logo
२०८१ मंसिर ६ बिहीवार



जुलियन असान्जको सुनुवाई नोभेम्बरसम्म स्थगित

अन्तर्राष्ट्रिय |


जुलियन असान्जको सुनुवाई नोभेम्बरसम्म स्थगित


लन्डन,वैशाख १६ गते। विकिलिक्सका संस्थापक जुलियन असान्जलाई संयुक्तराज्य अमेरिका सुपुर्दगी गर्ने या नगर्ने भन्ने सुनुवाई आगामी नोभेम्बरसम्म स्थगित गरिएको छ । असान्जका वकीलहरुले कोरोनाभाइरस महामारीका बीच सुनुवाईको कार्य अघि बढाउनु “स्वास्थ्यका कारण खतरा” रहेको दाबी गरेका थिए ।
असान्जलाई स्वीडेन वा संयुक्तराज्य अमेरिकामा सुपुर्दगी गर्ने वा नगर्ने विषयमा आगामी मे १८ मा सुनुवाई आरम्भ गर्ने योजना थियो । स्वीडेनमा असान्जमाथि यौन दुव्र्यवहारको एउटा मुद्दा विचाराधीन छ भने संयुक्तराज्य अमेरिकाले असान्जमाथि जासुसीको आरोप लगाएको छ । अमेरिकामा असान्ज दोषी ठहरिए १७५ वर्षको जेलसजाय हुनेछ ।
सुनुवाईको मिति घोषणा गर्दै बेलायतका न्यायाधीश भानिसा बाराइजरले छिटोमा आगामी नोभेम्बर २ देखि मात्र असान्जमाथिको मुद्दाको सुनुवाई हुने बताउनुभएको छ । यो सुनुवाई करिब तीन साताको हुनेछ । असान्जलाई गत वर्ष अप्रिलमा लन्डनस्थित इक्वेडरको राजदूतावासबाट लन्डन प्रहरीले गिरफ्तार गरेको थियो । अमेरिकाले गिरफ्तार गर्ने र आफ्नो ज्यानको सुरक्षा नभएको भन्दै असान्जले उक्त दूतावासमा झण्डै ८ वर्षदेखि आश्रय लिनु भएको थियो ।
यद्यपी विकिलिक्सका संस्थापक असान्जले अमेरिका विरुद्ध जासुसीको आरोप खण्डन गर्दै आउनुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?