logo
२०८१ बैशाख १५ शनिवार



इन्द्रजात्रा

विचार/दृष्टिकोण |


इन्द्रजात्रा


दीर्घराज प्रसाई

लिच्छविकालीन राजा गुणकामदेवले इन्द्रध्वज लिङ्गो गाडी इन्द्र देवताको मूर्ति त्यहीँ राखेर कान्तिपुरमा इन्द्रजात्रा प्रारम्भ गरेका थिए । इन्द्रजात्राको लिङ्गो स्थापना गरी कुमारीको रथयात्रामा सहभागी हुने परम्परा नेपालको सांस्कृतिक प्रतिष्ठा बनेको छ । कुमारीको रथयात्रा विक्रम संवत् १८१० देखि चलेको हो । यो प्रचलनलाई जयप्रकाश मल्लले उठान गरेका थिए । जीवित देवीका रूपमा कुमारीको पूजा गरिन्छ । कुमारीलाई काली भगवतीको अवतारका रूपमा मानिन्छ । तीन वर्षकी शाक्य वंशकी बौद्ध चेलीलाई सुख–समृद्धि, दाता र रक्षकका रूपमा कुमारीलाई मानिन्छ । कुमारीको नियुक्ति राष्ट्रप्रमुखबाट हुन्छ । रातो पहिरनमा सजिएकी कुमारीको हजारौँ हिन्दु तथा बौद्ध धर्मावलम्बीले पूजा गर्छन् । कुमारीको बसोबासो कुमारी घरमा नै हुन्छ । पर्यटकका लागि कुमारी र कुमारीका घर आकर्षणको केन्द्र बनेको छ ।
ऐतिहासिक रूपमा इन्द्रजात्राको महìव छ । गोर्खाका राजा पृथ्वीनारायण शाहले इन्द्रजात्राकै दिन विक्रम संवत् १८२५ असोज १३ गतेको राति ३ बजे हनुमानढोकाको राजगद्दीमा बसेर नेपालको जग बसालेका थिए । काठमाडौँ उपत्यका विजयपछि पृथ्वीनारायण शाहले शाक्य बौद्ध वंशकी जीवित कुमारीको हातको टीका लगाई ढोग गरेर मात्र राजसिंहासनमा बसेका थिए । यस कुराले नेपाल अधिराज्यका सम्पूृर्ण धर्म, जाति र यस क्षेत्रको परम्परालाई शिरोपर गर्न सकेको बोध गराउँछ ।
२०६३ सालको परिवर्तनपछि बनेको सरकारले बजेट रोकिदिएर नेपालको ऐतिहासिक र परम्परागत महìवको चाडलाई विस्थापित गर्न खोजिएको थियो । यद्यपि जनताको खबरदारीपछि इन्द्रजात्रा र कुमारीको रथ यात्राका लागि सरकारी बजेट यथावत् रूपमा नै
स्थापित छ ।
नेपाल हिन्दु र बौद्धको आधिकारिक थलो हो । विश्वका धर्महरूमा हिन्दु धर्म अत्यन्त उदार धर्म हो । जर्मनका विद्वान् भोल्टेयरले भनेका थिए, “हिन्दुशास्त्र पश्चिमी जगत्का लागि पूर्वीय जगत्को सबैभन्दा महìवपूर्ण उपहार हो ।” बेलायतका विद्वान् जर्ज वर्नाड शाले भनेका थिए, “हिन्दुधर्म संसारको सर्वाधिक र उदार धर्म हो ।” वैदिक–हिन्दु सभ्यता विस्तार गर्ने क्रममा ऋषिहरूले भनेका थिए, “कृण्वन्तो विश्वमार्यम्” अर्थात् विश्वलाई सभ्य बनाऔँ । यस क्षेत्रका अनेकौँ ऋषिमुनिहरूबाट संसारमा मानव सभ्यता सिञ्चित भएको हो । इरान देशको फार्सी साम्प्रदायको प्राचीन ग्रन्थ ‘शातीर’मा व्यास ऋषिको वाक्यलाई उद्धृत गरिएको छ । उक्त ग्रन्थमा, “म हिन्दु देशमा जन्मिएको सच्चा हिन्दु हँु” भन्ने उल्लेख छ । दुई हजार पाँच सय वर्षअघि इरानको फारसी पोलिसनगरमा ईशाभन्दा ४८६ वर्ष पुरानो दारा हस्तास्पको स्मारकको शिलालेखमा ‘हिन्दु’ र हिन्दुस दुवै उल्लेख भएको ‘इन्साइक्लोपिडिया अफ रिलिजन्स् एन्ड एथिक्स्’मा उल्लेख छ । (पं. सोमनाथ घिमिरे)मनुले विन्ध्य र हिमालको बीचको भागलाई आर्यावर्त मान्नुका साथै प्रयागदेखि सीधा उत्तर हिमालयसम्मको भागलाई ब्रह्मर्षि देशमा गणना गरेका थिए । वशिष्ठ ऋषिले वशिष्ठ उपनिषद्मा उल्लेख गरेका छन्, “भारतखण्डे उत्तरायणे हिमालय तटे स्वर्णभूमि स्वर्गभूमि ।” कालिदासले पनि कुमार सम्भवको पहिलो श्लोकमा “हिमालय पर्वतको पूर्वदेखि पश्चिमसम्मलाई आर्यभूमि” भनेका थिए । सप्तगण्डकीमा काश्यप ऋषि, पुलस्त्य ऋषि, कोसी किनारमा कौशिक ऋषि (विश्वामित्र), गोर्खामा वेदव्यास, तìवज्ञानी दार्शनिक राजा जनकको राज्यमा याज्ञवल्क्य, गार्गी मैत्रेयी, गण्डकमा वाल्मीकि ऋषि, बागमती किनारमा ‘ने’मुनि नामका ऋषि र ऋग्वेदमा ऋषिहरूले ख्याति कमाएको उल्लेख छ । विश्वको सातौँ आश्चर्यमध्ये चीनको विशाल पर्खालको पश्चिमी द्वारमा चौध फुट लामो संस्कृत मन्त्र रहेको र यो मन्त्रलाई मङ्गोल सम्राट् कुब्ला खाँले चौधौँ शताब्दीमा ‘ॐ नमो भगवते वासुदेवाय’ आदि लेखिएको छ, (पुरुषोत्तम घिमिरे) । चीनको ग्रेटवालको ढोकाहरूमा महाभारतका श्लोकहरू संस्कृत भाषामा कलापूर्ण अक्षरमा लेखिएका छन् (स्वामी प्रपन्नाचार्य) । यस्तो महानता बोकेको हिन्दुस्थल जोगाउनमा गोर्खाका राजा पृथ्वीनारायण शाहबाट साम, दान, दण्ड, भेदको नीति अवलम्बन गरेर यो पूण्यभूमि बचाउन सकेका थिए । नेपाल एकीकरणको अभियानमा गोर्खाका राजा पृथ्वीनारायण शाहको नेतृत्वमा नुवाकोट, कान्तिपुरपछि कान्तिपुरलाई कसरी कब्जा गर्ने भन्ने विषयमा भारदारहरू र ज्योतिषीहरूसँग छलफल भयो । कान्तिपुरका राजा, भारदार, प्रजा सबै इन्द्रजात्राको उत्सव मनाउन नाचगान तमासामा व्यस्त हुने हुँदा गोर्खालीले त्यसै अवसरलाई उचित समय ठानी आक्रमणको तयारी गर्न थाले । जयप्रकाश मल्लको हिम्मत जाँच्न विक्रम संवत् १८२५ असोजमा कान्तिपुर सहरको उत्तरतर्फ पर्खाल बाहिरतर्फ पर्ने ठमेल टोलमाथि आक्रमण गर्न सैनिक पठाइएको थियो । त्यो बेला जयप्रकाश मल्लले फौजलाई धपाउन कुनै प्रयास नगरेकाले गोर्खालीको हिम्मत अझ बढ्यो । पृथ्वीनारायण शाहले कान्तिपुरका भारदार तथा जनतालाई पनि उनीहरूको धनजनको सुरक्षा गरिदिने वचन दिई कूटनीतिक तरिकाबाट आफ्नो पक्षमा मिलाए । गोर्खालीद्वारा कान्तिपुरको घेराउ गरी विकट परिस्थिति बनाएको हुँदा इन्द्रजात्राको चाड मनाउने वा नमनाउने सम्बन्धमा जयप्रकाश मल्लले भारदारहरूसँग सल्लाह गरे । अन्त्यमा उक्त चाड भव्यताका साथ मनाउने निश्चित गरे । सहर वरिपरि रहेका पर्खालका ढोकाहरू भित्रबाट बलियोसँग बन्द गरी नगरकोटी सैनिकहरू राख्ने प्रबन्ध मिलाएर उत्सव मनाउन थाले । उक्त चाड असोज ९ देखि १६ गतेसम्म मनाइने योजना थियो । यसै समयमा कुमारीको रथयात्रा पनि गराइन्थ्यो । ज्योतिषी कुलानन्द ढकालको साइतअनुसार विक्रम संवत् १८२५ असोज १३ गतेको राति ३ बजे कान्तिपुर दरबारमाथि आक्रमण गर्ने योजना भयो । पृथ्वीनारायण शाहले गोर्खाली फौजलाई तीन÷तीन भागमा विभाजन गरी पूर्व, पश्चिम, उत्तरतर्फबाट आक्रमण गर्ने योजना मिलाए । यसअनुसार टुँडिखेल, भीमसेनस्थान र नरदेवीबाट आक्रमण गर्न सम्पूर्ण प्रबन्ध मिलाई निश्चित साइतमा आक्रमण गरे ।
यसबारेमा इतिहास शिरोमणि बाबुराम आचार्यले लेखेका छन्, “कान्तिपुरका राजा जयप्रकाश मल्ल असोज १३ गतेको साँझदेखि नै कुमारीको रथमा बसी गणेश र भैरवको रथ अघि लगाई रथ यात्रा गरेको समयमा गोर्खाली फौजले आक्रमण ग¥यो । मुख्य सेनापतिहरूमा वंशराज पाण्डे, तुलाराम पाण्डे, रामकृष्ण कँुवर, केहरसिंह बस्नेतलगायत पृथ्वीनारायण शाहका भाइहरू महोद्दामकीर्ति शाह, दलमर्दन शाह र सुरप्रताप शाहसमेत सम्मिलित भएको करिब एक हजारको फौज थियो । गिर्दा पर्खालका ढोकाहरूलाई बन्चराले चिरेर गोर्खाली फौज भित्र पसेपछि त्यहाँका रक्षकहरू नगरकोटी फौजसँग केहीबेर लडाइँ भयो । मल्ल फौजतर्फका २०–२५ सैनिक मारिएपछि अरू भागेर जयप्रकाश मल्ललाई स्थिति अवगत गराउन गए । जयप्रकाश मल्ल तुरुन्तै रथबाट ओर्लिएर सेना लिई गोर्खालीसँग लड्न अघि सरे तापनि केही बेरको युद्धपश्चात् उनको जोड नचलेकाले तलेजुको मन्दिरभित्र गई लुके । त्यहाँ पनि गोर्खाली फौजले घेरा गर्न थालेकाले तीन सयजति विश्वासी नगरकोटी सैनिक साथ लिई बागमती नदी पार गरी ललितपुरका राजा तेजनरसिंह मल्लको शरणमा गए । गोर्खालीले हनुमानढोका राजदरबारमा अधिकार गरेपछि रिक्त राजगद्दीमा पृथ्वीनारायण शाह विराजमान भए । उनले भाइ–भारदार तथा सेना पठाई कोहिटीबाट कुमारीको रथ यात्रा यथावत् चलाउने आदेश दिनुका साथै कुमारी देवीलाई विधिपूर्वक पूजा गरी टीका तथा प्रसाद ग्रहण गरेकाले कान्तिपुरे जनता ज्यादै खुसी भए । पृथ्वीनारायण शाहले नेवारी संस्कृति तथा परम्परालाई मान्यता दिएकाले जनताको दृष्टिमा जयप्रकाश मल्ल र पृथ्वीनारायण शाहमा केही अन्तर रहेन । बिहान उज्यालो भएपछि मात्र कान्तिपुरका सर्वसाधारण जनताले आफूलाई गोर्खाली राजाको प्रजा भएको चाल पाए । पृथ्वीनारायण शाहले जनताका घर–खेत, बिर्ता, गुठी सबै थमौती गरी सबैलाई निश्चित रहन झ्याली पिटाए । कान्तिपुरका जनताले पनि नयाँ राजाको भव्यता तथा हार्दिकतासाथ स्वागत गरे । बाजागाजासाथ हर्षबढाइँ गरे । सर्वत्र जयजयकार भयो, प्रत्येक घरमा दीपावली भयो ।
पृथ्वीनारायण शाहले उपत्यका विजय गरेपछि विक्रम संवत् १८२५ को वसन्तपुर दरबारको अभिलेखमा, “राजा पृथ्वीनारायणको वंश गुह्येकाली र पशुपतिका दुई पाउका धुलाका प्रसादले स्थिर भइरहोस्” भनेर गौरवमय विक्रम संवत् उल्लेख गरेका थिए । राष्ट्रनिर्माता पृथ्वीनारायण शाह र उनीपछि उनका कान्छा छोरा बहादुर शाहले सबै जाति र समूहको सहयोगमा टुक्रा–टुक्रामा विभाजित हिमवत् खण्डका पूर्वमा टिष्टा र पश्चिममा काँगडासम्मका ससाना हिन्दु राज्यलाई एकीकृत गरेका थिए । इन्द्र जात्राको शुभमुहूर्तमा हामी सम्पूर्ण नेपाली चाहन्छौँ, “नेपालको एकता र सार्वभौमसत्ता सदासर्वदा अटल रहिरहोस् ।”



यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?