logo
२०८१ बैशाख १४ शुक्रवार



प्रजनन अधिकारमा छैन महिलाको पहुँच

स्वास्थ्य |
खुला |


प्रजनन अधिकारमा छैन महिलाको पहुँच


सरोज ढुङ्गेल

काठमाडौँ, फागुन १५ गते । रामेछाप जिल्लाको लिखु तामाकोसी गाउँपालिका–१ की सीता पण्डित (नाम परिवर्तन)का चार सन्तान छन् । ३२ वर्षीया सीताको गाउँमै १६ वर्षमा विवाह भएको थियो । दुई सन्तान भएपछि सबैले स्थायी बन्ध्याकरण गर्न सुझाएका थिए । गरौँला भन्दाभन्दै उहाँको तेस्रो सन्तान छोरी जन्मिइन् ।

सीताले श्रीमान्लाई नै स्थायी बन्ध्याकरण गर्न कर नगरेको पनि होइन तर पतिले नमानेपछि पुनः गर्भ बस्यो र अर्को बच्चा जन्मियो । यस्तैमा सीताको खुट्टा भाँच्चियो । त्यसपछि उहाँ उपचारका लागि काठमाडौँ आउनुप¥यो । उपचार गर्न महिनौँ लाग्ने भएपछि सीतासहित परिवार नै काठमाडौँ बस्नुपर्ने बाध्यता भयो । काठमाडौँ आइसकेपछि पनि उहाँको फेरि गर्भ बस्यो । अब पनि बच्चा जन्माउँदा पाँचवटा हुन्थ्यो । काठमाडौँको महँगीले गर्दा श्रीमान्को सहमतिमै उहाँले गर्भपतन गराउनुभयो । गाउँमै भएको भए गर्भपतन गराउँदिनथेँ । सीताका श्रीमान्ले भन्नुभयो, “काठमाडौँमा धेरै सन्तान पाल्न कठिन हुने रहेछ ।’’
पाँचौँ गर्भ पतन गरेपछि सीताले आफ्नो शरीरले धान्न मुस्किल भएको भनी श्रीमान्लाई स्थायी बन्ध्याकरण गर्न भन्नुभयो । तर, श्रीमान्ले बन्ध्याकरण गराउनुको सट्टा सीतालाई नै बन्ध्याकरण गर्न दबाब दिनुभयो । अहिले सीताले स्थायी बन्ध्याकरण गरिसक्नुभएको छ । श्रीमान्ले गाह्रो काम गर्दा सकिँदैन भनेर बन्ध्याकरण नगर्नुभएको हो ।
यस्तै, भक्तपुरको मध्यपुर थिमी नगरपालिका–४ हर्षचोककी प्रेममाया रेग्मी (नाम परिवर्तन)को पहिलो सन्तान छोरी छिन् । उहाँका श्रीमान् नेपाल प्रहरीमा हुनुहुन्छ । छोरी भएपछि तत्काल सन्तान नजन्माउने सोचमा रहेका यी दम्पतीमा कसले अस्थायी बन्धाकरण गर्ने भन्ने छलफल भयो । पहिले श्रीमान्ले अस्थायी बन्ध्याकरण गराउने सल्लाह भएको थियो । उहाँलाई साथीभाइले स्थायी वा अस्थायी बन्ध्याकरणतिर लागिस् भने यौन सम्पर्क गर्न सक्दैनस् भनेर सुनाइदिएछन् । त्यसपछि श्रीमतीलाई अस्थायी बन्ध्याकरण गर्न दबाब दिएर प्रेममायाले अस्थायी बन्ध्याकरण गर्नुभएको छ । अस्थायी बन्ध्याकरण गरेपछि उहाँ असामान्य रूपमा मोटाउन थाल्नुभएको छ ।
नेपाली समाजमा प्रजनन अधिकारमा महिलाको पहुँच अझै छैन । उनीहरूले आफ्नो शरीरको अधिकार श्रीमान्ले भनेअनुसार गर्नुपर्छ भन्ने यी दुई उदाहरणमात्र हुन् । परिवारनियोजन तथा प्रजनन अधिकारका लागि महिलाले अहिले पनि पिल्सिएर बस्नुपरेको छ । अर्कोतिर परिवारनियोजन तथा प्रजनन स्वास्थ्यबारे ज्ञान नै नभएर र ग्रामीण क्षेत्रका महिला भगवान् भरोसा भन्दै धेरै सन्तान जन्माइरहेका हुन्छन् । स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. विभूति शाहीले बन्ध्याकरण गरेकै आधारमा कुनै पनि काम गर्न नसक्ने भन्ने तर्क सही नभएको बताउनुभयो । उहाँले अझै पनि धेरै मानिसलाई बन्ध्याकरण गरेपछि काम गर्न नसक्ने भ्रम रहेको बताउनुभयो । बन्ध्याकरण गर्दैमा नियमित काम गर्न सकिने उहाँको धारणा छ ।

 

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?