logo
२०८१ बैशाख ७ शुक्रवार



२० जिल्लामा पाँच सय बढी सक्रिय संक्रमित : कुन जिल्लामा कति ?

स्वास्थ्य |


२० जिल्लामा पाँच सय बढी सक्रिय संक्रमित : कुन जिल्लामा कति ?


काठमाडौं ,माघ १५ गते। पछिल्लो २४ घण्टामा नेपालमा तीन हजार ३१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। १० हजार १०१ जनाको पीसीआर परीक्षण गर्दा उक्त संख्यामा संक्रमण देखिएको हो। यस्तै चार हजार ४१६ जनामा एन्टिजेन परीक्षण गरिएकोमा एक हजार ५८६ जनामा संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घण्टामा काठमाडौँ जिल्लामा सर्वाधिक १ हजार ४०४ जना सङ्क्रमित थपिएका छन्। त्यस्तै, ललितपुरमा ३०५ तथा भक्तपुरमा १११ जना सङ्क्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्क अनुसार हाल काठमाडौँमा सर्वाधिक ३७ हजार ३४ जना सक्रिय सङ्क्रमित रहेका छन्। त्यस्तै, ललितपुरमा १० हजार १२५ तथा भक्तपुरमा ५ हजार ६०५ जना सक्रिय सङ्क्रमित रहेका छन्।

२० जिल्लामा पाँच सयभन्दा बढी कोरोनाका सक्रिय संक्रमित रहेका छन्। मन्त्रालयका अनुसार प्रदेश १ का मोरङ, सुनसरी र झापा, मधेस प्रदेशका धनुषा, सप्तरी र सिरहा, बागमती प्रदेशका काठमाडौं, भक्तपुर, ललितपुर, गण्डकी प्रदेशका कास्की, पूर्वी नवलपरासी र तनहुँ, लुम्बिनी प्रदेशका रुपन्देही, बाँके र दाङ तथा सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लामा पाँच सय बढी सक्रिय संक्रमित छन्।

यस्तै १६ जिल्लामा दुई सयभन्दा बढी कोरोनाका सक्रिय संक्रमित रहेका छन्। मधेस प्रदेशका बारा, पर्सा, महोत्तरी र सर्लाही, बागमती प्रदेशका धादिङ्, सिन्धुपाल्चोक र सिन्धुली गण्डकी प्रदेशका गोरखा, स्याङजा र बाग्लुङ्, लुम्बिनी प्रदेशका पाल्पा, गुल्मी, बर्दिया र नवलपरासी, कर्णाली प्रदेशको सुर्खेत तथा सुदूरपश्चिम प्रदेशको कञ्चनपुर जिल्लामा दुई सय बढी सक्रिय संक्रमित छन्।

योसँगै सक्रिय सङ्क्रमितको संख्या ८७ हजार ३२९ मा पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ६ जनाले ज्यान पनि गुमाएका छन्। नेपालमा हालसम्म कोभिड–१९ को सङ्क्रमणबाट ११ हजार ७०३ जनाले ज्यान गुमाइसकेका छन्।

हाल सङ्क्रमितमध्ये ८५ हजार ६३६ जना होम आइसोलेसनमा, १ हजार ६९३ जना संस्थागत आइसोलेसनमा, २८६ आईसीयूमा तथा ४७ जना भेन्टिलेटरमा रहेका छन्।

सङ्क्रमण दर घट्यो

पछिल्ला केही दिनयता नेपालमा कोरोना सङ्क्रमणदर घट्दै गएको छ। स्वास्थ्य मन्त्रालयले शनिबार सार्वजनिक गरेको विवरणअनुसार कूल परीक्षणको करिब ३४ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको छ।

यसअघि कूल परीक्षणको ५० प्रतिशत बढीमा सङ्क्रमण देखिएको थियो। मन्त्रालयका अनुसार शनिबार १४ हजार ५६२ नमूनाको परीक्षण गर्दा चार हजार ९०४ मा सङ्क्रमण पुष्टि भएको छ।

उक्त अवधिमा पाँच हजार ९२४ जना सङ्क्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ। २४ घण्टामा कोरोना सङ्क्रमणबाट छ जनाको ज्यान गएको छ।

नेपालमा अहिलेसम्म कोरोनाबाट ११ हजार ७०३ जनाको मृत्यु भएको छ। ५२ लाख नौ हजार ५९६ नमूना परीक्षण गर्दा नौ लाख ४७ हजार ३९२ जनामा सङ्क्रमण देखिएको छ।

पहिलो, दोस्रो र तेस्रो लहर गरेर अहिलेसम्म आठ लाख ४८ हजार ३६० जना सङ्क्रमणमुक्त भएका छन्।

यो पनि हेर्नुहोस्

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?