logo
२०८१ बैशाख २० बिहीवार



अमेरिकाले दिने १५ लाख जनालाई लगाउन पुग्ने खाेप सोमबार आइपुग्ने

स्वास्थ्य |
मुख्य समाचार |


अमेरिकाले  दिने १५ लाख जनालाई लगाउन पुग्ने  खाेप सोमबार आइपुग्ने


आशा साह 

काठमाडौं, असार २६ गते । अमेरिकाले नेपाललाई दिन लागेको जोन्सन एण्ड जोन्सनको १५ लाख जनालाई लगाउन पुग्ने काेराेना विरूद्धकाे खाेप सोमबार काठमाडौं आइपुग्ने भएको छ । नेपालका लागि अमेरिकी राजदूत रेण्डी बेरीले शुक्रबार आफ्नो फेसबुक पेजमार्फत जोन्सन एण्ड जोन्सनको १५ लाखभन्दा बढी खोप उपलब्ध गराउने आधिकारिक घोषणा गर्नुभएको थियो ।

यसअन्तर्गत सोमबार जोन्सन एण्ड जोन्सनको १५ लाख ३४ हजार ८५० डोज खोप नेपाल आइपुग्ने प्रवल सम्भावना रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता एवं इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्णप्रसाद पौडेलले गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो । अमेरिकामा जोन्सन एण्ड जोन्सन कम्पनीले विकास गरेको जोन्सन एण्ड जोन्सन खोपको एक मात्रा लगाए पुग्ने भनिएको छ ।

जोन्सन एण्ड जोन्सनकाे खोप कस्तो हो, 
स्वास्थ्य सेव विभागअन्तर्गतको परिवार कल्याण महाशाखाका प्रमुख एवं खोप सल्लाहकार समितिका संयोजक डा. तारानाथ पोखरेलका अनुसार जोन्सन एण्ड जोन्सन खोप वैज्ञानिक हिसाबले सिंगल डोज लगाए पुग्ने खोप हो । ‘यो खोप स्वास्थ्य मन्त्रालयको खोप भण्डारसँग मिल्दोजुल्दो छ, दुईदेखि आठ डिग्री सेन्ट्रिग्रेटमा राख्न मिल्छ,’ उहाँले भन्नुभयो, ‘पहिलो डोज लगाएपछि हुने दोस्रो डोज लगाउन नपर्ने । कार्यक्रम सञ्चालनको हिसाबले र खर्चको हिसाबले एकदमै किफायती खोप हो ।’

जोन्सन एण्ड जोन्स खोप कुन वर्ष उमेर समूह दिनेबारे उहाँले कार्ययोजना अनुसार क्रमशः माथिल्लो उमेर समूहबाट शुरु गर्ने बताउनुभयो । ‘अहिले हामीले ६० वर्षभन्दा माथिका उमेर समूहलाई खोप दिइरहेका छौं । अब जति पनि आउने खोपहरु हुन्छ त्योभन्दा तल अर्थात् ६० वर्षभन्दा तल, ५५ वर्षदेखि ६० वर्षकालाई र उक्त उमेर समूहलाई पुगिसकेपछि फेरि ५५ वर्षभन्दा कम उमेर समूहकालाई खोप दिँदै जान्छौं,’ उहाँले भन्नुभयो ।

खोप अभियान अहिलेबाट शुरु हुन्छ भन्नेबारे यस विषयमा छलफल भइरहेको बताउनुभयो । ‘खोप अभियान शुरु गर्नेबारे स्वास्थ्य मन्त्रालयमा कार्ययोजना बनिरहेको छ । यद्यपी यसबारे चाँडै टुंगो लाग्छ,’ उहाँले भन्नुभयो । यसैगरी स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले पनि खोप अभियान चाँडै शुरु हुने बताउनुभयो । ‘यसबारे तयारी हुँदै छ । क्रमशः खोप अभियान योजना बमोजिम उमेर समूहमै हुन्छ,’ उहाँले भन्नुभयो,‘यसबारे थप नयाँ निर्णय भएको छैन ।’

यसैबीच सरकारले चीनसँग ४० लाख भेरोसेल खोप किन्ने सम्झौताअनुसार आठ लाख डोज खोप शुक्रबार नेपाल ल्याइएको छ । एक पटकमा १० लाख डोज खोप ल्याउने तयारी भएपनि जहाजमा ठाउँ नपुग्दा आठ लाख मात्र खोप ल्याइएको हो ।

अमेरिकाबाट आउने १५ लाख ३४ हजार ८५० र चीनबाट खरिद गरिएको ४० लाख डोज खोपले थप ३५ लाख ३४ हजार ८५० नागरिकलाई खोप लगाउन सकिने छ । अमेरिकाबाट ल्याइने जोन्सन एण्ड जोन्सनको खोप एक मात्र लगाए पुग्छ भने भेरोसेल खोप दुई मात्रा लगाउनुपर्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?