logo
२०८१ बैशाख ४ मंगलवार



गम्भीर समस्या बन्दै एन्टिबायोटिकको गलत प्रयोग

ब्याक्टेरियाको शक्ति बढ्दै

फिचर |
स्वास्थ्य |
पढ्नै पर्ने |


गम्भीर समस्या बन्दै एन्टिबायोटिकको गलत प्रयोग


काठमाडौँ, मंसिर ३ गते । बिरामीलाई सङ्क्रमणजन्य रोगबाट टाढै राख्न चिकित्सकको सिफारिसमा एन्टिबायोटिक औषधिको प्रयोग हुन्छ । यसले शरीरमा भएका ब्याक्टेरियालाई नष्ट गर्ने काम गर्छ । एन्टिबायोटिक सङ्क्रामक रोगविरुद्ध प्रयोग हुने महत्वपूर्ण औषधि हो । पछिल्लो समय एन्टिबायोटिकको जथाभावी प्रयोग गर्नाले जनस्वास्थ्यमा गम्भीर असर परेको भन्दै विज्ञले चिन्ता व्यक्त गरेका छन् ।

मदन भण्डारी स्वास्थ्यविज्ञान प्रतिष्ठानकाे क्लिनिकल फर्माकोलोजिस्ट विभागका प्रा. डा. सतीशकुमार देवले आफूखुसी बिरामीले एन्टिबायोटिकको प्रयोग गर्ने क्रम बढ्दै गएको भन्दै चिन्ता गर्नुभएको छ । ‘एन्टिबायोटिक प्रयोगको नियम हुन्छ । विज्ञको सल्लाह लिनुकाे साटाे आफन्त र साथीभाइको लहलहैमा लागेर एन्टिबायोटिक प्रयोग गर्नाले पछिल्लो समय ठूलो समस्या निम्त्याएको छ,’ डा. देव भन्नुहुन्छ । पछिल्लो समयमा एन्टिबायोटिकको दुरुपयोगका कारण यसले काम गर्न छोडेको वरिष्ठ औषधि विशेषज्ञ बाबुराम हुमागाईंको भनाइ छ ।

उहाँका अनुसार जथाभावी एन्टिबायोटिकको प्रयोगले गर्दा यो सङ्क्रमणजन्य रोगमा यसको प्रभाव निकै न्यून देखिएको छ। चिकित्सकको सिफारिस विना प्रयोग गर्न नहुने नियम भए पनि नेपालमा एन्टिबायोटिकको जथाभावी रुपमा विक्री र प्रयोग जबसम्म यो रोकिँदैन यसको समस्या अझ बढ्दै जाने हुमागाईं बताउनुहुन्छ ।

रुघाखोकी लाग्दा होस् वा सामान्य टाउको दुख्दा आफू खुशी औषधि पसलमा गएर एन्टिबायोटिक किनेर खाने प्रचलनले समस्या भएको हुमागाईंको भनाइ छ । फार्मेसीमा व्यापार बढाउने नाममा सामान्य बिरामीलाई कडा एन्टिबायोटिक दिने गरेको पाइन्छ । यसले मानव स्वास्थ्यमा गम्भीर असर गर्ने भएकाले यसो गर्नु नहुने उहाँको भनाइ छ । चिकित्सक वा स्वास्थ्यकर्मीले सिफारिस नगरेसम्म एन्टिबायोटिकको प्रयोग गर्न नहुने औषधि व्यवस्था विभागका महानिर्देशकले नारायण ढकालको भनाइ छ ।

औषधिको दुरुपयोग रोक्नका लागि औषधि विभागले एन्टिबायोटिकलाई तीन तहमा वर्गीकरण गरेको छ। जसमध्ये कुनै पनि औषधि चिकित्सले सिफारिस नगरेसम्म खान मिल्दैन । ‘चिकित्सकले पहिलो वर्गीकरणले काम नगरेपछि मात्र दोस्रो वर्गीकरणको सिफारिस गर्ने व्यवस्था छ । दोस्रोले पनि काम नगरेपछि तेस्रो प्रकारको औषधि सिफारिस गर्न सक्ने व्यवस्था विभागले गरेको छ’, ढकाल भन्नुहुन्छ । ढकालका अनुसार घाँटी, निमोनिया, पिसाबबाट पेटमा हुने सङ्क्रमणको निवारणमा यस्ता औषधि प्रयोग गरिन्छ । संक्रमणको किसिम र अवस्था हेरेर विभिन्न आधारमा फरक खालका एन्टिबायोटिक प्रयोगमा ल्याइन्छ । अर्थात् बिरामीको जाँच गरेर मात्र औषधि दिइन्छ । पछिल्लो समय एन्टिबायोटिकको प्रयोग जथाभावी भएको भन्दै विभागले समय समयमा अनुगमन गर्दै आएको छ । विभागले गर्ने अनुगमन भने प्रभावकारी देखिएको छैन ।

के हो एन्टिबायोटिक रेसिस्टेन्स ?
पछिल्लो समय ब्याक्टेरियाविरुद्ध लड्ने एन्टिबायोटिकको क्षमतामा ह्रास आइरहेको छ । यसलाई मेडिकल भाषामा ‘एन्टिबायोटिक रेसिस्टेन्स’ भनिन्छ । जथाभावी प्रयोगका कारण यस्तो अवस्था आएको वरिष्ठ औषधि विशेषज्ञ हुमागाईंको भनाइ छ । एन्टिबायोटिक रेसिस्टेन्स विश्वभर चुनौतिको विषय बनेको छ । ‘शरीरमा एन्टिबायोटिकले काम गर्न छाड्नुको मुख्य कारण यसको जथाभावी प्रयोग नै हो, हुमागाईं भन्नुहुन्छ, ‘शरीरमा एन्टिबायोटिक आवश्यक नभएको अवस्थामा पनि यसको प्रयोग गर्दा क्षमता स्वतः घट्दै जान्छ ।’ उहाँका अनुसार भाइरल इन्फेक्सन अर्थात् रुघाखोकी सामान्यतया ३ दिनमा निको हुन्छ । त्यसका लागि एन्टिबायोटिकको प्रयोग गर्नु नहुने उहाँको सुझाव छ ।

‘एन्टिबायोटिक बढी प्रयोग हुँदा यसको असर घट्दै जान्छ’, हुमागाईं भन्नुहुन्छ, ‘हामीकहाँ औषधि पूर्ण रूपमा सेवन नगर्नु अर्को समस्या बनेको छ । बिरामीले औषधिको पूरा डोज नलिँदा तत्काल रोग निको भए पनि स्वास्थ्यमा नकारात्मक असर परिरहेको हुन्छ ।’ अहिले प्रयोग हुने एन्टिबायोटिक धेरै समयअघि बनाइएका हुन। बजारमा नयाँ एन्टिबायोटिकको अभावले पनि ‘एन्टिबायोटिक रेसिस्टेन्स’ बढाउने भूमिका खेलेको उहाँको भनाइ छ । यो विषयमा अनुगमनको पाटोलाई प्रभावकारी बनाउनुपर्ने उहाँको भनाइ छ ।
औषधिको गलत प्रयोगले विस्तारै मानिस, पशुपंछी तथा बोट विरुवामा देखिने रोगको उपचारमा समस्या बढ्दै गएको छ ।

विकासोन्मुख देशमा ठूलो असर
एन्टिबायोटिकको समुचित प्रयोग नभए यसको सबैभन्दा ठूलो असर नेपालजस्तै विकासोन्मुख देशमा पर्ने विज्ञले बताएका छन् ।

सूक्ष्म जीवाणुबाट हुने सङ्क्रमणको रोकथाम तथा उपचारका लागि महत्वपूर्ण मानिएको एन्टिबायोटिकको उचित प्रयोग नहुँदा सूक्ष्म जीवाणुले एन्टिमाइक्रोबियल रेजिस्टेन्स विकास गरेको हो । यसले औषधि कम प्रभावकारी हुँदै गएको बताएका छन् । यसैबीच स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको संयोजकत्वमा कृषि तथा पशुपंक्षी विकास मन्त्रालय र वन तथा वातावरण मन्त्रालयको सहकार्यमा विभिन्न कार्यक्रम गरेर एन्टिमाइक्रोबियल सचेतना सप्ताह सञ्चालन गरेको छ । एन्टिमाइक्रोबियल रेजिस्टेन्स एक विश्वव्यापी जनस्वास्थ्य समस्याको रुपमा देखापरेको छ । यसले हरेक वर्ष करिब सात लाख मानिको मृत्यु भएको विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले जनाएकाे छ ।

डब्लुएचओले यसको नियन्त्रणको लागि ठोस कदम नचाल्ने हो भने मृत्युको सङ्ख्या बढेर सन् २०५० सम्ममा वार्षिक एक करोड पुग्ने र सय खर्ब अमेरिकी डलर बराबरको आर्थिक क्षति हुने चेतावनीसमेत दिएको छ । विश्व स्वास्थ्य सङ्गठन, खाद्य तथा कृषि सङ्गठन र विश्व पशु स्वास्थ्य सङ्गठनको संयुक्त आह्वानमा सन् २०१५ देखि हरेक वर्ष नोभेम्बर महिनामा साप्ताहिक रुपमा यो सप्ताह मनाइन्छ । यो वर्ष ‘एन्टिमाइक्रोबियल्सको प्रयोग सावधानीपूर्वक गरौँ’ भन्ने मूल नारा छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?