logo
२०८१ मंसिर ८ शनिवार

लोभ लाग्दा माटाका भाँडा (फोटो फिचर)

फिचर |
पढ्नै पर्ने |
फोटो फिचर |


2021-09-01-45684


दिवाकर पोख्रेल

देउखुरी, भदौ १६ गते । केही दिनदेखी लगातार परेको वर्षाका कारण माटोको भाँडा बनाउने कुमालेले भाँडा सुकाउन पाएका छैनन् । मेसिनमा माटोलाई कुँदेर भाँडाको आकार दिइसकेपछि केही समय घाममा सुकाएर भट्टी पोल्नुपर्ने भए पनि झरीका कारण दाउराको जोहो गर्न नपाउँदा भाँडाले मौसम कुरेर बसेका छन् । दाङको गढवा गाउँपालिकाको वडा नम्बर १ बडहरा, पत्रिङगा, मलमला गाउँमा कुमाल समुदायले व्यावसायिक रुपमा माटाको भाँडा बनाउने गर्दछन् ।

अहिले कुमाल समुदायले हरितालिका (तिज), दसैँ, तिहार लगायतका पर्वलाई लक्षित गरी निर्माण गरेका पाला, खुत्रुके, गमला, पटेला, ठेकुवा, करुवा, पैनी सुक्न पाएका छैनन् । लगातार झरी पर्दा बाहिर काम गर्न नमिल्ने हुँदा अहिले कुमालेहरु माटाका भाँडा बनाउन व्यस्त छन् । गढवा गाउँपालिका वडा नम्बर १ बडहरा निवासी राजकुमार थारु कुमालले पानीमा घरबाहिर काम गर्न नमिल्ने हुनाले घरमै बसेर माटाका भाँडा बनाउने गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, मौसम खुल्यो भने सुकाउने र पकाउने काम गर्छौ, यो समयमा जति सकिन्छ बनाउने तर्फ लागेका छौँ । विशेषगरी अहिले आफूहरू पाला, गमला बनाउन तर्फ केन्द्रित भएको कुमालले जानकारी दिनुभयो । चाडपर्वहरु नजिकिँदै गर्दा कुमाल समुदायलाई माटाका भाँडा बनाउन भ्याई नभ्याई छ ।

दाङको गढवामा निर्माण गरिएको माटाका भाँडा दाङ सहित छिमेकी जिल्ला र ठूला शहरमा समेत विक्री हुने गरेको छ । गढवा १ पत्रीङ्गाका गाजुराम कुमालले माटाका पालाको लागि प्युठानबाट अर्डर आइसकेकोले आफूहरू अहिले पाला बनाउन व्यवस्था रहेको बताउनुभयो । प्रति पाला सात रुपियाँ थोकमा विक्री गर्ने गरेको उहाँले जानकारी दिनुभयो । माटाका भाँडा विक्री गरेर वार्षिक दुई देखि तीन लाख सम्म आम्दानी गर्ने गरेको गाजुरामले बताउनुभयो । माटोको भाँडा बनाउने पेसा नै मुख्य पेसा अँगालेका दाङ गढवा गाउँपालिकाका वडा नम्बर १ मा मात्रै ४५ घर परिवार यस पेशामा संलग्न रहेका छन् ।

यस्तै गढवा गाउँपालिकाको वडा नम्बर ४ खैरामा पनि २५ घरपरिवार माटाका भाँडा बनाउने पेशामा संलग्न छन् । उक्त स्थानमा सहकर्मी समाज नामक संस्थाले आधुनिक माटोका भाँडा पकाउने भट्टी निर्माण गरिदिएको छ । गढवाकै वडा नम्बर ६ गढवा कुमाल टोलमा पनि १५ घरपरिवार माटामा भाँडा बनाउने पेशामा संलग्न छन् । त्यहाँ आधुनिक चुलो(भट्टी) नहुँदा सामान्य भट्टीबाटै माटाका भाँडा पकाउने गरेका छन् ।

गढवा गाउँ पालिका सबैजसो वडामा कुमाल समुदायले माटाका भाँडा बनाउने पेसा अँगालेका कारण मुख्यमन्त्री मन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रम अन्तर्गत गढवा गाउँपालिकाले पनि कुमाले पेशालाई संरक्षण गर्ने कार्यक्रम अघि सारेको छ । गत आर्थिक वर्ष २०७७/०७८ मा गढवा गाउँपालिकाबाट सात लाख ५० हजार, स्थानीय गैरसरकारी संस्था सहकर्मी समाजबाट चारलाख र उपभोक्ताबाट दुई लाख बराबरको श्रमदान गरी १३ लाख ५० हजारको लागतमा आधुनिक भट्टी निर्माण गरिएको छ । गढवा गाउँपालिका प्रवक्ता तथा वडा नम्बर १ का वडा अध्यक्ष बाबुराम अधिकारीले कुमाले पेशाको संरक्षण, संवर्द्धन गर्ने योजना आफूहरूको रहेको भन्दै थप वडामा पनि माटाका भाँडा पोल्ने भट्टी निर्माणमा सघाउने बताउनुभयो ।

पछिल्लो समय प्लास्टिकका सामानले बजार पाउन थालेपछि माटाका भाँडाको माग घटेपनि सौखिन व्यक्तिहरूले माटाका भाँडा प्रति पनि चासो दिने गरेको माटाका भाँडा बनाउनेहरु बताउँछन् । प्लाष्टिकका भाँडाले गर्दा धेरै माग नभएपनि चाडपर्वमा माटाकै भाँडा खोज्न घरमै आउँछन्, गढवा गाउँपालिका वडा नम्बर ६ खैराकी सुशीला चौधरीले भन्नुभयो ।