सम्पदा अनुरन्जनी खतिवडा
काठमाडाैँ, वैशाख १५ गते । देशव्यापी रुपमा कोभिड १९ (कोरोना भाइरस)का सङक्रमित बढिरहेको र दैनिक रुपमा मृत्युदर पनि बढिरहेकाले त्रास सिर्जना भएको छ । भारत अहिले जनस्वाथ्यका दृष्टिले सङ्कटको अवस्थामा र नेपालको सीमा नाका खुला रहेकाले त्यसको असर नेपालमा पनि देखापर्न थालेको छ ।
गतवर्षको भदौ महिनामा भारतमा दैनिक सङक्रमितको सङ्ख्या ९० हजार रहेको थियो । जुन पुष महिनाको अन्त्यमा २० हजारमा झरेको थियो । तर अहिले भारतका विभिन्न राष्ट्र जस्तै दिल्ली , महाराष्ट्र तथा अन्य शहरमा सङक्रमितको गणना भइरहँदा नयाँ रेकर्ड कायम भैरहको छ ।
भीडभाडयुक्त चिहान, आफन्तका शोक, एम्बुलेन्सको लाइन , स्वाःँस्वाँ गरिरहेका बिरामीलाई कुरिरहेका आफन्त , अक्सिजनको प्रतीक्षा गरीरहेका बिरामी, औषधि, अक्सिजन र शैयाका लागि मात्र हारगुहार गरिरहेका तिनीहरुका शभचिन्तकहरुका तस्बिरले सामाजिक सञ्जाल भरिएका छन् ।
मङ्गलवार मात्रै नेपालमा कोरोनाभाइरसका चार हजार तीन सय ६४ जना सङ्क्रमित थपिएका छन् भने १८ जनाको मृत्यु भएको छ । सरकारले तत्काल नै केही निर्णय नगर्ने र नागरिकले स्वास्थ्य सुरक्षाका मापदण्ड पालनामा हेलचेक्राइँ गर्दै गए भारतको जस्तो भयावह स्थिति नेपालमा पनि देखापर्ने स्वास्थ्य अधिकारीहरुले बताएका छन् ।
केही दिन अघि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा धुलिखेल अस्पतालका स्वास्थ्य र समुदाय विकास कार्यक्रम निर्देशक डा.विराजमान कर्माचार्यले भन्नुभयो“ दाेस्रो लहरको कोरोना भाइरसको महामारी नेपालमा आइसक्यो , गत हप्ताभन्दा सङ्क्रमण २४१ प्रतिशतले उच्च छ । सङ्क्रमण दर ३० प्रतिशतका दरले बढ्दै गइरहेको छ , यही तरिकाले सङक्रमण दर बढिरहे दुई महिनाभित्र दुई लाखभन्दा बढी मानिस सङ्क्रभित हुन सक्छन् ।” कर्माचार्यले भन्नुभयो “ सरकारले कुनै कदम नचाले दिनमा १५० जना कोरोना सङ्क्रमितको ज्यान जान सक्छ । त्यसैले सबैलाई सरकारले सतर्क राख्ने समय आइसक्यो ।”
त्यस्तै त्रिवि शिक्षण अस्पतालका कोरोना भाइरस सङ्क्रमितको उपचार संयोजक शान्ताकुमार दासका अनुसार अस्पतालका आईसीयू , आइसोलेसन बेडहरु कोरोना सङक्रमितका बिरामीले भरिइसकेका छन् । “युवामा पनि यस्तो सङ्क्रमण देख्दा धेरै हृदयविदारक लाग्छ , यही तरिकाले कोरोना दर दैनिक बढ्दै गइरहे नेपालको स्वास्थ्य अवस्था पनि भारतको जस्तै हुन्छ । न सरकारले सङ्क्रमण नियन्त्रण गर्न लागिपरेको छ न जनता नै सचेत छन्” उहाँले थप्नुभयो । नियन्त्रण बाहिर जान नदिन सरकारले रणनीति तयार गर्ने यो राम्रो समय मिलेको उहाँको भनाइ छ ।
सङ्क्रामक रोग विशेषज्ञ डा. प्रभात अधिकारीले भन्नुभयो “ ठूला अस्पतालहरुका आईसियू र भेन्टिलेटर पनि भरिन लागेका छन् , इमरन्जेन्सी कक्षहरु पनि बिरामीहरुले बुकिङ गरिसकेका छन् ”। उहाँले थप्नुभयो “कोरोना महामारीको कठोर सत्य तपाईहरुले नजिकैकाे अस्पतालमै देख्न सक्नुहुनेछ ,महामारी सत्य हो र लकडाउनले मात्र यसलाई केही हदसम्म साम्य पार्न सक्छ ,सरकारको प्रमुख लक्ष्य अर्थतन्त्रभन्दा जनताको जिउधनको सुरक्षा हुनुपर्दछ । त्यसैले सरकारले मुख्य शहरहरुमा कम्तीमा दुई हप्ता लकडाउन लगाउने र सरकारले जारी गरेका आदेश नागरिकले पालना गरेर मात्र सङ्क्रमण रोकथाम हुन सक्दछ ” ।
यसबाहेक सार्वजनिक स्वास्थ्य विशेषज्ञ डा. भीमार्जुन पाण्डेयले भन्नुभयो “ सरकार लगायत सबैले भारतबाट सिक्नुपर्छ , यो समय सरकारले आयातित कुराहरुमा कडाइ गर्दै सीमा नाकामा कडाइ गर्नुपर्दछ । कोही नागरिकले नियमहरु पालना नगरे कडा सजाय दिनुपर्दछ ”।