logo
२०८१ असोज ९ बुधवार

भागरथी हत्याको अनुसन्धानः प्रहरीको सम्पूर्ण जनशक्ति परिचालन

फिचर |
पढ्नै पर्ने |
फोटो फिचर |


2021-02-07-31606


गोकर्ण दयाल
बैतडी, माघ २५ गते । नेपाल प्रहरीले बैतडीकी १७ वर्षीया भागरथी भट्टको हत्या अनुसन्धान तीब्र रुपमा अघि बढाएको छ । अनुसन्धानका लागि प्रहरीले सम्पूर्ण जनशक्ति परिचालन गरेको बताएको छ । घटना विवरण बुझ्न सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख उत्तमराज सुवेदीसमेत आइतबार बैतडी पुग्नुभएको छ ।
तालिमप्राप्त कुकुरले भागरथीको हत्या भएको जङ्गल क्षेत्र पूरै ‘सर्च’ गरेको छ । प्रहरीले भागरथीका आफन्तसँग सोधपुछ गर्नुका साथै शंकास्पद व्यक्तिमाथि निगरानी बढाएर सूक्ष्म अध्ययन गरिरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जानकारी दिएको छ ।
शनिबार पाँच जनासँग सोधपुछ गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख नारायाणप्रसाद अधिकारीले जानकारी दिनभयो । आइतबार पनि प्रहरीको अनुसन्धान टोली दोगडाकेदारमै रहेको र प्रदेश प्रहरी प्रमुखसमेत दोगडाकेदार पुग्नुहुने बैतडी प्रहरी प्रमुख, प्रनाउ पनारायणप्रसाद अधिकारीले बताउनुभयो ।
घटनाको अनुसन्धान गर्न एसएसपी जनकराज पाण्डेयको नेतृत्वमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, केन्द्रीय अनुसन्धान ब्यूरो, जिल्ला प्रहरी कार्यालय बैतडी, इलाका प्रहरी कार्यालय पाटन–बैतडीको टोली सयुक्त रुपमा खटिएको बैतडी प्रहरी प्रमुख अधिकारीले बताउनुभयो ।
घटनाको थप अनुसन्धानमा सुदूरपश्चिम प्रदेशका प्रहरी प्रवक्ता एवं वरिष्ठ प्रहरी उपरीक्षक मुकेशकुमार सिंह र सीआईबीबाट निर्मला पन्तको हत्याको घटना अनुसन्धान गर्न कञ्चनपुरमा रहनु भएका डीएसपी पञ्चकुमार बाखुको टोली पनि भागरथी हत्याको अनुसन्धान गर्न खटिएको छ ।
बैतडीको दोगडाकेदार गाउँपालिका–७, चडेपानी घर भएकी भागरथीको माघ २२ गते विद्यालयबाट घर फर्किने बाटोमा पर्ने लडालेक जङ्गलका शव फेला परेको थियो ।

भागरथीले प्रयोग गर्ने मोबाइलको सबै डाटा ‘रिकभर’ गर्दै प्रहरी
बलात्कारपछि हत्या गरिएकी भागरथी भट्टले प्रयोग गर्ने गरेको मोबाइलका सबै डाटा प्रहरीले ‘रिकभर’ गर्ने भएको छ ।
मोबाईलमा भएका सबै डाटा रिकभर गर्न प्रहरीले पलह थालिसकेको बैतडी प्रहरीले जानकारी दिएको छ । भागरथीले प्रयो गर्ने मोबाइलमा भारतीय सीम कार्ड पनि रहेको बताइएको छ तर, बैतडी प्रहरी प्रमुखले यसको अहिले पुष्टि गर्न नमिल्ने बताउनुभयो ।

शनिबार पोष्टमार्टम भयो, रिपोर्ट आउन बाँकी
पोष्टमार्टमका लागि शुक्रबार जिल्ला अस्पताल ल्याइएको भागरथी भट्टको शवको शनिबार पोष्टमार्टम भएको छ । पोष्टमार्टमको रिपोर्ट सोमबारसम्म आउनेछ भने भेजाइनल स्वाब फरेन्सिक ल्याबमा प्रहरीमार्फत पठाइने जिल्ला अस्पताल बैतडीका डाक्टर वसन्तराज जोशीले बताउनुभयो ।
प्रहरीले घटनाको अनुसन्धान गरिरहेकोले धेरै कुरा भन्न नमिल्ने डाक्टर जोशीले बताउनुभयो । “ बाहिर जे जस्तो घाउ देखिएको छ । याेनीबाट रगत बगेको छ त्यति नै हो,” डाक्टर जोशीले भन्नुभयो, “थप कुरा भन्न मिल्दैन ।”

दोषी पत्ता नलागेसम्म परिवारले शव नबुझ्ने 
परिवारका सदस्यले हत्याका दोषी पत्ता नलागेसम्म भागरथीको शव नबुझ्ने बताएका छन् । परिवारका काका नाता पर्ने शिवराज भट्टले हत्याका दोषी पक्राउ नपरेसम्म शव नबुझ्ने बताउनुभयो ।
भागरथीका काका शिवराज भट्टले जिल्ला प्रहरी कार्यालय बैतडीमा हत्याको अनुसन्धान गरिपाउँ भनी जोहेरी दिनुभएको छ ।

भागरथीका दाइ केशव आइतबार घर फर्किए
बहिनीको हत्याको खबर सुनेपछि रोजगारीका लागि भारत गएका केशवराज भट्ट आइतबार घर पुग्नुभएको छ ।
बहिनीको हत्यापछि आमा द्रोपति घरमा एक्लै हुनुहुन्छ । उहाँ छिनछिनमा बेहोस हुने गरेको शिवराज भट्टले बताउनुभयो । भागरथीले पालेका बाख्रा र गाईवस्तुलाई घाँस दिने मान्छेसमेत नहुँदा वस्तुभाउ आँगनमा कराइरहेको उहाँले बताउनुभयो ।

दुई महिना अघि उपचारको क्रममा बुबाको मृत्यु भएपछि घर खर्च चलाउन यही माघ ४ गते पढाइ छोडेर केशवराज भट्ट रोजगारीका लागि भारत जानुभएको थियो ।
“बुवाको मृत्युपछि घरमा आमा र बहिनीलाई छोडेर घर खर्च चलाउन भारत गएको थिएँ,” भक्कानिँदै केशवले भन्नुभयो,“ कुन पापीको आँखा लाग्यो होला ? फूल जस्ती मेरी बहिनीलाई निमोठेर संसार ध्वस्त बनाइदियो । दोषी पत्ता नलागेसम्म हामी घरमा ढुक्कले कसरी बस्न सक्छौं ? चाँडो दोषी पत्ता लगाउन हाम्रो माग छ ।”

दोषी पक्राउको माग ठाउँ ठाउँमा नाराजुलुस
भागरथीको हत्याका दोषी पक्राउको माग गर्दै शनिबार दोगडाकेदार गाउँपालिकाका स्थानीयले महाकाली लोकमार्गको बैतडी–दार्चुला सडक खण्डमा ३ घण्टा चक्काजाम गरेका छन् ।
आइतबार बैतडी सदरमुकाममा विद्यार्थीहरुले भागरथी हत्याका दोषी पत्ता लगाउन माग गर्दै ससदरमुकाममा विरोध र्याली निकालेका छन् ।