logo
२०८१ बैशाख १७ सोमवार



गौरवमय दिन

विचार/दृष्टिकोण |


गौरवमय दिन


दीर्घराज प्रसाई

पुस २७ गते राष्ट्रनिर्माता नायक पृथ्वीनारायण शाहको २९९ औँ जन्मजयन्ती । साम्राज्यवादी शक्तिसँग भिडेर स्थापित भएको राष्ट्र हो विशाल नेपाल । हिमवत्खण्ड नेपालको एकीकरण भएको एकसय वर्ष पछाडि पनि जर्मनी, इटाली टुक्राटुक्रामा विभाजित थिए । नेपालको एकीकरण भएको एकसय वर्ष पछाडिसम्म अन्धकारमा गुज्रिरहेको जापानमा आधुनिक जापान बन्यो । नेपालको एकीकरण हुनुभन्दा २०÷२५ वर्षसम्म पनि अमेरिका बेलायतको उपनिवेश थियोे । नेपालको एकीकरण भएको दुई÷तीन दशकपछि मात्र अमेरिका बेलायती साम्राज्यबाट मुक्त हुन सकेको थियो । अमेरिका, जर्मन, इटाली, जापानलगायत यस्ता कैयौँ देश अन्धकारमा रहेका अवस्थामा पनि बेलायती साम्राज्य यस क्षेत्रलाई आफ्नो कब्जामा राख्न असफल भएको थियो ।
पृथ्वीनारायण शाहबाट विशाल नेपालको एकीकरणको सन्दर्भमा यसक्षेत्रका तमाम हिन्दु–बौद्धहरूलाई फिरङ्गीहरूको विरुद्ध सङ्गठित गराउन गोरखनाथबाट कानफट्टा योगीहरू राति राति भूतप्रेत भगाउन फेरी लगाउन चौतर्फी खटाएको थियो । ती योगीहरूले त्यसबेला शङ्कास्पद फिरङ्गी र अन्य विदेशी गुप्तचरहरूको कहीँ कतै सक्रियता भेटेमा गोर्खाका राजालाई जाहेर गर्थे । फेरी लगाउने परम्परा अध्यावधि पूर्वमा ब्रह्मपुत्र र पश्चिममा काँगडासम्म कायम नै छ । त्यस्तै घरघरबाट हरेक नरनारीहरूमा सैनिक शक्ति जागरण होस् भन्नका लागि खाँडो जगाउने अभियानको थालनी भएको थियो । खाँडोलाई राष्ट्रिय गानको रूपमा मेला वा अन्य जागृत स्थललगायत विवाहहरूमा कण्ठस्त पाठ गर्ने गरिन्थ्यो । नेपालमा अद्यावधि विवाहको शुभ लगनको बेलामा यसरी खाँडो जगाइन्छ ।
पृथ्वीनारायण शाह र उनीपछि उनका कान्छा छोरो बहादुर शाहको नेतृत्वमा यस क्षेत्रका अनेकौँ जाति, थरीहरूको एकता गराएर तमाम नेपालीहरूको राज्य हुन पुगेको छ नेपाल । पृथ्वीनारायण शाहको नेतृत्वमा चन्द्र–सूर्य अङ्कित झण्डा फहराएर हिमवत्खण्डको अस्मिता र मौलिकतालाई जीवन्त राख्न सकिएको हो । अमर सिंह थापालगायत कैयौँ सपूतको नेतृत्व र सक्रियतामा बाइसे, चौबीसे राज्य, कुमाउ, गडवाल हुँदै पश्चिम काँगडासम्म विशाल नेपालको सिर्जना हुन सकेको थियो । विशाल नेपालको सिर्जना हुनुभन्दा अगाडि हिमवत्खण्ड (पूर्वमा ब्रह्मपुत्र, पश्चिममा हिन्दुकुश, उत्तर कैलास मानसरोवर र दक्षिण ग्रगासम्म) को क्षेत्रमा थुपै्र स–साना राज्यहरू थिए । हो । यस क्षेत्रमा शक्तिशाली बेलायती साम्राज्यको आँखा परिसकेको थियो । पृथ्वीनारायण शाहजस्तो सपूत यस क्षेत्रमा नजन्मिएका भए यो क्षेत्रको अस्मिता उसैबेला गुमिसक्ने थियो । हिमवत्खण्डका लगभग ५४ हिन्दु राज्यहरूलाई एकीकृत गरेर उसबेलादेखि नेपाल विश्वको एकमात्र हिन्दु अधिराज्य स्थापित हुन सकेको थियो ।
गङ्गा उत्तरको यो क्षेत्र हिमवत्खण्डमा ऋषिमुनिहरूको जन्म भयो । यही क्षेत्रमा वेद, उपनिषद्, पुराण तथा नीतिशास्त्रहरू निर्माण भई विश्वमा मानवीय सभ्यताको जग बसाल्न ठूलो योगदान पुगेको थियो । यो देवभूमिमा वैदिक सनातन हिन्दुहरूको बसोवास भएको र एकीकरण हुनुभन्दा अगाडि अनेकौँ जातीय भाषाहरूको बीचमा अन्तरभाषाको रूपमा नेपाली भाषाविशाल नेपालमाव्यापक भइसकेकाले एकीकरणमा पृथ्वीनारायण शाहलाई सजिलो पनि हुन गएको थियो । नेपालको एकीकरणपछि सबै नेपालीहरूको साझा भाषाको रूपमा राज्यको सरकारी भाषाको रूपमा स्वतः रूपान्तर हुँदा नेपालको राष्ट्रिय एकतामा थप बल पुग्न गएको थियो । यो क्षेत्रको अस्मिता बचाउन सशक्त भएर अगाडि बढेकाले यस क्षेत्रका सबै जाति र समूहले
आत्मसात् गरेका थिए ।
‘मेरा साना दुःखले अज्र्याको मुलुक होइन, सबै जातको फूलबारी हो, सबैलाई चेतना भया’ भन्ने पृथ्वीनारायण शाहको दिव्यउपदेशले सम्पूर्ण नेपालीहरूलाई उत्प्ररित गराइरहेको छ । त्यसबेलामा नै पृथ्वीनारायण शाहले उत्तर र दक्षिणमा रहेका ठूला राष्ट्रको बीचमा कस्तो कूटनीति अवलम्बन गर्नुपर्छ भन्ने कुरा राम्ररी बुझेर भनेका थिए– ‘यो राज्य दुई ढुङ्गाको तरुलजस्तो छ । चीनको बादशाहसँग ठूलो घाहा (राम्रो सम्बन्ध) राख्नु, दषिनको समुद्रको बादशाहसित घाहा त राख्नु तर त्यो महाचतुर छ । देशका महाजनहरू हाम्रा मुलुकमा आया भन्या दुनियाँ कंगाल गरी छाड्छन् ।’ पृथ्वीनारायण शाह कति दूरदर्शी थिए भन्ने अहिले छिमेकीहरूको चलखेलबाट स्पष्ट छ ।
पृथ्वीनारायण शाहले सूर्य र चन्द्रमाको झण्डा फहराएर टुक्राटुक्रामा विभाजित हिमवत्खण्ड नेपालको एकीकरण गरेर यस क्षेत्रको मौलिकतालाई जोगाउने काम गरेका थिए । राष्ट्रिय एकीकरणको अभियानमा काठमाडौँ उपत्यका विजयपछि शाक्य बौद्धवंशकी जीवित देवी – कुमारीको हातको टीका लगाएर, कुमारीको पाउमा ढोग गरेर मात्र पृथ्वीनारायण शाह राजसिंहासनमा बसेका थिए । यसले नेपालका सम्पूृर्ण धर्म, जाति र यसक्षेत्रको परम्परालाई शिरोधर गर्न सकेको बोध गराउँछ ।
पृथ्वीनारायण शाहका पुरोहित शक्तिवल्लव अर्यालले मुक्तकण्ठले विशाल नेपालको बारेमा प्रशंसा गरेका थिए–
‘जौन नेपालराज्य विषये हिमाल पर्वतका कन्दरादेखि...चारैतिरबाट मुनिजनहरूले सेवा गरिएका कौसिकीका धारा वेगले बहन्छन्, जहाँ प्रख्यात भएका नीलकण्ठ विराजमान भयाका छन्, सोही नेपाल देश हो । जहाँ हिमालपर्वतकी पुत्री गुह्रेकाली विराजमान भयाकी छन्, जहाँ पूण्या भयाकी बागमती छन्, जहाँ पशुपतिका प्रत्यक्ष भयाका शिवलिङ्ग छन्, जहाँ चाँगुनारायण छन्, जहाँ सम्पूर्ण भयकन ह¥न्या बज्रयोगिनी छन्, जहाँ पञ्च लिङ्गेश्वर पचली भैरव छन् ।’ यी वाक्यहरूको मनन् गरियो भने पनि नेपालको सही परिचय प्राप्त हुन्छ ।
भावनात्मकरूपले पृथ्वीनारायण शाहले साम, दान, दण्ड भेदको नीति लिएर तमाम् जात जातिलाई राष्ट्रिय एकीकरणको महायज्ञमा समाहित गराउन सकेका थिए । नेपालको एकीकरणको सन्दर्भमा यहाँका सम्पूर्ण जाति, धर्म र सम्प्र्रदायहरूको बीच सधैँ समान सद्भाव राख्ने गरेकाले यस क्षेत्रका सबैथरि जातिहरू पृथ्वीनारायण शाहसँग अत्यन्त खुसी थिए ।
पृथ्वीनारायण शाहले उपत्यका विजय गरिसकेपछि यहाँबाट हिन्दु अस्मिता समाप्त गर्न खोजेका इसाईहरूलाई धपाएका थिए । यसक्षेका स–साना राज्यहरू हिन्दु तथा बौद्ध धर्मका अनुयायी भएकाले र नेपाली भाषा यसक्षेत्रका सबै राज्यका जनताले बुझ्न सक्ने भएकाले राष्ट्रिय एकीकरणमा पृथ्वीनारायण शाहलाई धेरै सजिलो भएको थियो र यस क्षेत्रका जनताबाट सक्रिय सहयोग पाउन सकेका थिए । काठमाडौँ उपत्यकामा त्यसबेला अङ्ग्रेजको दूत भएर इशाई धर्मको प्रचार गर्ने पादरीहरूको चालदेखि पृथ्वीनारायण शाह अत्यन्त सशङ्कित थिए । काठमाडौँ उपत्यका विजय गरेपछि क्रिस्चियन धर्म प्रचारक केपुचीन पादरीलाई यहाँबाट धपाएर चर्चलाई अर्कै काममा प्रयोगमा ल्याएका हुनाले त्यही रिसले पृथ्वीनारायण शाहलाई बदनाम गर्न ‘पृथ्वीनारायण शाहले कीर्तिपुरेहरूको १७ धार्नी नाक काटेका थिए’ भनेर केपुचीन पादरीलाई उल्लेख गरेर अङ्गे्रजी लेखक कर्कपेट्रिकले झुटा र कपोलकल्पित कुराहरू लेखे । १७ धार्नी नाक काट्दा कति जनसङ्ख्या चाहिन्छ भन्ने कुराको सोचाइ पनि नगरी अङ्ग्रेजहरूले झुठा हावा फिँजाउने दुस्प्रचार गरे ।
आफ्नो मातहतमा आएका जनताको संरक्षण गर्नु पृथ्वीनारायण शाहको नीति नै थियो । त्यसबेला पृथ्वीनारायण शाह नुवाकोटमा रहेका थिए । पृथ्वीनारायण शाहका व्यवहार हेर्दा एक मानववादी, जनप्रिय राजा भएकाले त्यसरी आतताई प्रकारले दुनियाँलाई नै आतङ्कित पारेर विशाल नेपालको राजा हुने इरादा राखेका थिएनन् र त्यसरी नाक काट्ने आदेश दिएका पनि थिएनन् । पृथ्वीनारायण शाहबाट जसरी प्रजातान्त्रिक मान्यताबाट विशाल नेपालको एकीकरण गरिएको थियो त्यसरी नै नेपाललाई हिँडाउन सकियो भने त्यही प्रजातान्त्रिक बाटोले स्थायित्व लिन्छ । उसबेलामा पृथ्वीनारायण शाहले बिराज बखतीलाई मूलकाजी अर्थात् प्रधानमन्त्री बनाउन इच्छा गरेका थिए । तर जनताको इच्छा कालु पाण्डेप्रति रहेकाले मूलकाजीमा उनले कालु पाण्डेलाई नै नियुक्ति गरेका थिए भने उनी कति प्रजातन्त्रवादी रहेछन् भन्ने पुष्टि हुन्छ ।
(लेखक अध्येता हुनुहुन्छ ।)

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?