logo
२०८१ बैशाख ८ शनिवार



अधिकांश बाल क्यान्सर वंशाणुगत

स्वास्थ्य |
खुला |


अधिकांश बाल क्यान्सर वंशाणुगत


काठमाडौँ, फागुन ४ गते । कलङ्की बस्ने जितेन्द्र शर्मा (नाम परिवर्तन) २०७३ सालमा चार वर्षका थिए । उनलाई २०७३ साल मङ्सिर २१ गते रक्त क्यान्सर भएको पुष्टि भयो । उनका बाबु हेमन्तले २०७३ साल मङ्सिरदेखि साढे तीन वर्ष कहालीलाग्दो अवस्थामा बिताउनुभयो ।

उहाँलाई महिनौँसम्म अस्पतालमा बसेको याद अझै ताजै छ । मेरो छोरो चार वर्षको थियो, हेमन्तले भन्नुभयो, “धेरै गाह्रो भएपछि अस्पताल लगियो, अस्पतालमा सबै परीक्षण गरिसकेपछि उहाँलाई रक्त क्यान्सर पुष्टि भयो । ” चार वर्षको उमेरमा छोरालाई क्यान्सर पुष्टि भएपछि आफूलाई धेरै पीडा भएको हेमन्तको भनाइ छ ।

म आफैँ पनि स्वास्थ्य क्षेत्रको व्यक्ति हुँ, हेमन्तले भन्नुभयो, “तर पनि आफ्नै घरमा कहालीलाग्दो र महँगो रोग भित्रिएपछि त्यसको सामना गर्न धेरै गाह्रो प-यो । ” क्यान्सर लागेको सुरुको अवस्थामा तीन महिनासम्म अस्पतालमै बास बसेको अनुभव सुनाउँदै हेमन्तले भन्नुभयो, “म काठमाडौँमा बस्ने हुनाले कम खर्च लाग्यो, तर दुर्गम जिल्लाबाट काठमाडाँै उपचारका लागि आउने अभिभावकको १५ लाखसम्म खर्च हुन्छ ।

” छोराको उपचार ३८ महिनामा पूरा हुने भनिए पनि ४२ महिना लागेको उहाँको भनाइ छ । क्यान्सरको उपचारपछि अहिले जितेन्द्र तन्दुरुस्त भई कक्षा ४ मा अध्ययनरत छन् । जितेन्द्र मात्र होइन कान्ति अस्पतालको मात्र कुरा गर्ने हो भने उक्त अस्पतालमा वार्षिक दुई सय क्यान्सर रोगका बालबालिका आउने गरेका छन् । तीमध्ये रक्त क्यान्सर, मिर्गौलाको क्यान्सर, आँखाको क्यान्सर लागेका बालबालिका धेरै आउने गरेका छन् ।

कान्ति अस्पतालका बाल क्यान्सर रोग विशेषज्ञ डा. विष्णुरथ गिरीले कान्ति अस्पतालमा आउनेमध्ये तीन हप्तादेखि १४ वर्षसम्मका बालबालिका क्यान्सर लागेर आउने गरेको बताउनुभयो । डा. गिरीका अनुसार वार्षिक नेपालमा एक हजार पाँच सय बालबालिकालाई क्यान्सर रोग लाग्ने भए पनि पाँच सय जना मात्र उपचारको पहुँचमा आउने गरेको जानकारी दिनुभयो ।

कान्ति अस्पतालका कार्यकारी निर्देशक डा. अजित रायमाझीका अनुसार पछिल्लो समय बालबालिकामा क्यान्सर रोग बढ्दै गएको छ । कान्ति अस्पतालको तथ्याङ्कअनुसार सन् २०१६ मा ४६ जना क्यान्सर रोग लागेर बालबालिका आएका थिए । डा. रायमाझीका अनुसार उक्त सङ्ख्या बढेर गत वर्ष १८७ पुगेको थियो भने यो वर्ष दुई सय पुगेको छ ।

उहाँले भर्ना नगरी दिनभरि औषधि गरेर फर्कने बिरामीका लागि पनि आठ श-या छुट्याएको बताउनुभयो । हरेक वर्ष ३५ जनाभन्दा बढीको सङ्ख्यामा क्यान्सर लागेका बालबालिका बढी रहेका छन् । वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. विष्णुदत्त पौडेलले नेपालमा २५ हजार वार्षिक नयाँ क्यान्सर रोगी थपिने गरेकोमा तीमध्ये एक हजार पाँच सय बालबालिका भएको बताउनुभयो ।

भक्तपुर क्यान्सर अस्पतालका कार्यकारी निर्देशकसमेत रहनुभएका डा. पौडेलले भक्तपुर अस्पतालमा गत वर्ष मात्र एकदेखि चार वर्षसम्मका ४३, पाँच वर्षदेखि १४ वर्षसम्मका १६३ र १५ देखि १९ वर्षसम्म २१४ जनाको उपचार भएको जानकारी गराउनुभयो । उहाँले सरकारले बालबालिकालाई पाठेघरमा हुने क्यान्सरविरुद्ध खोप लगाउनुपर्ने बताउनुभयो । क्यान्सरविरुद्ध खोप लगाउन सके बालिकाको पाठेघरमा हुने क्यान्सरलाई रोक्न सकिने बताउनुभयो ।

यस्तै, तिलगङ्गा आँखा अस्पतालका आँखा रोग विशेषज्ञ डा. पूर्णिमा राजकर्णिकारले तिलगङ्गामा वार्षिक ५० जना बालबालिकालाई रेटिनोब्लास्टो क्यान्सर पत्ता लाग्ने गरेको बताउनुभयो । उहाँले रेटिनोब्लास्टो क्यान्सर १५ हजार बालबालिकामध्ये एक जनामा देखिने बताउनुभयो । यसैबीच मङ्गलबार नेपालसहित विश्वभरि अन्तर्राष्ट्रिय बाल क्यान्सरविरुद्धको दिवस मनाइयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?