logo
२०७९ असार २० सोमवार



युवापुस्तामा नयाँ वर्षको उमङ्ग

मनोरञ्जन |


युवापुस्तामा नयाँ वर्षको उमङ्ग


काठमाडौँ, चैत ३० गते । नयाँ वर्ष सुरु हुनासाथ घर तथा कार्यालयमा नयाँ पात्रोमात्र फेर्ने नभई आफ्नो मन, सोच, आनीबानीलगायतका धेरै कुरालाई परिवर्तन गर्नका लागि सङ्कल्प गर्न सकिन्छ । दस वर्ष युरोप फिनल्यान्ड बसाइपछि एक साताअघि मात्रै नेपालमा आउनुभएको वसन्तपुरको दीपेश शाक्य नयाँ वर्ष नेपालमा मनाउन पाउने सोचले दङ्ग हुनुहुन्छ ।

उहाँ भन्नुहुन्छ, नेपाल त आइयो तर नयाँ वर्ष मनाउने अवसरमा भने यसै पटक मात्र प्राप्त भयो । ‘दस वर्षसम्म अर्काको भूमिमा बसेर मनाइयो, यसपालि जन्मभूमिमा बसेर आफ्नै नयाँ वर्ष मनाउन छुट्टै रमाइलो होला भन्ने लागेको छ । ’ गत दुई वर्ष कोरोना महामारीका कारण कुनै पनि पर्व रमाइलोका साथ मनाउन पाइएन तर यो पटक नयाँ वर्षमा रमाइलो गर्नुपर्ने बताउनुभयो ।

विदेशमा हुँदा न्यु इयर, क्रिसमस, इस्टरलगायतका दिन धूमधामसँग मनाइयो अब आफ्नो देशमा आउँदा आफ्नै पर्व मनाउन उत्साहित हुनुहुन्छ । शाक्यका अनुसार अरू बेला युरोपको वातावरणमा रुमल्लिँदा दिन बितेको थाहै नहुने भए पनि हरेक वैशाख १ गतेसँगै नेपाल र घरपरिवारको झल्को आउने गर्दछ ।

पश्चिमी संस्कृति ‘फलो’ गर्ने क्रममा नेपालको नयाँ वर्ष पनि पश्चिमी संस्कृतिझैँ मनाइरहेका छन् युवापुस्ता । डान्स पार्टी आयोजना गरी ग्यादर गर्ने, धुम्न जाने नयाँ वर्ष मनाउने गरेको पाइन्छ । डी.जे. रुपेस श्रेष्ठ भन्नुहुन्छ, यतिबेला सिङ्गो नेपाल नै नयाँ वर्षमय भएको छ । यही नयाँ वर्षको अवसरमा राजधानीलगायत देशका विभिन्न स्थानमा मनोरञ्जनात्मक कार्यक्रमका साथै नयाँ वर्षको माहोल झल्काउने क्रियाकलाप उत्सर्गमा छ ।

त्यस्तै केएमसी कलेजमा अध्ययनरत ब्रिजेस श्रेष्ठले नयाँ वर्ष भनेकै साथीहरू ग्याडर भएर रमाइलो गर्ने पर्व भएको बताउनुभयो । नयाँ वर्षको उपलक्ष्मा विभिन्न कलाकारको साङ्गीतिक प्रस्तुति रहेको छ यसपालि कालीप्रसाद बाँस्कोटाको कार्यक्रममा जाने बताउनुभयो । उहाँले झम्सिखेलमा बास्कोटाको प्रस्तुति रहेको र उतै रमाइलो गर्ने बताउनुभयो । वैशाख १ गते भने साथीहरूसँग साहसी खेलका रूपमा चिनिने बन्जी गर्न जाने योजना गरिरहको छु विज्ञान विषयमा स्नातकोत्तर गरिरहनुभएको अदिती कोजुले भन्नुभयो । नयाँ वर्ष नयाँ चिज गर्नुपर्छ यो वर्ष बन्जी जम्प गर्ने सोचाइमा छु ।

नयाँ वर्ष सुरु
नयाँ वर्ष (वि.सं.) कसरी सुरु भयो भन्ने धेरै कथनहरू रहेका छन् । नेपालको सरकारी कामकाजको संवत् विक्रम संवत्अनुसार वैशाख १ गतेलाई नयाँ वर्षका रूपमा मनाउने गरिँदै आएको छ । यस संवत्को प्रचलनका बारेमा विद्धान्हरूबीच मतभेद पाइने गरेको छ । केही विद्धान्को भनाइअनुसार यो संवत् भारतका एक प्रतापी राजा विक्रमादित्यले इश्वी संवत् सुरु हुनुभन्दा ५७ वर्षअघि स्थापना गरेको भनिन्छ । अर्को भनाइअनुसार अंशुवर्माको शासनकालमा विक्रमजित नामका एक राजाले नेपालको साँखुमा आई राज्य सञ्चालन गरेका र बज्रयोगिनीको उपासना गरी राज्यका जनतालाई अनिकालबाट जोगाएको कथन छ । त्यही बेलादेखि उनले विक्रमादित्य संवत् पनि चलाएको बताइन्छ ।

अर्को भनाइअनुसार इशापूर्व ५७ वर्ष अगाडि भारतमा कुनै पनि विक्रमादित्य नामको राजा नभएकाले विक्रम संवत् नेपालीको आफ्नै मौलिक संवत् भएको पुष्टि गर्दछ । कुनै भनाइअनुसार भने विक्रम सवत कुनै राजा वा व्यक्तिले चलाएको नभई सूर्यको नामबाटै चलेको हो भन्ने गरिन्छ ।

सबैका आ–आफ्नै नयाँ वर्ष
हिजोआज पश्चिमा संस्कृति र बढ्दो अन्तर्राष्ट्रियकरण प्रभावका कारण ग्रेगोरियन पात्रोअनुसारको पहिलो दिन जनवरी १ ले पनि समाजमा प्रभाव जमाइसकेको छ । जुन जिसस क्राइष्टको सम्झनामा चलाइएको यो संवत् भनेजस्तै हाल संसारका अधिकांश देशमा प्रचलित छ । यीबाहेक पनि नेपालमा अरू केही प्रचलित संवत्हरू छन् । यले दोङ नेपालमा प्रचलित संवत्हरूमध्येको सबैभन्दा पुरानो संवत् हो ।

यो विशेष गरी किराती जातिहरूलगायत हायु, थामी, सुरेल आदिमा प्रचलनमा छ । यस्तै बुद्धसँग जोडिएर आउने अर्को संवत् हो बुद्ध संवत् । कपिलवस्तुका राजा शुद्धोधनका छोरा सिद्धार्थलाई बुद्धत्व प्राप्त भएपछिको समयलाई लिएर हरेक वैशाख पूर्णिमालाई मानिन्छ । त्यसैगरी अंशुवर्मा महासामन्त भएपछि राजा शिवदेवको पालामा चलाइएको संवत् अंशुवर्मा संवत् हो । यस्तै मैथलीमा मिथिला संवत्, तामाङ, शेर्पा, गुरुङ जातिले ल्होछारमार्फत आफ्नो पात्रो परिवर्तन गर्ने गर्दछन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?