logo
२०८० चैत्र १५ बिहीवार

  स्थानीय तह निर्वाचन तयारी  



सेनाको निगरानीमा जनक शिक्षामा मतपत्र छापिने, आज निरीक्षण हुँदै

पढ्नै पर्ने |
राष्ट्रिय |


सेनाको निगरानीमा जनक शिक्षामा मतपत्र छापिने, आज निरीक्षण हुँदै


काठमाडौं, चैत १६ गते । जनक शिक्षा सामग्री केन्द्रले स्थानीय तह निर्वाचनका लागि मतपत्र छाप्न तयारी अवस्थामा रहेको जनाएको छ । केन्द्रका सूचना अधिकारी चित्रकुमार आचार्यले निर्वाचन आयोगको निर्देशन अनुसार मतपत्र छपाई मेसिन तयारी अवस्थामा राखिएको जानकारी दिनुभयो ।

गत शुक्रबारको निर्णय अनुसार आयोगले जनक शिक्षा सामग्री केन्द्रलाई मतपत्र छाप्न तयारी अवस्थामा रहन निर्देशन दिएको थियो । आयोगको निर्देशन आएसँगै केन्द्र तयारी अवस्थामा रहेको उहाँले बताउनुभयो ।

सूचना अधिकारी आचार्यले नेपाली सेनाको निगरानीमा मतपत्र छापिने बताउनुभयो । ‘सुरक्षाको जिम्मा नेपाली सेनाले लिएको छ । सेनाको सुरक्षा घेरामा मतपत्र छपाइ कार्य हुन्छ,’ उहाँले भन्नुभयो ।

आयोगले पनि मतपत्र छापिने स्थलमा नेपाली सेनाकाे सुरक्षा तैनाथ हुने जनाएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले विगतको अनुभवलाई हेरेर आवश्यकता अनुसार सेनाले मतपत्रस्थलमा सुरक्षा रणनीति तय गर्ने बताउनुभयो । ‘विगतका अनुभवलाई हेरेर नेपाली सेनाले मतपत्र छापिने क्षेत्रको सुरक्षा रणनीति तयार गर्नेछ’, प्रवक्ता पौडेलले भन्नुभयो ।

यता, केन्द्रका सूचना अधिकारी आचार्यले कति सेना परिचालन गर्नेबारे आयोग र सेनाबीच सहमति भएको र सोही अनुसार सेना परिचालन हुने जानकारी दिनुभयो । विगतका निर्वाचनमा १५० जना सैनिकको निगरानीमा मतपत्र छपाइ हुने गरेको पनि उहाँले बताउनुभयो ।

आचार्यका अनुसार आजै मतपत्र छपाइ केन्द्रको निरीक्षण गर्न आयोग र सेनाका पदाधिकारी आउँदैछन् । यसक्रममा सेनाको टोलीले मतपत्र छपाइ स्थलको सुरक्षा प्रबन्ध मिलाउने उहाँको भनाइ छ । ‘सुरक्षा घेरासहित सुरक्षाकर्मीले निगरानी गर्न थालेपछि मतपत्र छपाइ कार्य सुरु हुनेछ,’ आचार्यले भन्नुभयो ।

जनशक्ति, छपाई यन्त्रलगायतका सबै पूर्वाधार तयारी अवस्थामा रहेको र आयोगबाट निर्देशन आयलगत्तै मतपत्र छपाइको काम थाल्ने उहाँले बताउनुभयो ।

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि करिब दुई करोड मतपत्र छापिने छन् । स्वीकृत अन्तिम मतदाता नामावली बमोजिम एक करोड ७७ लाख ३३ हजार ७२३ जना मतदाता रहे पनि करिब १५ प्रतिशत बढी मतपत्र छापिने आयोगले जनाएको छ ।

आयोगले दुर्गम क्षेत्रमा समयमै मतपत्र पठाउन मतदान हुनुभन्दा १५ दिनअघि नै मतपत्र छपाइ कार्य सम्पन्न गर्ने लक्ष्य राखेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?