logo
२०८१ बैशाख १७ सोमवार

   फेशन रिभ्यू 



सुशीलाको 'सुसेलीज' कलेक्सन जहाँ थारू 'कल्चर' झल्किन्छ

फिचर |


सुशीलाको 'सुसेलीज' कलेक्सन जहाँ थारू 'कल्चर' झल्किन्छ


काठमाडौं, पुस ३ गते । नेपाली समाजमा आफूभन्दा सानालाई छुट्टै नामबाट बोलोउने गरिन्छ । जस्तै, बहिनीलाई काली, भुन्टी जस्ता उपनामले बोलाउने चलन छ। कैलालीकी सुशीला चौधरीलाई पनि गाउँघरमा आफन्तले मायाले सानैदेखि सुसेली भनेर बोलाउने गर्थे । सुसेलीको अर्थ सरल, मिठो, मायालु वा सुशील हो ।

तर, सुशीलाले आफूलाई मायाले दिएको उपनामलाई रुपान्तरण गर्दै आफ्नो पहिचान बनाउनु भएको छ । काठमाडौं बानेश्वरको आलोकनगरमा सुसेली बुटिक एण्ड कलेक्सन छ । जुन नाम उहाँले आफ्नै उपनामबाट राख्नुभएको हो ।

आलोकनगरमा व्यवसायिक रुपमा बुटिक खोल्नुभएको पाँच महिना भयो । पाँच वर्षसम्म आफ्नै कोठाबाट सानो लगानीमा सुरु गरेको बुटिकबाट अहिले व्यवसायिक रुपमा अगाडि बढाउनु भएको हो । ‘घरबाट काम गर्दा भ्याइनभ्याइ काम आउँथ्यो’, उहाँले भन्नुभयो, ‘व्यवसायिक रुपमा सुरु गर्ने सोच पहिले नै थियो ।’

बुटिकमा पहिले भन्दा अहिले बढी ग्राहक आउने सुशीला बताउनुहुन्छ । उहाँले पाँच जनालाई रोजगारी दिनुभएको छ । दुई जना भने कैलालीका भएको सुशीलाले जानकारी दिनुभयो ।

सानैमा सिकेको सीपलाई व्यवसायिक रुप

आफूले सानैदेखि सिकेको कामलाई व्यवसायिक रुप दिएको सुशीलाको भनाइ छ । उहाँले सिलाई बुनाइको काम सानैमा घरमा आमाले गरेको देखेर सिक्नु भएको हो । त्यसैले पनि यो व्यवसाय सुरु गर्न उहाँलाई समस्या भएन ।

‘थारु समाजमा सबै डिजाइन हातबाट नै बनाइन्छ । सानैदेखि मलाई सिलाई कटाइको काम राम्रो लाग्थ्याे’, उहाँले भन्नुभयो, ‘फेरि, थारु कल्चरमा हातको काम धेरै हुन्छ । सबै लुगा हातलै नै तयार गर्नुपर्छ ।’

२०७१ मा स्नातक सकेर उहाँ उच्च शिक्षाका लागि काठमाडौं आउनुभएको थियो । काठमाडौं आएपछि पढ्दै एक प्रोजेक्टमा काम गर्नुभयो । ‘प्रोजेक्टको काममा मलाई खासै चित्त बुझेको थिएन’, उहाँले भन्नुभयो, ‘काममा आफू कतै हराएको महसुस भयो ।’ काम मन नपरे पनि प्रोजेक्टले १५ दिनको तालिम दिएको थियो । त्यो तालिमले जीवनमा आफैले केही गर्नुपर्छ भनेर आँखा खोलिदिएको सुशीलाले बताउनुभयो ।

‘त्यो तालिमले अरुको भर पर्नुभन्दा सानै भए पनि आफ्नै केही गर्ने सोच आयो’, सुशीला सम्झनुहुन्छ, ‘सानैदेखि सिलाईमा लगाभ भएकाले सिलाई सम्बन्धी व्यवसाय गर्ने सोच बन्यो ।’

पढाइ पनि फेसन डिजाइन

प्रोजेक्टको जागिर छोडेर उहाँले फेसन डिजाइनिङ पढ्ने सोच बनाउनुभयो । सुरुमा बुवाले उहाँको प्रस्ताव मान्नुभएन । बुवाले शिक्षा विषयमै उच्च शिक्षा लिन सुझाव दिनुभयो । तर, उहाँको मन भने मानेन ।

बुवाको अनुमति बिनै उहाँ काठमाडौंको आईसी कलेज अफ आर्ट एण्ड फेसनमा भर्ना हुनुभयो । आफूलाई मनपर्ने विषय भएर होला उहाँलाई कलेजमा छिट्टै समय बितेको जस्तो लाग्थ्यो । ‘कलेजमा बारम्बार विभिन्न फेसन शो हुन्थे’, सुशीला कलेजका दिन सम्झदै भन्नुहुन्छ, ‘धेरै सञ्चार माध्यमले समाचार बनाउथे । मलाई फेसनमा सहभागी थारु चेली भन्दै समाचार बनाएपछि घरमा सबैले मैले पढेको विषय थाहा पाउनुभयो ।’ उहाँले पढ्न थाल्नु भएको दुई वर्षपछि मात्र घरमा थाहा भएको थियो ।

उहाँलाई फेशन डिजाइनिङमा उच्च शिक्षा हासिल गर्ने मन छ । तर, नेपालमा फेशन डिजाइनिङमा मास्टर्स पढाइ हुने कलेज नै छैनन् । ‘मास्टर्स गर्ने हो भने भारत वा अन्य देश जानुपर्ने बाध्यता छ’, उहाँले भन्नुभयो । 

सुसेलीलाई ब्राण्ड बनाउने योजना

सुशीलाले सुसेलीलाई एउटा ब्राण्डको रुपमा स्थापित गर्ने योजना बनाउनुभएको छ । अन्य ठाउँमा पनि सुसेली खोल्ने उहाँको सपना छ । ‘सुसेलीलाई एउटा ब्राण्ड बनाएर अगाडि बढ्ने योजना बनाएकी छु’, उहाँले भन्नुभयो, ‘तर, तत्काल सोचेजस्तो हुँदैन ।’

उहाँको बुटीकमा सबै किसिमको अर्डर आउने गर्छ। ती मध्ये थारु डिजाइनका लुगा धेरै अर्डर आउने उहाँ बताउनुहुन्छ । ‘थारुका लुगा बनाउन सजिलो छैन । थारु लुगा डिजाइन गर्न धेरै दिन लाग्छ’, उहाँले भन्नुभयो, ‘कुनैकुनै थारु लुगा तयार गर्न १० देखि १२ दिनसम्म पनि लाग्छ ।’

बुटीकमा थारु लुगाको लागि पूर्वदेखि पश्चिमसम्मकाे अर्डर आउने गर्छ । यसबाहेक अमेरिका, अष्ट्रेलिया र जापानमा जस्ता देशबाट पनि  थारु पहिरनको माग बढेको उहाँकाे भनाइ छ ।

‘काठमाडौंमा थारु समुदायको कल्चरल लुगा बनाउने ठाउँ भेट्न मुस्किल छ’, उहाँ भन्नुहुन्छ, ‘त्यसैले देश तथा विदेशबाट धेरै अर्डर आउने गर्छ ।’

थारुका पहिरन म्युजिक भिडियोमा पनि प्रयोग गरिएको छ । नरेश जोगीको ‘ओ सजन’ र अन्य १५ वटा गीतमा उहाँका डिजाइन प्रयोग भएका छन् । जस्तै, मिस्टर एण्ड मिसेस थारु, मिस सुदूरपश्चिम, मिस विराटनगर, मिस थारु जस्ता इभेन्टमा उहाँले डिजाइन गर्नुभएको छ ।

लेहेङ्गाको मूल्य ५० हजार

उहाँका अनुसार थारु समुदायका महिलाले लगाउने एउटा लेहेङ्गाको मूल्य चारदेखि ५० हजारसम्म पर्छ । तर काम अनुसारको कमाई नभएको उहाँ बताउनुहुन्छ । एउटा डिजाइनका लागि कहिलेकाही वर्षदिन खट्नुपर्ने उहाँकाे भनाइ छ ।

सुरुका दिनमा बजारमा उहाँ ठगिनुभएको थियो । व्यवसायिक रुपमा बजारमा आउँदा धेरै गाह्रो र अप्ठयारो भोग्नुपरेको थियो । सानो कमाईबाट उहाँले काम सुरु गर्नुभएको हो । ‘पहिलो पटक यो व्यवसायमा लाग्दा १५ हजार कमाएकी थिएँ’, उहाँले पहिलो महिनाको आम्दानी सुनाउँदै भन्नुभयाे, 'अहिले अरुलाई रोजगारी दिएर आफू पनि काम गर्दै आएकी छु । यही नै खुशीको कुरा हो ।'

थारु डिजाइन निकाल्न उहाँले कपडा कैलालीबाटै ल्याउने बताउनुभयो । विशेष गरेर थारुको महत्वपूर्ण पर्व माघीमा उहाँको बुटिकमा भ्याइनभ्याइ हुन्छ । यसबाहेक उहाँले ढकिया, डेलुवा, टोपी, सिरहट्टा, बिँरा, बेना जस्ता हातबाट बनेका विभिन्न सामान संकलन गर्नुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?