logo
२०७९ मंसिर ११ आईतवार



स्वास्थ्य सिपाहीले झेलेका कठिन दिन

स्वास्थ्य |
खुला |


स्वास्थ्य सिपाहीले झेलेका कठिन दिन


काठमाडौँ, फागुन १ गते । कोभिड–१९ को महामारीका कारण दुई वर्षदेखि चिकित्सक, नर्सलगायतका स्वास्थ्यकर्मीले समस्या झेल्नुपरेको छ । उनीहरूले पेसागत निष्ठा र मानवधर्मलाई इमानदारी तथा बहादुरीसाथ निर्वाह गरेका छन् ।
सङ्क्रमितसँग प्रत्यक्ष सम्पर्कमा रहेर काम गर्ने नर्स अग्रमोर्चाका स्वास्थ्य सिपाही हुन् । उनीहरू आफैँ सङ्क्रमित भएर, डेराबाट निकालिएर र २४ घण्टा पीपीई सेट नखोली उपचारमा खटिँदै आएका छन् । सुगम क्षेत्रका अस्पतालमात्र नभई, दूरदराजका स्वास्थ्य केन्द्रमा पनि उनीहरूको भूमिका सराहनीय छ । पानी पिउँदा पिसाब लाग्ने र पीपीई खोल्नुपर्ने डरले नर्सहरू कार्यसमयमा पानीसमेत नपिई बिरामीको उपचार गर्नुपरेको छ ।

शव बोक्नुपथ्र्याे
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लाका नर्सिङ अधिकृत तथा कोभिड वार्ड प्रमुख सिर्जना महत कोरोनाको पहिलो लहरबाटै कोभिड सङ्क्रमितको उपचारमा खटिनुभयो । सुरुमा कर्णालीमा पीपीई पुगेकै थिएन । आफूलाई सरिहाल्यो भने के गर्ने होला भन्ने चिन्ता र पीपीई नहुँदाको समस्या बेग्लै थियो । अस्पतालले बनाएको प्लास्टिकको पीपीई लगाएर सङ्क्रमितको उपचारमा खटिँदा उहाँलाई कोरोनाको सबै लक्षण देखियो । उहाँले डर र जनशक्ति पनि एकदमै कम भएकाले परीक्षण गराउनुभएन । गर्न चाहेको भए पनि पीसीआरको सुविधा जुम्लामा उपलब्ध थिएन । उहाँले साहससाथ बिरामीको खानादेखि सबै बन्दोबस्त गरिरहनुभयो ।

कोरोनाको दोस्रो लहरमा अक्सिजन लगाउनुपर्ने बिरामीमात्र अस्पतालमा थिए । “आईसीयू र भेन्टिलेटर सबै भरिभराउ थियो । ड्युटी गर्दा घर फर्किन पाइँदैनथ्यो । पानी, खाजा, खाना खान पाइन्थेन । बिरामीलाई औषधि दिने, खाना खुवाउने सबै व्यवस्थापन गर्दा निकै कठिन हुन्थ्यो,” उहाँले स्मरण गर्नुभयो, “पहिलो र दोस्रो लहरमा धेरै दुःख पाइयो । दोस्रो लहरमा मृत्यु भइसकेको सङ्क्रमितलाई प्लास्टिकले बेरेर नेपाली सेनाको गाडीसम्म हाल्ने काम आफैँले गर्नुपथ्र्यो ।” पहिलो र दोस्रो लहरभन्दा तेस्रो लहरमा धेरै सजिलो भएको उहाँको अनुभव छ ।

कारुणिक पुकाराबाट भावुक
त्रिशूली अस्पतालको आईसीयू इन्चार्ज विनिता श्रेष्ठको अनुभव पनि खासै मीठा छैनन् । हालसम्म त्रिशूली अस्पतालमा ६० जनाभन्दा बढी कोरोना सङ्क्रमितको मृत्यु भइसकेको छ । उहाँले कारुणिक अनुभव सुनाउँदै भन्नुभयो, “आईसीयूमा भएका सङ्क्रमितले मलाई बचाइदिनूस् न सिस्टर भन्थे । बचाइदिनूस् भन्ने तीन जनाको मृत्यु हुँदा धेरै दुःख लाग्यो । बाँच्ने चाहना हुँदाहुँदै उनीहरूको मृत्यु भयो ।”

सङ्क्रमित निको भएर घर पठाउन पाउँदा उहाँलाई सबैभन्दा खुसीको क्षण हुन्थ्यो । उहाँले दोस्रो लहरमा धेरै गाह्रो भएको भन्दै नियमित बिरामी हेर्नुपर्ने, जनशक्ति व्यवस्थापन, शøया व्यवस्था, सङ्क्रमितको उपचार व्यवस्था एकदमै जटिल भएको उल्लेख गर्नुभयो । आफू तनावमा हुँदा पनि सबै बिरामीलाई उत्प्रेरणा दिनुपर्ने भएकाले रात–दिन भन्न पाइने अवस्था थिएन भन्दै आईसीयू इन्जार्च श्रेष्ठले आफू अग्रसर नहुन्जेल अन्य स्वास्थ्यकर्मी अगाडि नबढ्ने गरेको सुनाउनुभयो ।

तनावमय अवस्था

हुम्ला अस्पतालमा कार्यरत सरिता बोहोराले बितेको दुई वर्ष कोभिड–१९ र त्यसपछिका लहरले निकै तनावमय रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “हुम्लामा पनि अस्पतालका स्वास्थ्यकर्मीदेखि सरकारी कर्मचारी तथा गाउँका धेरैजना सङ्क्रमित हुन पुगे । आफू तनावमा भए पनि सबै बिरामीलाई प्रेरित गर्नुपर्ने अवस्था थियो । रात–दिन भन्न पाइने अवस्था थिएन ।” उहाँले सङ्क्रमितको उपचारमा चिकित्सकभन्दा नर्सिङ कर्मचारी बिरामीसँग २४ घण्टा बस्नुपर्ने अवस्था रहेको बताउँदै आफैँ सङ्क्रमित भएर पनि बिरामीको उपचार गर्नुपरेको अनुभव सुनाउनुभयो ।

कठिन दिन
कोसी अस्पताल विराटनगरकी नर्सिङ अधिकृत जोगमाया लिम्बूले कोभिडका समयमा काम गर्नु एकदमै चुनौतीपूर्ण रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “पीपीई लगाएपछि लामो समयसम्म भोक, तिर्खा, दिसा, पिसाब भन्न पाइँदैनथ्यो । लामो समयसम्म पीपीई लगाएर बसिरहनुपर्दा सास फेर्न गाह्रो हुन्थ्यो । तीनवटा मास्क लगाउनुपथ्र्याे । फेससिल्डमा बाफले गर्दा केही नदेखिने हुन्थ्यो ।”

“कोभिड वार्डमा छिर्नुअघि पिसाब आउँछ भन्ने डरले पानी नै पिउँदैनथ्यौँ । भित्र गएपछि त्यहाँको तापक्रम र कामको चापले गर्दा तिर्खा बढी लाग्थ्यो । जब बिरामीलाई पानी खुवाउँथेँ, आफू पनि खान पाए हुन्थ्योजस्तो लाग्थ्यो तर पनि बिरामीको पीडा देखेर काम गर्ने जोश आउँथ्यो,” उहाँले भन्नुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?