logo
२०८० चैत्र १५ बिहीवार



श्रीलङ्काको केन्द्रीय बैंकका गभर्नरले पनि दिए राजीनामा

अन्तर्राष्ट्रिय |


श्रीलङ्काको केन्द्रीय बैंकका गभर्नरले पनि दिए राजीनामा


कोलम्बो, चैत २१ गते । श्रीलङ्काको केन्द्रीय बैंकका गभर्नरले पनि सोमबार पदबाट राजीनामा दिनुभएको छ । गभर्नर अजिथ काब्रालले मुलुकको आर्थिक सङ्कट आफूले सम्हाल्न नसक्ने अवस्थामा पुगेको भन्दै राजीनामा दिनुपरेको उल्लेख गर्नुभएको छ ।

उहाँले राष्ट्रपति गोटाबाय राजापाक्षे समक्ष राजीनामा दिएको जनाउनुभएको छ । श्रीलङ्कामा यसअघि सबै मन्त्रीहरूले पनि राजीनामा दिएका थिए । देशमा आर्थिक सङ्कटसँगै राजनीतिक सङ्कट पनि गहिरिँदै गएपछि जिम्मेबार पदाधिकारीहरूले धमाधम राजीनामा दिन थालेका छन् ।

जिम्मेबार पदाधिकारीहरूले नै धमाधम राजीनामा दिन थालेपछि राष्ट्रपति गोटाबाय राजापाक्षे र प्रधानमन्त्री महेन्दा राजापाक्षे थप सङ्कटमा पर्नुभएको छ ।आर्थिक सङ्कटका कारण मर्कामा परेपछि असन्तुष्ट नागरिकले सरकारका विरुद्धमा प्रदर्शन गर्न थालेपछि राजनीतिक सङ्कट सुरु भएको हो ।

आन्दोलनकारीले राष्ट्रपति राजापाक्षेको निवास घेर्न थालेपछि सरकारले शनिबार बेलुका ६ बजेदेखि ३६ घण्टे कफ्‌र्यु आदेश जारी गरेको छ । आर्थिक संकटसँगै राष्ट्रपति र उच्च सरकारी अधिकारीहरूविरुद्ध सर्वसाधारणले आक्रोश व्यक्त गर्दै आन्दोलित भएपछि सरकारले श्रीलङ्कामा देशव्यापी सुरक्षाका लागि भन्दै सङ्कटकालको घोषणा गरेको छ ।

चरम आर्थिक सङ्कट भोगिरहेको श्रीलङ्कामा हिंसात्मक गतिविधि बढ्न थालेकोले सङ्कटकालको घोषणा गर्नु परेको सरकारी अधिकारीहरूले जनाएका छन् । सार्वजनिक व्यवस्थाको संरक्षण र समुदायको जीवन रक्षाका लागि आवश्यक आपूर्ति र सेवाहरूको मर्मतका लागि भन्दै आपतकालीन अवस्थाको घोषणा गरिएको सरकारले जनाएको छ ।

सरकारको विरोधमा प्रदर्शन गर्नेहरूलाई नियन्त्रणमा लिएर हिरासतमा राख्न पनि सरकारले आदेश जारी गरेको छ । आर्थिक मन्दीसँगै अत्यधिक मूल्यवृद्धि र विद्युत आपूर्ति बन्द हुँदा सर्वसाधारण थप मारमा परेकाले उनीहरु आन्दोलित भएका हुन् ।

सन् १९४८ मा बेलायतको उपनिवेशबाट स्वतन्त्र भएको श्रीलङ्का पछिल्लो समय चरम आर्थिक सङ्कटका कारण अत्यावश्यक वस्तुको आपूर्ति गर्न नसक्दा आम सर्वसाधारण मर्कामा परेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?