logo
२०७९ जेष्ठ १४ शनिवार



क्रिसमसमा पर्यटन

शनिवार |


क्रिसमसमा पर्यटन


यलु जोशी

कोरोनाका कारण सुनसान रहेको सङ्घीय राजधानीका पाँचतारे होटलदेखि सामान्य रेस्टुरेन्टमा यतिबेला चहलपहल बढेको छ । कोरोना महामारीले क्रिसमस मनाउन नपाएकाहरू यस वर्ष उन्मुक्त वातावरणमा यो पर्व मनाइरहेका छन् । कोरोनाले पोहोर, परार क्रिसमस मनाउन नपाएकालाई यस वर्ष चिठ्ठा नै परेको जस्तो पनि भएको छ तर नयाँ भेरियन्ट ओमिक्रोनको त्रास पनि कायमै छ । यसप्रति क्रिसमस मनाउनेहरू सचेत देखिन्छन् ।

‘क्रिसमस इभ’का अवसरमा शुक्रबार साँझ क्रिसमस मनाउन आउनेहरूलाई विभिन्न रेस्टुरेन्ट, होटल तथा सपिङमलहरूले मन फुकाएर स्वागत गरेको देखिन्थ्यो । रेस्टुरेन्टको गेट, रिसेप्सन र डाइनिङ हलमा पिलपिले बत्ती जडान गरेर ‘क्रिसमस ट्री’ सजाइएका थिए । रेस्टुरेन्टमा मात्र होइन, पसलमा पनि ग्राहकलाई आकर्षित गर्न ‘क्रिसमस ट्री’ सजाइएको थियो ।
क्रिसमसमा प्रचलित रातो टोपी (सान्टा क्लज) लगाएर रङ्गीबिरङ्गी बत्तीका साथमा काठमाडौँको ठमेल, दरबारमार्गलगायत ठाउँमा मानिसको भीड देखिन्थ्यो । काठमाडौँ मात्र होइन, देशका अन्य ठूला सहरमा पनि ‘क्रिसमस इभ’ धुमधामका साथ मनाइयो । शनिबार क्रिसमस परेकाले रौनक अझ बढेको हो ।

पाँच वर्षपछि क्यानाडाबाट क्रिसमस मनाउन नेपाल आउनुभएकी उषा नेम्कुल भन्नुहुन्छ, “गत वर्ष नै आउने योजना थियो तर कोरोनाले मिलेन, यो वर्ष परिवारसँग क्रिसमस र नयाँ वर्ष मनाउँदै छु ।” सानैदेखि धुमधामसँग क्रिसमस मनाउने गरेकाले उहाँलाई क्रिसमसको रौनकले तानिहाल्छ रे !
“मलाई क्रिसमसमा गाउने कोरोल (गीत) मन पर्छ । यस पर्वलाई परिवार र साथीभाइसँग मनाउन ठूलो इच्छा थियो, जुन यो वर्ष पूरा भयो,” उहाँले भन्नुभयो । यता विदेशीको गन्तव्य ठमेल कोरोनाको मारमा सुनसान थियो । यहाँ क्रिसमसले चहलपहल बढाइदिएको छ ।
ठमेलस्थित जाइका रेस्टुरेन्टका प्रकाशनरसिंह राणा भन्नुहुन्छ, “शून्यजस्तैै भएको व्यापार क्रिसमसले अलि राम्रो भएको छ ।” रेस्टुरेन्टमा लाइभ म्युजिकको आयोजना गरिएको जानकारी दिँदै उहाँले यस अवसरमा आन्तरिक पर्यटक बढेको बताउनुभयो । अरू बेला दैनिक २५ देखि ३० हजार रुपियाँसम्म व्यापार हुने गरेकोमा ‘क्रिसमस इभ’मा व्यापार बढेको उहाँले बताउनुभयो ।

यस्तै केशव पौडेलको क्रिसमस योजना पनि भव्य छ । उहाँ क्रिसमस मनाउन पोखरा जानुभयो । उहाँलाई पनि विद्यालय पढ्दादेखि साथीसँग क्रिसमस मनाउने बानी परेको छ । उहाँले क्रिसमस योजना सुनाउँदै भन्नुभयो, “क्रिसमसदेखि इस्वी संवत्को नयाँ वर्षसम्म पोखरामै रमाउँछु होला ।”
मोनिका श्रेष्ठ चाहिँ दरबारमार्गस्थित आर्चिच ग्यालरीमा उपहार किन्दै हुनुहुन्थ्यो । उहाँले भन्नुभयो, “क्रिस्चियन साथीलाई उपहार दिन सामान खरिद गरेको हुँ ।” दशैँमा मेरा क्रिस्चियन साथीले उपहार दिन्छन् । अहिले उनीहरूको पनि महान् पर्व भएकाले उपहार दिन खरिद गरेकोे उहाँले बताउनुभयो । विगत दस वर्षदेखि साथीलाई क्रिसमसमा उपहार दिने नियम बनाएको जानकारी दिँदै श्रेष्ठले भन्नुभयो, “हाम्रा १३ जनाको समूहमा आ–आफ्नो पर्वमा उपहार साटासाट गर्ने चलन छ ।”

क्रिसमसका लागि आयोजना हुने महोत्सव तथा सांस्कृतिक कार्यक्रमले मनोरञ्जनका साथै सामाजिक, धार्मिक र सांस्कृतिक सद्भाव विस्तार गर्न मद्दत पु¥याउँछ । पर्वका बेला हुने चहलपहलले व्यापारमा समेत फाइदा हुने नयाँसडकस्थित गिफ्टसपका गणेश रेग्मी बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “पर्वका लागि विभिन्न उपहार र सान्टाको लुगा खरिद गर्ने बढी हुन्छन् ।” अहिले सान्टाको रातो टोपी अनिवार्यजस्तै भएका कारण यो बढी बिक्री हुन्छ । विद्यालयका ससाना बालबालिकादेखि युवा तथा वृद्धवृद्धा पनि सान्टाको रातो टोपीमा सजिएका देखिन्छन् । त्यसैले रातो टोपी र सान्टाको लुगा बढी बिक्री भएको जानकारी रेग्मीले दिनुभयो ।


बुझेर वा नबुझेर हो, हाल ठूला सहरमा ‘क्रिसमस इभ’ भन्दै सबै धर्मावलम्बीका युवा शुभकामना साटासाट गर्ने र नाचगानमा सरिक हुने प्रचलन बढ्दै गएको छ । क्रिसमसप्रति बढ्दो आकर्षणका बारेमा राष्ट्रिय क्रिस्चियन मण्डलीका प्रेम खड्का भन्नुहुन्छ, “केही युवाले फेसनका रूपमा यो पर्व मनाएको देखिए पनि मुख्य कुरा संविधानले धर्मनिरपेक्षताको व्यवस्था गरेपछि इसाई धर्मावलम्बी खुल्न थालेका हुन् ।”

बढे आन्तरिक पर्यटक
क्रिसमस र इस्वी संवत्को नयाँ वर्षका अवसरमा मुलुकको प्रमुख पर्यटकीय स्थलमा आन्तरिक पर्यटक बढेका छन् । कोभिड सङ्क्रमण कम भएकाले यतिबेला आन्तरिक पर्यटकको चहलपहल बढेको हो । यस पर्वले पर्यटन क्षेत्रलाई उत्साहित बनाएको छ ।
क्रिसमस र नयाँ वर्षमा काठमाडौँबाहिरका होटलको बुकिङ उत्साहजनक छ । अरू बेलाभन्दा अहिले धुलिखेलका होटलमा बुकिङ धेरै भइरहेको क्षेत्रीय होटल सङ्घका अध्यक्ष प्रेमकण्ठ श्रेष्ठले जानकारी दिनुभयो । साताको अन्त्यमा उत्सव परेका कारण अधिकांश आन्तरिक पर्यटकले बुकिङ गरेको उहाँले बताउनुभयो ।

“यसपटक शुक्रबार, शनिबार, आइतबार तीनै दिन विशेष दिन परेको छ । अहिले धुलिखेलमा रहेका अधिकांश होटलका ६० प्रतिशतभन्दा बढी कोठा बुकिङ भइसकेका छन्,” अध्यक्ष श्रेष्ठले भन्नुभयो, “गत वर्ष कोरोनाको कारणले कोही थिएनन्, यो वर्ष भने उल्लेख्य रूपमा बुकिङ भएको छ ।” उहाँले धुलिखेलमा प्रतिजोडीका लागि न्यूनतम सात हजारदेखि १५ हजार रुपियाँसम्मका प्याकेज खरिद गर्न सकिने जानकारी दिनुभयो । नयाँ वर्ष र क्रिसमस आउनु एक साताअघि नै नगरकोटका होटल र रिसोर्टका ५० प्रतिशत कोठाको अग्रिम बुकिङ भइसकेको नगरकोट नाल्दुम पर्यटन विकास समितिका अध्यक्ष नवीन गुरुङले बताउनुभयो । अधिकांश होटल र रिसोर्टले आकर्षक प्याकेज सार्वजनिक गरेसँगै बुकिङ सुरु भयो । उहाँले कोरोना महामारीले बन्द भएको व्यवसाय राम्रो लयमा फर्कने आशासमेत व्यक्त गर्नुभयो । पछिल्लो पाँच महिनायता सौराहा, पोखरा, काठमाडौँ, भैरहवा, नगरकोटलगायत पर्यटकीय गन्तव्यमा आन्तरिक पर्यटकको चहलपहल उल्लेख्य रूपमा बढेको छ ।

सान्टा र क्रिसमस ट्री
हिउँको थुप्रोजस्तो सेतो कपासले सजिएका ‘क्रिसमस ट्री’लाई रङ्गीचङ्गी बत्तीले सिँगारिन्छ । कृत्रिम तथा प्राकृतिक स–साना रुखलाई सजाएर मनाइने क्रिसमसमा बत्ती र कला अनिवार्यजस्तै हुन्छ । ‘क्रिसमस इभ’मा सान्टाले ज्ञानी बच्चालाई सुतिरहेको समयमा उपहार छोड्ने विश्वास गरिन्छ । सान्टा को थिए त ? सय वर्षअघि भिक्षु सेन्ट निकहोलस् टर्कीमा जन्मिएका थिए । निकहोलस्ले विभिन्न ठाउँमा गरिबलाई मद्दत गर्दै हिँड्थे । निकहोलस् नै युरोपमा सान्टाका रूपमा परिचित भए । क्रिस्चियनले क्रिसमसको दिनमा सल्लाको रुख (क्रिसमस ट्री)लाई सजाएमा वर्षभरि हरियो हुने विश्वास गर्छन् । क्रिसमस ट्री सजाउने परम्परा १६औँ शताब्दीमा सुरु भएको मानिन्छ ।

क्रिसमसको सुरुवात
२५ डिसेम्बरलाई जिसस क्राइस्टको जन्मदिन मानिन्छ । यही दिन क्रिसमस मनाइन्छ । सन् ३५० देखि यो पर्व मनाउन सुरु भएको हो । रोमको तत्कालीन बादसाह कन्स्टेन्टाइनले यो पर्व मनाउन सुरु गरेका हुन् । यी बादसाह पहिले सूर्यभक्त थिए । यसअघि बादसाह कन्स्टेन्टाइनले डिसेम्बर २५ मा सूर्य देवताको जन्म दिन मनाउँथे तर क्रिस्चियन कुनै पनि ग्रह, नक्षत्रको पूजा गर्ने नभई अमूर्त रूपमा रहेको ईश्वरलाई मात्र मान्ने हुँदा २५ डिसेम्बरलाई सूर्य देवताको जन्मदिन नभई जिसस क्राइस्टको जन्मदिनका रूपमा मनाउन रोमन जनताका नाममा उनले उर्दी जारी गरे । त्यसपछि क्रिसमस मनाउन सुरु भएको हो ।

२००७ सालको राजनीतिक परिवर्तनपछि क्रिस्चियन नेपाल आउन थाले । युनाइटेड मिसन टु नेपाल र इन्टरनेसनल नेपाल फेलोसिपजस्ता संस्थाहरूसँगै नेपालमा क्रिस्चियनकोे आगमन भयो तर उनीहरूका लागि वातावरण सहज रहेन । त्यसबेला क्रिस्चियन चर्च तथा घरमा बसेर प्रार्थना गरेर तथा भोज आएर क्रिसमस मनाउँथे । २०४६ सालको राजनीतिक परिवर्तनपछि नेपालमा पनि भव्य रूपमा क्रिसमस मनाउन थालियो । क्रिसमसका अवसरमा नाच्ने, गाउने, खाने र मनोरञ्जन गर्ने क्रम भव्य रूपमा बढ्दै गएको छ । युवाले उल्लेख्य रूपमा चासो देखाउने गरेका छन् । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?