logo
२०८० चैत्र १६ शुक्रवार



बुधबार अपरान्हसम्म ८१ हजारले लगाए जोन्सन एण्ड जोन्सन खोप

स्वास्थ्य |


बुधबार अपरान्हसम्म ८१ हजारले लगाए जोन्सन एण्ड जोन्सन खोप


 

काठमाडौं, साउन ६ गते । कोभिड–१९ विरुद्धको खोप अभियानअन्तर्गत अमेरिकी सरकारले उपलब्ध गराएको जोन्सन एण्ड जोन्सन खोप अहिलेसम्म ८१ हजार ३५२ जनाले लगाइसकेका छन् । साउन ४ गतेदेखि शुरु भएको जोन्सन एण्ड जोन्सन खोप अभियानमा बुधबार अपराह्न ४ बजेसम्म ८१ हजार ३५२ जनाले लगाइसकेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा जारी विवरणमा उल्लेख छ ।

जोन्सन एण्ड जोन्सन खोप अभियानमा अहिले सात प्रदेशमध्ये बागमती प्रदेश र गण्डकी प्रदेशमा मात्र सञ्चालन भएको मन्त्रालयका सह–प्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिनुभयो । मन्त्रालयका सह–प्रवक्ता डा.अधिकारीले बागमती प्रदेशमा ७८ हजार ४३५ जना र गण्डकी प्रदेशमा २९ सय १७ जनाले जोन्सन एण्ड जोन्सनको खोप लगाइसक्नुभएको जानकारी दिनुभयो ।

गण्डकी प्रदेशका सामाजिक विकास मन्त्रालयका स्वास्थ्य प्रशासक डा. रामबहादुर केसीले राजधानी पोखरामा भने भेरोसेल खोपको अभियान सकिएपछि मात्र जोन्सोन खोप उमेर समूहका आधारमा लगाउन शुरु गरिने जानकारी दिनुभयो । साथै, अन्य जिल्लामा भने जोन्सन खोप अभियान शुरु भइसकेको उहाँले बताउनुभयो । अहिले ५० देखि ५४ वर्ष उमेर समूहका नागरिक, शरणर्थी, शिविरमा रहेका र विदेश जाने नागरिकलाई जोन्सोन खोप दिइदै आएको उहाँले बताउनुभयो ।

अमेरिकाले उपलब्ध गराएको जोन्सन एण्ड जोन्सनको १५ लाख ३४ हजार ८५० डोज खोप असार २८ गते नेपाल आइपुगेको थियो । यो खोप वैज्ञानिक हिसाबले एक डोज लगाए पुग्ने खोप हो । यसैगरी मन्त्रालयका सहप्रवक्ता डा। अधिकारीका अनुसार अहिले नेपालमा कोभिशिल्ड, भेरोसेल र जोन्सन एण्ड जोन्सन गरी तीन प्रकारको खोप प्रयोगमा ल्याइएको जानकारी दिनुभयो ।

जसअन्तर्गत कोभिशिल्डको पहिलो मात्रा लगाउनेहरुको सङ्ख्या १८ लाख २८ हजार ४८४ जना रहेका छन् । साथै, कोभिशिल्डको दोस्रो मात्रा लगाउनेहरुको सङ्ख्या चार लाख ६० हजार ७३४ रहेका छन् । त्यस्तै, भेरोसेलको पहिलो मात्रा लगाउनेहरुको सङ्ख्या १४ लाख २३ हजार ४४७ रहेका छन् भने दोस्रो मात्रा लगाउनेको सङ्ख्या छ लाख ८२ हजार ३९२ जना रहेको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?