logo
२०८१ बैशाख २६ बुधवार



उपत्यका र तराईमा कोरोना सङ्क्रमण घट्दै, पहाडका १६ जिल्लामा बढ्दै

स्वास्थ्य |
राष्ट्रिय |


उपत्यका र तराईमा कोरोना सङ्क्रमण घट्दै, पहाडका १६ जिल्लामा बढ्दै


आशा साह
काठमाडौं, असार ७ गते । पछिल्लो १४ दिनको तथ्याङ्क हेर्ने हो भने १६ जिल्लामा कोभिड–१९ बाट सङ्क्रमण हुने दर बढ्दो क्रममा रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा.कृष्णप्रसाद पौडेलले पछिल्लो १४ दिनको तथ्याङ्क अनुसार १६ जिल्लामा सङ्क्रमण दर बढ्दै गएको जानकारी दिनुभएको छ ।

प्रदेश नम्बर १ को उदयपुर, पाँचथर, तेह्रथुम, भोजपुर र संखुवासभामा सङ्क्रमण बढ्दो क्रममा रहेको उहाँले बताउनुभयो । त्यस्तै बागमती प्रदेशको दोलखा, नुवाकोट र रसुवामा, गण्डकी प्रदेशमा बाग्लुङ र मुस्ताङमा पनि बढ्दो क्रममा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै लुम्बिनी प्रदेशको रोल्पा, कर्णाली प्रदेशको जुम्ला, डोल्पा, मुगु र रुकुम पश्चिम तथा सुदूरपश्चिम प्रदेशको बाजुरा जिल्लामा पछिल्लो १४ दिनको तथ्याङ्क हेर्दा सक्रिय सङ्क्रमितको संख्या बढेको देखिएको मन्त्रालयले जनाएको छ ।

छ प्रदेशका यी जिल्लामा सङक्रमण बढ्दो अवस्थामा छ भने प्रदेश नम्बर २ का सबै जिल्लामा सक्रिय सङ्क्रमित घट्दो क्रममा रहेको प्रवक्ता डा. पौडेलले जानकारी दिनुभयो ।

यसैगरी शनिबारसम्मको तथ्याङ्क अनुसार ४२ जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच सयभन्दा बढी रहेको जनाएको छ । देशका ७७ जिल्लमध्ये सबैभन्दा बढी सङ्क्रमणको भार रहेको जिल्लामध्ये काठमाडौं, ललितपुर, रुपन्देही, भक्तपुर, मोरङ, कैलाली, चितवन, धनुषा, सुनसरी र काभ्रेपलाञ्चोक जिल्लामा सङ्क्रमण कम हुँदै जाने क्रममा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसमध्ये सबैभन्दा बढी काठमाडौं र सबैभन्दा कम काभ्रेपलाञ्चोकमा सङ्क्रमण रहेको प्रवक्ता पौडेडलले जानकारी दिनुभएको छ ।

त्यस्तै सक्रिय सङ्क्रमित पाँच सयभन्दा बढी हुने जिल्लाहरुको सङ्ख्या पनि घट्दो क्रममा छ ।

सक्रिय सङ्क्रमित हुनेमा ६०.८ प्रतिशत पुरुष रहेका छन् भने ३९.२ प्रतिशत महिला छन् । यो सङ्क्रमितको तथ्याङ्क अघिल्लो लहरभनदा महिलाको सङ्ख्या तुलनात्मक हिसाबले बढ्दो क्रममा रहेको मन्त्रालयले जनाएको छ ।

यसैगरी उमेरको हिसाबले सबैभन्दा बढी सक्रिय सङ्क्रमित २० देखि ६० वर्ष उमेर समूहका छन् । अन्य उमेर समूहका थोरै कम सङ्क्रमित छन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?