते । नेपाली सेनाले यस वर्ष पनि एकीकरण पदयात्रा गरेको छ । नेपाल एकिकरणको उद्गमस्थल गोरखाबाट काठमाण्डौसम्म हिडेको टोलीलाई मंगलबार बिहान गोरखाबाट बिदाइ गरिएको छ ।‘इतिहासको रक्षा गर्दै, सम्पूर्ण नेपालीलाई एक गराउन हामीले एकिकरण पदयात्राको अवधारणा ल्याएका हौं,’ नेपाली सेनाको पश्चिम क्षेत्रका पृतना पति बिनयबिक्रम राणाले भन्नुभयो, ‘यसले ऐतिहासिक पर्यटनको सम्भावना उजागर गरेको छ ।’

तत्कालीन राजा पृथ्वीनारायण शाहले राज्य एकीकरणको क्रममा प्रयोग गरेको बाटोलाई समेटेर एकीकरण पदमार्ग निर्माण गरिएकाे छ । पुस २७ गते सिंहदरबार अघि मनाइने पृथ्वीजन्यतीमा सहभागी हुन काठमाण्डौं पुग्ने टोलीलाई मंगलबार गोरखा दरबार परिसरमा रहेको हनुमान चौतारीमा एक कार्यक्रम गरी बिदाइ गरिएको छ ।टर्च, नेपालको राष्ट्रिय झण्डा, पृथ्वीनारायण शाहको पालामा स्थापना भएका नेपाली सेनाका ५ कम्पनीहरु (श्रीनाथ, कालीबक्स, पुरानो गोरख, वर्दवाणी र सबुद गण) को झण्डासहित करिब ४० जनाको टोलीलाई बिदाइ गरिएको रणसिंह दल गण गोरखाका गणपत उज्जल केसीले जानकारी दिनुभयो ।

उक्त टोलीमा गोरखा दरबारमा राखिएको गुरुजीको पल्टनका सैनिकहरु परम्परागत पोशाकमा सहभागी भएका छन् । पञ्चेबाजा, नेपाली सेनाको ब्यान्ड बाजा बजाउँदै हनुमान चौताराबाट निस्केको टोली गोरखा दरबार, जोरपोखरी, ताप्ले, अश्राङ, बोर्लाङ्ग, धादिङ नुवाकोट हुँदै काठमाण्डौ पुग्नेछन् । उनीहरुलाई विभिन्न ठाउँमा साँस्किृतिक झाकीसहित स्वागत एवं सम्मान गर्ने कार्यक्रम रहेको उहाँले बताउनुभयो गोरखाबाट गएको टोलीले बोलाङ्र्गघाटमा पु-याएपछि धादिङको देविदत्त गणलाई टर्च र झण्डा हस्तान्तरण गर्ने कार्यक्रम छ । धादिङले नुवाकोट र नुवाकोटले काठमाण्डौको टोलीलाई हस्तान्तरण गर्ने नेपाली सेनाले जनाएको छ ‘रिले दौड जस्तै गरी २१ गते गोरखाबाट लगिएको टर्च र झण्डा २७ गते काठमाण्डौंको कार्यक्रममा पु¥याइन्छ’ केसीले भन्नुभयो ‘गतवर्ष जस्तै यस वर्ष पनि उत्साहजनक रुपमा कार्यक्रम सम्पन्न हुनेछ भन्ने हामीले विश्वास लिएका छौं ।’

पदयात्रीहरुलाई बिदाइ गर्दै गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्तले इतिहासको जगेर्ना गर्न सबै लाग्नुपर्नेमा जोड दिनुभयो । ‘इतिहास कसैले मारेर मर्दैन, यसको त जर्गेना गर्न सकियो भने नै हामीलाई फाइदा हुन्छ,’ उहाँले भन्नुभयो, ‘नेपाल एकीकरणकाे इतिहासलाई रक्षा गर्न नेपाली सेनाले थालेको प्रयास सराहनीय छ । उक्त कार्यमा सहयोग र सहकार्य गर्न गोरखा नगरपालिका सदैव तयार छ ।’ गोरखा नगरपालिकाले पृथ्वीजयन्तीको अवसरमा सार्वजानिक विदा दिएर उत्सवको रुपमा मनाउने गरेको समेत उहाँले बताउनुभयो । गोरखाका प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले उक्त पदमार्गमा पर्ने गोरखा, धादिङ, नुवाकोट र काठमाण्डौ जिल्लाका जनप्रतिनिधिहरु मिलेर साझा कार्यक्रम बनाउन सुझाव दिनुभयो । भीमसेन गाउँपालिकाकी उपप्रमुख बिनु वाग्लेले उक्त पदमार्गमा पर्ने मठ मन्दिर, चौतारा, कोट किल्लाको संरक्षणको प्रयास सुरु भइसकेको बताउनुभयो । ‘हामी सबै हातेमालो गरेर अघि बढ्याैं भने मात्रको लक्ष्यमा पुग्न सकिन्छ,’ उहाँले भन्नुभयो, ‘भीमसेन गाउँपालिका यो अभियानमा नेपाली सेना र सरोकारवाला सबैसँग सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।’

गतवर्ष पहिलो पटक पुस १८ गते पदयात्रा भएको थियो । राष्ट्रिय विभूती पृथ्वीनारायण शाहले गोरखा राज्य बिस्तारको क्रममा धादिङ, नुवाकोट हुँदै काठमाण्डौं हमला गरेको इतिहास छ । छरिएर रहेका राज्यहरुलाई एकीकृत गरी वर्तमान नेपाल निर्माण गरेका शाहको इतिहासलाई जर्गेना गर्दै तत्कालीन बाटोलाई पदमार्ग बनाएर पर्यटन पवर्धन गर्ने सरकारको तयारी छ । गत वर्ष नेपाली सेना ऐतिहासिक लिगलिगकोटबाट गोरखा दरबारसम्म आउन प्रयोग हुने पदैलमार्गमा म्याराथुन दौड गरेको थियो । यस वर्ष भने कोरोना महामारीका कारण दौड आयोजना हुन सकेको छैन ।