logo
२०८० चैत्र १६ शुक्रवार

उपत्यकाको तुवाँलाे शुक्रबारसम्म रहने, पानी परे सफा हुने (फाेटाे फिचर)

फोटो फिचर |


2022-03-30-61017
तस्बिर : केशब गुरूङ



काठमाडौं, चैत १६ गते । काठमाडौं उपत्यकाको आकाशमा देखिएको तुवाँलो शुक्रबारसम्म रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका मौसमविद् मन्जु वासीले विहारको आसपासतिर बनेको न्यूनचापीय क्षेत्रको कारणले गर्दा नेपालको आकाशमा तुवाँलो र बदलीको अवस्था रहेको बताउनुभयो ।

‘तीन–चार दिनदेखि पानी नपर्दा वायुमण्डलमा भएका धुँवाका कणमाथि फैलिन पाएको छैन । त्यही भएर तुवाँलो लागिरहेको छ, जसले गर्दा भिजिबिलिटी कम भैरहेको छ ।,’ उहाँले भन्नुभयो ।

पानी परेको भए तुवाँलो कम हुने उहाँ बताउनुभयो । ‘खासै पानी पर्न सकेको छैन ।आज र हिजो हल्का पानी परेको छ । तर त्यस्तो ठूलो पानी पर्ने देखिएको छैन । ठूलो पानी नपर्नेसम्म भिजिबिलिटी खासै राम्रो हुने देखिँदैन, शुक्रबारसम्म यस्तै मौसम रहन्छ ।’ उहाँले भन्नुभयो ।

यता, वायुमण्डलीय सतहमा प्रदूषण तैरिएर बस्दा उपत्यकालाई तुवाँलोले ढाक्दा काठमाडौंबाट हुने आन्तरिक र अन्तर्राष्ट्रिय उडान बिहान प्रभावित भएको थियो । अहिले दिउँसोदेखि आन्तरिक र अन्तर्राष्ट्रिय उडान भइरहेको छ ।

लुक्लाको सबै उडान रद्द गरिएको छ भने पोखराको आधा घण्टा अगाडिबाट उडान सुरु भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

वायुमण्डलीय सतहमा प्रदूषण तैरिएर बस्दा उपत्यकालाई तुवाँलोले ढाक्न थालेको छ । तस्बिर : केशब गुरूङ